रारा : सके धेरैपटक, नसके पनि एकपटक 

मुगु डायरी -३

जुम्ला बजारबाट सोझै रारा पुग्ने गाडी छुट्दैनन्। सिंजा गोठी जिउला पुगेर मुगुका लागि गाडीको जोहो गर्नुपर्ने हुन्छ। तर, त्यहाँ तुरून्तै जाने गाडी पाउँन लगभग असम्भव नै हुन्छ। त्यसैले सिंजा गोठी जिउलामै बास बस्नुपर्ने हुन्छ। 

जब हामी त्यहाँ पुग्यौ र मुगु जाने गाडीको खोजतलास गर्‍यौ। त्यहाँको बस समितिका अनुसार भोलिपल्ट दिउँसो एक दुई बजेभन्दा अगाडि गाडी नजाने देखियो। यही कारण हामी पनि सिंजा गोठी जिउलामै बास बस्नु बाध्यतामा पर्‍यौ।

यो बाध्यताले हामीमा एक किसिमको तनाब भैरहेको थियो। हामी खास कुनै योजना नभएजस्ता थियौं।

हुन त नेपालको पश्चिमी भूभागमा आफ्नै योजना अनुसार  गाडीको यात्रा गर्न पाउनु गिनिज बुकमा नाम लेखाउनु सरह नै हुन्छ। हवाइयात्रा सेड्युलको त भर गर्न नसकिने ठाउँमा गाडीको सेड्युल खोज्नु पनि कसरी? 

यत्ति एउटा कारण केलाए मात्र पनि कर्णालीप्रति राज्यको नजर कस्तो छ भनेर बुझ्न पर्याप्त हुन्छ। नेपालको केन्द्रीय शासनसत्ता कर्णालीको लागि साँच्चिकै पट्यारलाग्दो छ। 

यति हुँदा पनि कर्णालीबासी सहेर बसेका छन्। लाग्छ, कर्णालीबासी संसारकै सहनशील मान्छे हुन्। जतिबेला सिंजा साम्राज्य विकासको चरम अवस्थामा थियो त्यतिबेला काठमाडाैंलाई समेत कर तिर्न आच्छु आच्छु पार्थ्याे। तर, पछि कर्णाली गोर्खालीको अधिया खानुपर्ने अवस्थासम्म पुग्यो। गोर्खाली सत्ता ढलेको दशक बढी भैसक्दा पनि उही नियति भोग्दा समेत उनीहरू चुप लागेर बसेका छन्। तर, सधैंभरि यस्तै होला भन्न सकिन्न; कुनै दिन यसको हिसाब किताव पनि हुन सक्छ।

भनाइ नै छ, जोसँग हारेको हुन्छ उसले दबाउनु अन्यथा हुँदैन। यो त एक किसिमको युद्धको नियम जस्तै हो। तर, जोसँग हातेमालो गरेको हो उसैले दबाउँदा त्यहाँ बेमेल र विस्फोटको खतरा सदैव रहिरहन्छ।  

कात्तिक ३ गते बिहान कवि हेमन्त विवसको आवाज आयो, ‘महेश भाइ, उठ जीप पाइएको छ, हामीलाई  नि लगिदिन्छु भनेको छ, त्यसैमा जाऔं।’ हामी हतार हतार तयार भयौं। मुगु टोप्लासम्म जाने जीपले गोठी जिउलासम्मका केही यात्रु ल्याएको रहेछ। उनीहरु त्यहाँ झर्दा हामीले स्थान पायौं। गाडीको सिटमा ठाउँ नपुग्ने भएपनि एड्जष्ट भएका थियौं। यसैपनि हामीलाई एड्जष्ट हुन बानी परिसकेको छ। हरेक यात्रा लगभग उस्तै हुन्छन् हाम्रा लागि।

सिंजा कनकासुन्दरी छोड्दै हामी मालिकावोता पुग्यौं । जसले त्यहाँ पुग्ने सबैलाई अष्ट्रेलियाको सम्झना गराउँछ। अष्ट्रेलिया, ‘एउटै देश, एउटै महादेश’ अनि मालिकावोता पनि ‘एउटा गाउँ, एउटै गाविस’। कुरो उस्तै लाग्ने। तर, स्थानीय तहको संरचनाले त्यो परिचय समाप्त पारिदियो। एकजना त्यहीँ ओर्लिए। त्यसपछि अलि सजिलो भयो। त्यहाँदेखिको बाटो मजबुत देखिन्छ जसका मुनि पिपलका बोट छन् हेर्दा ती उत्तर बाल्यावस्थाका जस्ता देखिन्छन्।

हामी चढेको जीप जसै जसै अगाडि बढ्दै जान्छ, बाटाको दायाँबायाँका जङ्गलमा ओखरका बोट देखिन्छन्। हरेक वर्षको भदौमा स्थानीय बासिन्दा आफूले सक्नेजति ओखर टिपेर ल्याउँछन्। ओखर खानलाई त भइ हाल्याे। यसको उपयोग जिविकोपार्जनका लागि आवश्यक तेलहन उत्पादन गर्नका लागि पनि गरिन्छ। जसरी ढँटेलाे, तिलखुडाे (सिलाम), ताेरी, गल्ले आरु जस्तै अाेखर पनि तेलहनकाे लागि महत्त्वपूर्ण छ। कुनै समय यही तेलहन कर्णालीकाे आत्मनिर्भर अर्थतन्त्रको सहायक थियाे।  

जब भुलभुले आउँछ त्यहाँ जो कोहीका आँखा आश्चर्यका भावमा टक्क अडिन्छन्। किनकि त्यो जुम्लाको उर्थु चौतारा हुँदै रारा जाने बाटो हो। यो बाटो  खुलेको पनि धेरै भैसक्यो। झण्डै चार घण्टामा रारा पुग्न सकिने हुनाले यो बाटो निकै सहज हाे। तर, हरेक वर्ष वर्षातमा पहिरो जान्छ। वर्षात् सकिएको छ महिना पुगिसक्दा पनि पहिरो पन्छिदैन। किनकि यसको जिम्मेवारी पाएकाहरु कुम्भकर्ण निन्द्रामा छन्। यसबाट छोटो बाटो भएर रारा जानेहरु निषेधमा परेका छन्। सवारी साधनको आगमनले पैदल हिड्नेको आँट सदाको लागि लुटिसकेको छ। अब यदि यो आँट कसैले गर्‍याे भने अहिलेका लागि ऊ अबको हरि रोकाया हो।

भुलभुले हुँदै डाबको चेकपोष्ट आइपुग्छ। त्यहाँ रारा राष्ट्रिय निकुञ्जको सेना बसेको छ। सेनाले गाडी चेक गरुन्जेल दक्षिणतिरकाे जंगलमा अवस्थित ऐतिहासिक महत्वका भाेजपत्रका रुखहरुले ध्यान खिच्छन्। भूगाेलविद् स्थिर जंगबहादुर सिंहका अनुसार १०५०० फीटको उचाईदेखि फाटफुट देखिने भएपनि भाेजपत्रकाे खास सुरुवात ११००० फिटदेखि हुन्छ। भोजपत्रका रुखबाट कागज जस्ता पत्र निस्कन्छन्। जुन रंग फिक्का खैरो र गाढा पहेंलो हुन्छ। 

रारामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहँदा यसको सुन्दरता कायम रहनेमा संशय पनि बढ्न थालेको छ। नेपालका अरु प्राकृतिकस्थलमा देखिएको समस्या राराका लागि चुनौति बनेर उभिएको छ।

यसकाे उपयोग घरको थाडा (छाना) को वरिपरि दांतीमनि भोजपत्र छाप्ने स्थानीय चलन चलेको देखिन्छ। यस्तो गर्दा वर्षाकालमा भोजपत्रद्वारा पानी सजिलैसंग तर्केर जान्छ र थाडा मुनिको काठ सड्न पाउँदैन। यसकाे काठबाट कृषिसम्बन्धी सामान जस्तै, जू, डाँडो (हलो सम्बन्धी) र गहुँ, जौ चुट्ने गिया आदि बनाइन्छ। अन्न राख्नको निमित्त जमीनमा भकारी जस्तै गोलाकार खाडल खनेर त्यसको वरिपरी भोजपत्र टासिन्छ। यसो गर्नाले खाडलभित्रको अन्नमा कीरा लाग्न पाउँदैन। त्यस्तै मार्सी धानकाे बीउ उमार्नलाई न्यानाे गराउने पनि भाेजपत्र नै हाे।

विवाह र व्रतवन्ध आदि चाडपर्वमा भोज खुवाउँदा पनि भोजपत्रलाई प्रयोगमा ल्याइएको पाइन्छ। ठुलठुला भोजपत्रहरुलाई जोडेर त्रिपाल अथवा पालको आकारमा बिछाउने र आँटी छाउने काममा यसकाे प्रयाेग हुन्छ। त्यस्तै स्याखु (स्थानीय वर्षादी) बनाउन पनि याे उपायाेगी हुन्छ। जुन वर्षादकाे समयमा खेतीपाती गर्नेलाई निकै सहज हुन्छ। घाउ, चोट-पटक आदि लागेमा भोजपत्रको बैण्डेज बान्ने चलन पनि घाउँघरमा कायमै छ। प्राचीन कालमा भोजपत्रमा लेखिन्थ्यो भन्ने बुढा पाकाहरु बताउँछन्। राजा महेन्द्र रारामा जाँदा त्यहाँका जनताले भोजपत्रमै अभिनन्दन-पत्र लेखी चढाएका थिए भन्ने कुराले यसकाे थप पुष्टि गर्छ। (हेर्नुस्, कर्णाली लाक संस्कृति, भाैगाेलिक दृष्टिकोण; स्थिर जंगबहादुर सिंह, पृष्ठ ६४)  

सेनाको इन्ट्रीपश्चात अगाडि जुम्ला र मुगुको सिमाना गुच्ची लेक आउँछ। लेकले हामीलाई अल्मल्याउँछ। लेकमा देखिएको प्रकृतिको सौन्दर्यले हामी मोहित हुन्छौं। उस्तै उचाइ र बनोटका एकैनासे, लहरै लाइनमा परेड खेल्न लागेका सेनाजस्ता देखिने रुखका दृश्यले हामीलाई ‘आउ न सँगै खेलौं’ भनिरहेको भान हुन्छ। तर, यथार्थमा त्यसो नभएर चिसो सिरेटो पठाएर हायलकायल पनि बनाइरहेको हुन्छ। भित्री मनमा डर हुँदाहुँदै पनि हामीले ड्राइभरलाई जिप रोकिदिन आग्रह गर्‍यौ । उनले नमानेपछि सिरेटोसँगको हाम्रो आपत त टर्‍यो तर त्यो मनमोहक दृश्यको धित पूरा नहुँदा मनभरी पछुतो भने रहिरह्यो। 

यो मेरा लागि चौथोपटकको रारा यात्रा थियो। पहिलोपटक १० कक्षामा पढ्दा २५ जना विद्यार्थी गएका थियौं। जुन भूगोल विषयको प्रयोगात्मक अध्ययन भ्रमण थियो। सँगै एकजना शिक्षक पनि गएका थिए, पूर्णप्रसाद धिताल। त्यो यात्राले मलाई राजनीतिप्रति रुचि राख्न र समसामयिक विषमा जानकारी राख्ने हुनलाई सहयोग गरेको थियो। त्याे भाेक जगाउने काम उनै शिक्षकले गरेका थिए। त्यसको एक दशकपछि दोस्रोपटक रारा पुगेको थिएँ। तर, पुगेको दुई वर्षपछि मात्रै राराको संस्मरण लेखेँ। जुन सेतोपाटीमा ‘भर्जिन रारा’ शीर्षकमा छापिएको थियो। तेस्रो र चौथोपटक चाँहि यही वर्ष मात्रै जाने अवसर मिल्यो। 

झण्डै चार घण्टाको यात्रापछि हामी मुगुको टोप्ला पुग्छौं। जहाँबाट बजार, ताल्चा विमानस्थाल र रारा जान सकिन्छ। हाम्रो गन्तब्य रारातिर भएकोले हामी उकालो लाग्छौं। जति चाँडो सल्लेरी पुग्न सक्यो उति चाँडो भोकलाई तह लगाउने ठाउँ आउने भएकाले हामी ढिलो नगरी हिड्छौैं।

रारा पूरै अवलोकन गर्न सबैभन्दा बढी प्रयाेग हुने मार्ग यही हो। सल्लेरीमा निकुन्जको आर्मी सुरक्षामा खटेको छ। त्यहाँबाट केही उकालो हिडेपछि तल्लो मिलिचौरसम्म गाडी र बाइक जान्छ। सल्लेरीबाट घोडामा पनि रारा तालको अवलोकन गर्ने व्यवस्था छ। मोटरबाट रारा जान त्यही बाटो प्रयोग भैरहेको छ। म भने दोस्रोपटक यो बाटो हिडिरहेको थिएँ। पहिला पैदल हिडेर गएकाले अरु बाटो प्रयोग गरेको थिएँ। 

सल्लेरीमा खाना खाएपछि हाम्रो उकालो यात्राले गति लिन्छ। शरीरलाई ठेल्दै उकालो चढ्दा हामीलाई सल्लाका रुखले गिज्याइरहेका थिए। उकाले चड्न धौ धौ  भए पनि रारा पुगेपछि सारा संसारलाई एकातिर राखेर आफू अलग्गै हो भन्ने लाग्ने थियो। त्यसैले सल्लेरीको उकालो तलको गीत जस्तै लाग्यो।

अतिकति उकालो,

पुगेपछि लाग्छ सुखालो।

हामीलाई सुखालो बनाउने र दुःख कष्ट भुल्ने रारा आउँदै थियो। बस अलिअलि भएपनि जिउ धकेलेर रारा पुर्‍याउनु नै थियो। सल्लेरीबाट लागेको उकालो सामान्य पार्न गीत सहायक बन्यो।

रारा जान खास्साको मौसम भएकाले बाटोमा उँधो-उभो गर्नेको कमी थिएन। हिड्न सक्नेहरु फूर्तिफार्तीका साथ उँधो-उभो गरिरहेका थिए। नसक्नेहरु घोडाको साहरामा थिए। पछिल्लो समय रारामा घोडा चढ्नेको संख्या बढिरहेको छ। थकाइले मात्र नभएर शोखका लागि भएपनि घोडा चढ्ने धेरै देखिन्छन्। अब त यस्तो हुँदैछ रारासँग सेल्फी हानेर मात्र पुग्दैन। त्यहाँ घोडा पनि हुनुपर्छ। अर्थात् घोडा अनिवार्य छ। रारातालको किनारमा घोडा चढेको फोटो फेसबुक वा ट्वीटरमा सजियो भने पो मज्जा आयो त। वाह ! क्या शोख! क्या आनन्द! यसले घोडा व्यवसायीलाई थोरै भए पनि राहत मिलेको छ।

अब त यस्तो लाग्छ, रारासँग सेल्फी हानेर मात्र पुग्दैन। सेल्फीमा घोडा पनि हुनुपर्छ। राराको किनारमा घोडा चढेको फोटो फेसबुक वा ट्वीटरमा सजियो भने मात्र रारा पुगेको दशीप्रमाण हुन्छ, त्यसको रमाइलो पनि अर्कै छ।

तल्लो मिलीचौर पार गरेर जंगलको बाटो हिड्दाहिड्दै सल्लाका रुख छिचोल्यो भने नीलो आकाशजस्तो राराको दर्शन हुन्छ। सुरुमा त पत्यारलाग्दैन। आकाश हो कि ताल? छुट्याउन कठिन बनिदिन्छ। अब अगाडि माथिल्लो मिलिचौर पुग्दा अर्को कन्फ्युजन सुरु हुन्छ। अरे! यो ताल हो कि समुद्र? ताल त तालै हो। तर यसले हिमाली समुद्रको बिम्ब बोकेको छ। त्यसैले अक्सर हामीले १३ वर्ष अघि रारामा गाएको गीत याद आइरहन्छ। लाग्छ रारा सम्झनु र यो गीत याद आउनु उस्तै। अनि रारा पुग्नुजस्तै हो।

जति हेर्‍याे हेरुँ लाग्ने, रारा ताल तालै हो।

न उकालो न ओरालो, हिड्नु छालछालै हो।।

रारा पुग्दा दम लागेको होस् वा सास फुल्लिएर लखतरानै परेको किन नहोस्; सारा दुःख एकैपटक बिर्सिइन्छ। मन हल्का हुन्छ, चङ्गाजस्तो। ताल अवलोकनमा कुनै अप्ठ्याराहरु छैनन्। त्यसैले न उकालो न ओरालो हुने, छालछालै(किनारै किनार) हिड्दा हुने। हामीलाई चार बजेसम्म राराले अल्मल्यायो। हामी ऊसँग रमायौं। फोटो त कत्ति हो कत्ति। सेल्फीका स्टाइल झन् कति फुर्न सकेका। हाम्रो मनमा त फोटो खिच्ने स्टाइल मात्र फुरेको हो। तर, राजा महेन्द्रको मनमा त कवितै फुरिदियो।, 

‘भनन यो के हो ? के आज- 

विश्वको चोखो प्राकृतिक सुन्दरता 

छैन कतै अन्य संसारमा ? 

बटुली सर्वस्व सुन्दरताको भण्डार सोहरेर 

के खन्यायो यसै रारामा ? घोलेर मिलाई-

पहिराई हिमगिरिका मुक्तहार गलामा 

हरिपो सुखमय प्राकृतिक मानव- जीवनमा 

नेपालीमा-

हाम्रै प्यारो नेपालको 

सूर्य- चन्द्राङ्कित ध्वजाको, 

प्रधानन्या छायाँमा 

हिमालमा 

नेपालमा 

राम्रो रारा-मा ?’ 

राजा महेन्द्रले रारा किनारमा बसेर सृजना गरेकाे यस कविताकाे माध्यमबाट राराको सुन्दर रुप र प्रकृतिको बीचको मात्र होइन, स्वतन्त्र नेपाली र नेपालको चोखो प्राकृतिक वातावरण बीच र सम्पूर्ण मानव-जीवन र प्रकृतिको बीच घनिष्ठ सम्बन्ध रहेको सन्देश प्रवाहित गरेका थिए।

अब रारा धेरैका लागि ‘सके धेरैपटक, नसके कम्तिमा एकपटक’को गन्तव्य हो। तर, रारा पुग्नेहरु अधिकांश खुशी भए पनि केही दु:खी हुनेहरू पनि भेटिए। हामीले पनि त्यस्ता केही यात्री भेट्यौं जो ‘मा कसम!!! कहल्यै आउँदिन’ भनिरहेका थिए। त्यसका केही कारण थिए। पहिलो रारासम्म सहज रुपमा पुग्ने मार्ग गतिलो छैन। हवाइ मार्ग भरपर्दो छैन भने सडक जोखिमपूर्ण छ। ज्यानको बाजी राखेर सबैले यात्रा गर्दैनन्। बाटोमा स्तरीय होटल छैनन्। रारामै भएका होटलमा पनि बाध्यताले बस्नुपर्ने खालका। हामीलाई बाटोमा भेटिएका धेरै यात्रीले सकेसम्म रारामै बास नबस्नु भनिरहेका थिए। रारा कर्णाली पर्यटन वर्षका असफलताको मुख्य कारण हुन, यी। फेरि यो विषयमा ध्यान दिन सकिएन भने ‘भिजिट नेपाल २०२०’ लाई पनि असफल बनाउने कारण पनि यिनै हुनेछन्। 

रारामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहँदा यसको सुन्दरता कायम रहनेमा संशय पनि बढ्न थालेको छ। नेपालका अरु प्राकृतिकस्थलमा देखिएको समस्या राराका लागि चुनौति बनेर उभिएको छ।

देखेको अनि भोगेको आधारमा हामीले गमगडी झर्ने योजना बनायौं। त्यसैले रारामा ढिलो गरेनौं। जंगलको बाटोमा अबेर ओरालो झर्नु गाह्रो हुन्थ्यो। रारामा हुन्जेल पो थकान नहुने हो। टासिँएर सँधैभरी सँगै बसौं जस्तो लाग्ने। तर, रारालाई छोड्दा भने मनमा उसका छालझैं उभार उठिरहेकै हुन्छ। यस्तो बेलामा नथाकेको जीउ पनि थाक्ने नै थियो भने हाम्रो जीउको के त कुरा भयो र? त्यसैले हामी लामाचौर भन्दा तल हिड्न सकेनौं। त्यसदिन लामाचौरको दिदीबहिनी होमस्टेमा न्यानो आथित्यता सहितको बास भयो। खाना त झनै मिठो थियो। अर्डर अनुसार लाेकल र देशी चामलकाे भात खान पाइने रहेछ। त्यो पनि हामीलाई रमाइलै लाग्यो।

रारा निहाल्नेले तिला र हिमा मिलेर बनेको कर्णाली नदीलाई पनि निहाल्न पाउँछ जो कर्णाली राजमार्गको छेउ भएर बगिरहेको छ। पचाल झरना, रारा ताल र सधै टल्किरहले कान्जिरोवा हिमाल, प्रकृतिले कर्णालीलाई प्रदान गरेका आभूषण हुन्। जसले कर्णालीलाई सुन्दर बनाएका छन्। 

कर्णालीको सुन्दरतामाथि सबैले नजर पुर्‍याउन खाँचो छ। त्यसमा पनि सम्बन्धित निकायमा बसेकाको असल नियत र सुन्दर मन छ कि छैन? त्यो भने हेर्न बाँकी नै छ। 

प्रकाशित मिति: : 2020-01-25 06:43:44

प्रतिकृया दिनुहोस्