काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्।
शनिबार पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
दुर्घटनामा टाउको र कम्मरका गम्भीर चोट लागी घाइते मोटरसाइकलमा सवार रामेछापको सालु देउराली गाउँपालिका–२ का २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।