कञ्चनपुरमा विश्वविद्यालयको ताला खुल्यो

बिएल संवाददाता

भीमदत्तनगर
सांकेतिक तस्बिर

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ।

गत चैत्रको अन्तिम साता नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको तत्कालीन उपकुलपति प्रा।भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई पदमुक्त गरेपछि तालावन्दी गरेको थियो।

नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्दका अनुसार एउटै विश्वविद्यालयमा दुई/दुई वटा उपकुपति र रजिष्ट्रार हुने अवस्था आएपछि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरिएको हो।

'विश्वविद्यालयको स्वायत्तता र प्रचलित ऐन नियमको अवमूल्यन गर्ने काम भएकाले हाम्रो असहमती हो' उनले भने। नेविसङ्घले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवादको समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको र सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएको जानकारी गराएपछि तालावन्दी खुलाएको बताइएको छ।

उक्त विज्ञप्तिमा भनिएको छ, 'कार्यदलको कार्यमा सहजीकरण गर्नका लागि तालावन्दी खोल्ने निर्णय लिएका हौँ।' नेविसङ्घले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिएको छ। 

 

प्रकाशित मिति: : 2020-01-26 01:44:07

प्रतिकृया दिनुहोस्