देशमा यतिबेलासम्म एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोजी हुँदाहुँदै निजगढलाई विकल्प मानेर बन्नैपर्छ र नबनाएपनि हुन्छ भन्ने बहस चर्को छ।
भैरहवा र पोखराका निर्माणाधीन विमानस्थलका तुलनामा जग्गाका दृष्टिले निजगढ सबै प्रकारका जहाजलाई उडान-अवतरणमा पर्याप्त हुनेछ भन्नेमा दुविधा छैन।
तर ठूलो लागत आउने परियोजना निर्माण स्वदेशी लागतमा सम्भव छैन। त्यसमाथि उक्त क्षेत्रको रुख कटान हुने विषयमै चर्को मतमतान्तर छ। मुद्दा आइपुगेपछि सर्वोच्च अदालतले नै हाललाई कुनै काम अघि नबढाउन आदेश गरेको अवस्था छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भनिएको क्षेत्र अहिले कस्तो छ भन्ने पुगेरै हेरे वास्तविकताबारे बुझाइ अलि फराकिलो हुन्छ। उक्त ठाउँमा कुकाठको पातलो जंगल र बस्ती छन्। बस्तीमा बसोबास गर्दै आएकाहरू विमानस्थल बन्ने नै हो भने मुआब्जासहित बसोबासको सुरक्षित स्थानान्तरण आफूहरूको माग रहेको बताउँछन्।
प्रस्तावित विमानस्थल क्षेत्रभित्र दुईवटा बस्ती छन्- टाँगिया र काटगाउँ। काटगाउँ धेरै पुरानो बस्ती होइन। दुई दसक भयो यहाँ बसोबास बाक्लिन सुरू भएको। काटगाउँ नम्बरी जग्गा भएको बस्ती हो । टाँगिया ऐलानीमा बसोबास भइरहेको हो । वरपर आफ्ना खेतबारीमा बाषी पसेपछि सर्दै बसोबास गर्दै आएकाहरू यी बस्तीमा छन् ।
हटाउने नै भए दुवै बस्तीका बासिन्दालाई पुनर्वासका लागि एकै ठाउँ कतै राखिनुपर्ने स्थानीयको भनाइ छ। 'बन्छ बन्छ, बन्न हुँदैन, सकिँदैन, उपयुक्त छ/छैन भन्ने हामीले सुन्दै आएको धेरै भयो,' स्थानीय शान्तिमान कार्कीले भने, 'बन्ने नै हो भने टाँगिया र काटगाउँका बासिन्दालाई पुनर्वासमा एउटै थलो विकल्प दिइनुपर्छ।'