बन्दीपुरमा 'मिनी ग्रेटवाल'

रासस

दमाैली

चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा पदमार्ग पर्खाल निर्माण शुरु गरिएको छ। बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण गरेको हो।

विश्वमाझ प्रख्यात बन्दीपुरमा धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर पदमार्ग पर्खाल निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ।

गत आवमा रु दश लाखको लागतमा तीन सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा रु ६० लाखको लागतमा एक हजार तीन सय मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ। करीब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करीब रु दुई करोड बजेट अनुमानित गरिएको अध्यक्ष थापाले बताउनुभयो। 

'गत वर्ष र चालु आर्थिक वर्षमा गरी एक हजार ६ सय मिटरको काम सम्पन्न हुन्छ, बाँकी अर्को वर्षमा गर्ने गरी बजेट विनियोजन गर्छौं,' थापाले भने। डाँडामा सवारीसाधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यता छ। जसकारण निर्माण लागत केही बढ्न सक्ने अनुमान गरिएको छ। 

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो। उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ। पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ। 'पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ,' थापाले भने।

बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन्। पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ। बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले सिसाको दृश्यावलोकन स्तम्भ निर्माणको तयारी पनि थालेको छ। 

बन्दीपुरको विकासका लागि गुरुयोजना बनाएर नै अगाडि बढेको अध्यक्ष थापाले बताउनुभयो। गाउँपालिकाले बन्दीपुरको बीसवर्षे गुरुयोजना तयार गरिसकेको छ। काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रका रुपमा विकास गर्ने गाउँपालिकाको सोच छ। बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, सम्वर्द्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने थापाले जानकारी दिए।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ। कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ। 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाइ बन्ने गरेको छ। 
 

प्रकाशित मिति: : 2020-01-28 03:29:36

प्रतिकृया दिनुहोस्