मनाङेले भने–‘प्रधानमन्त्रीलाई त जनताले झापड हान्छन्, मैले ठगलाई हान्न नहुने?’ 

गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङ्गेका नामले चिनिने राजिव गुरुङले ठगलाई झापड हानेर सहि ठाउँमा ल्याएको तर्क गरेका छन्। 

मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कपको उद्घाटन खेल अगाडि सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए। 

सांसद गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेका कारण आफूले झापड हानेको बताए। उनले प्रश्न गरे ‘प्रधानमन्त्रीलाई त जनतालले त झापड हान्छन्,मैले एक ठगलाई झापड हान्न नहुने?’

उनले मनाङबाट आएका ८ जना खेलाडीलाई अलपत्र पारेपछि झापड हानेको बताए। मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको जिकिर गरे।

‘मनाङबाट आएका खेलाडीको बसोबास प्रबन्ध नमिलाएको देखेपछि सुरुमा सम्झाएको हुँ। तर, सम्झाउँदा ठूला कुरा गरेपछि ठगलाई झापड हानेँ’, मनाङेले भने, ‘के ठगलाई झापड नहानेर माला लगाउने त ?’ उनले ठगलाई आफूले मात्र नभएर सबैले झापड हान्नुपर्नेसमेत बताए। 

उनले एन्फा अध्यक्ष कर्मा छिरिङलाई सम्झिँदै भने, ‘झापड हान्न मन त कर्मालाई थियो बीचमा मिलन आइपुग्नुभयो,अहिले त रिस मरिसक्यो किन हान्नुु?’ 

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आफू रावणतिरको परेकाले आफूलाई झापड हान्दा मज्जा आउनेसमेत बताए। ‘मैले झापड हानेको तपाईलाई मन परेन। तपाईहरु गान्धितिरको हुनुहुँदोरहेछ’, उनले भने, ‘म चाहिँ रावणतिर परेँ, झापड हान्दा मज्जा लाग्छ।’

झापड हानेर ठीक गरे भन्न खोज्नु भएको हो? भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ। तपाईलाई नराम्रो लागेको छ भने लेख्नुस्। के भ्रष्टचारीलाई झापड नहानेर माला लगाइदिउँ?’

अध्यक्ष गुरुङले भने कुटपिट तथा दुर्व्यवहार भएको भन्दै सांसद गुरुङविरुद्ध कास्की प्रहरीमा उजुरी दर्ता गराएका छन्।

त्यसबारे मनाङेले भने, ‘जाहेरी हालेर केही हुँदैन। म पनि हाल्दिन्छु ५० वटा ठगी गरेको जाहेरी के भयो र  !’

प्रकाशित मिति: : 2020-01-23 10:04:11

प्रतिकृया दिनुहोस्