मनाङेको झापड खाने मिलनलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

बैंकिङ कसुरमा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ।

आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

खातामा पैसा नदिएको चेक दिएको भन्दै मिलनविरुद्ध किटानी जाहेरी परेपछि  गुरुङ शुक्रबार पक्राउ परेका थिए। मुख्यमन्त्री कपमा खेलाडीका लागि आवास तथा मैदान व्यवस्थापन नगरेको भन्दै सांसद राजीव गुरुङ भनिने दीपक मनाङेले मंगलबार मिलनलाई झापड प्रहार गरेका थिए।

मनाङेविरुद्ध जाहेरी दिएपछि मिलनविरुद्ध पनि बैंकिङ कसुर गरेको भन्दै जाहेरी परेको थियो।

मिलनले बुधबार राजीवविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसको भोलिपल्ट बिहीबार मनाङे पक्राउ परेपछि मिलनका विरुद्ध पनि जाहेरी परेको थियो। मिलन शुक्रबार पक्राउ परेका हुन्।

हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिएका थिए। आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मीलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए। साफ यु-१८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो।

मिलनले २ लाख रुपैयाँको चेक दिए पनि अहिलेसम्म नसाटिएको आचार्यले जाहेरीमा उल्लेख गरेका छन्। बक्यौता रकम मागेपछि केही दिनअघि मिलनले पोखरा क्रियटिभ हाउसका सञ्चालकमाथि पनि हातपात गरेका थिए।


 

प्रकाशित मिति: : 2020-01-27 07:03:00

प्रतिकृया दिनुहोस्