खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहका अनुसार काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गरेका थिए।
पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन्। त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगयाका २ का तेन्जिङ बहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
'माघ ९ गते विहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनेका रहेछन्।' महाशाखाका एसपी मुकेशकुमार सिंहले भने '५० लाख रुपैयाँ मागेको रहेछन् र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर लुटेका रहेछन्।'
लुटपाटपछि प्रहरीले घर्तीमगरसँगै उनको समूहमा रहेका अन्यको खोजी सुरु गरेको थियो। उनीहरुको साथबाट डकैती गरेको रकम मध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको १ थान मोटरसाइकल, घटनामा संलग्न भएको ३ थान मोटरसाइकलm विभिन्न कम्पनीका मोबाइल र एक थान सुनको औठी बरामद गरिएको एसपी सिंहले बताए।
५० लाख रुपैयाँमध्ये बेदबहादुर भन्ने भीमबहादुरले ७ लाख, सञ्जित वाइवाले ५ लाख, कुमार बुढाथोकीले ४ लाख ५० हजार, दावा छिरिङले ५ लाख, नकुर तामाङले ५ लाख रुपैयाँ लिएका प्रहरीले जनाएको छ।
उनका अनुसार उनीहरुले अन्य रकम भने बाँडेर लिएको र मोटरसाइकल, सुनका गहना, मोवाइल लगायतका सामान किन्ने र घरायसी काममा खर्च गरेको देखिएको छ।
यसरी पाएको रकमबाट सञ्जितले २ लाख ११ हजार रुपैयाँ बैंकमा जम्मा गरेको, ७७ हजार रुपैयाँमा सुनको औंठी, १९ हजारमा मोवाइल किनेको र घर बनाएको ऋण तिर्न १ लाख रुपैयाँ दिदीलाई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यस्तै बेदबहादुरले ३ लाख ३० हजारमा मोटरसाइकल किनेको, दावा छिरिङले १ लाख ५० हजार रुपैयाँ ऋण तिरेको, कुमार बुढाथोकीले ४ लाख ५० हजारमध्ये ७५ हजार रुपैयाँ घरभाडा तिरेको र १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको बताएको प्रहरीले बताएको छ। नकुर तामाङले ३० हजार फाइनान्सको किस्ता तिरेको र बाँकी मासेको प्रहरीले बताएको छ।
प्रहरीले सञ्जितको साथबाट २३ हजार ५ सय, तेन्जिङबाट ५ लाख ८० हजार, भीमबहादुरबाट ३ लाख ५ हजार, नकुरबाट ४ लाख ३१ हजार, कुमारबहादुरबाट २ लाख ५ हजार र दावा छिरिङको साथबाट ३ लाख ३१ हजार रुपैयाँ बरामद गरेको छ। त्यस्तै डाँका गरेको पैसाले किनेको मोटरसाइकल, डाँका गर्न प्रयोग भएको ३ थान मोटरसाइकल, औंठी र मोवाइल बरामद गरेको छ।
उनीहरुले काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुनर र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाट र डकैती गर्ने गरेको प्रहरीको भनाइ छ।