‘राजा (उतिबेला ठूलो पदका राणाहरूलाई राजा भनिन्थ्यो) को मुख हेरेको दिन राम्रो हुन्छ भन्थे । राजाहरू घोडामा हिँड्थे । उनीहरू आएको थाहा पाएपछि मानिसहरू रक्सी पार्दापार्दै, पानी भर्दाभर्दै, पसलको काम छाडेर पनि बाहिर निस्कन्थे र निहुरेर दुई हात जोडेर ‘महाराज’ भनी ढोग गर्थे।’
काठमाडौं असनका ८८ वर्षीय रामभक्त श्रेष्ठले पुराना दिन सम्झिए । अचेल उनी इन्द्रचोकस्थित आकाश भैरव भजन खलःमा उभिइरहेका भेटिन्छन् । जहाँ उनका कान्छा छोरा मिठ्ठी श्रेष्ठको कपडा पसल पसल छ, जसको छेवैमा छ उनको घर । उनी सानो छँदा यहाँ फाट्टफुट्ट मात्र घरहरु थिए, साँझ भएपछि क्षेत्रपाटीको खुला ठाउँसम्म जान पनि उनी डराउँथे।