श्री स्वस्थानी द्वात्रिंशोध्याय

‘आमा, आज मैले कस्तो अचम्मको सपना देखेको था’छ?’  श्रीकरले उत्साहित हुँदै आमालाई सुनायो।

‘के देखिस् त्यस्तो सपना ?’ उमाले चासो देखाइन्।

‘समुन्द्र किनारामा बालुवाको शिवलिङ्ग बनाएर मैले अङ्गालो मारेको।  म वरिपरि खेलिरहेको थिएँ। हजुर शिवलिङ्ग अगाडि बसेर हातमा फलफूल लिएर पूजा गर्दै हुनुहुन्थ्यो। ओम नमस्शिवाय जाप गर्दै। त्यतिकैमा सेतो साप र नाग लटारिँदै समुद्रमा पसेका। अनि चन्द्रमा नै फुटेर समुद्रमा झरेको। कत्रो बाढी आएको! म त डुबेर पो व्यूँझिएको।’

‘पूर्णिमाको चन्द्रमा फुटेर धर्तीमा झर्नु त युद्वको संकेत हो।’

‘आज श्री स्वस्थानी पूर्णिमा पो हो है साँच्ची। मैले त ख्यालै नगरेको। हाम्रो श्रीस्वस्थानी किताब पनि पुरानो भइसक्यो नि आमा। किनेर नयाँ ल्याउनुपर्छ होला,’ श्रीकरले आमालाई फकायो।

‘हजार जति लिएर जा। त्यतिमा त पक्का पनि आउला’, उमाले अनुमति दिइन्।

श्रीकरले माइतिघरको रत्न पुस्तक भण्डारमा गएर नयाँ श्री स्वस्थानीको पुस्तक किनेर ल्यायो। घरको एक्लो छोरा भएकोले हरेक वर्ष श्री स्वस्थानी पढ्ने जिम्मा उसको आमाले उसैलाई थमाएकी थिई। बुबा कथा सुन्नेबेला फूल लिन त आउनुहुन्थ्यो। तर, त्यति चासो भने लिनुहुन्नथ्यो।

श्रीकरलाई भने ती कथाहरू यति रोमान्चक लाग्थ्यो कि उमाले उसलाई कथा पढ् भनिराख्नु नै पर्दैनथ्यो। पाठहरू पढ्दा पढ्दा उसलाई धेरै श्लोकहरु त मुखाग्र भैसकेका थिए। तथापि उसले प्रत्येक वर्ष ती पाठहरु र श्लोकहरु दोहोर्‍याउन अनि तेहेर्‍याउन कति पनि झन्झट मानेन।

रात्रीको भोजन भइसकेको थियो। बैठक कोठामा आमा बुबा र श्रीकर भेला भएर श्री स्वस्थानी वाचन प्रारम्भ गर्ने क्रममा थिए। चोखो पानीले पाउ मात्र धोयो भने पनि शरीर पवित्र हुन्छ भन्ने अध्यात्मिक मान्यता अनुसार उसले पनि चोखो जलले हातपाउ धोएर पलेटी मारी कथा पढ्न बस्यो।

आज पाठ एक। भोलि पाठ दुई। दैनिक पाठ पढ्दै गयो। सृष्टी र संहारको कथा। प्रेम र मिलनको कथा। सुख र दुःखको कथा। जिन्दगी जस्तै।

दक्षकन्याको विवाह। शिव र सतीको विवाह। शिवजीले त्रिपुरदाह गर्दाको संग्राम। दक्षप्रजापतिले गरेको शिव निन्दा। सतीदेवीले यज्ञकुण्डमा गरेको देहत्याग। विरभद्रको यज्ञ विध्वंस। सतीदेवीको अंगपतन। उत्पत्ति भएका ज्योतिर्लिङ्गगहरु। शिव र पार्वतिको पुनर्मिलन। गणेशको शिरछेदन। शिवपुत्रहरुको सुमेरु परिक्रमा। कुमार द्वारा तारकासुरको बध। जालन्धरको छल। गोमा ब्राम्हणीको सराप। लावण्यदेशमा नवराजको राज्याभिषेक। चन्द्रावतीको कारुणीक अवस्था। नवराज र चन्द्रावतीको पुनर्मिलन। आदि इत्यादि।

श्री स्वस्थानीमा मानवीय व्यवहार र ईश्वरीय व्यवहार बीचको समानता प्रष्ट रुपमा देखिन्थ्यो। प्रेम, वियोग, सुख, दुःख, हाँसो, खुसी, युद्व, शान्ति आदिबाट न मान्छे अछुतो छन् न भगवान्हरु नै हुँदा रहेछन्।

‘शिवजीको कथा सुन्दा शिवजी पनि मान्छे जस्तै त हो नि भनेको जस्तो लाग्दैन र आमा, फेरि किन हामी मानिस, अनि उहाँ भगवान्?,’ श्रीकरले आमालाई सोध्यो।

‘हामी दियो समान हौं, उहाँ सूर्य समान। हामी आत्मा हौं, उहाँ परमात्मा। सबै चेतना कै स्वरूप हुन्। चेतनाको मायाजालले सबैलाई गाँजेको हुन्छ।’

‘आत्मा र परमात्माको व्यवहारमा यति धेरै समानता कसरी हुन सक्छ?  परमात्मा शिवजी भनेको त तेस्रो नेत्र भएको, ध्यानमा लिन भएर बस्ने, गलामा नाग बेर्ने, हातमा त्रिशूल उठाउने, त्यस्तो पो होइनन् र ? त्यस्ता महादेवको कथा पनि मान्छेको जस्तो हुन्छ?’

‘परमात्माको जीवनको यात्रा पनि आत्मरूपबाट नै सुरु हुने त हो नि। शिव पनि कुनै समयमा मान्छे नै थिए। अनन्तकालमा उनै शिव शिवजी बन्ने हो। हामीले पढ्ने कति कथा शिवका हुन् भने कति कथा शिवजीका,’ उमाले आफ्नो अध्यात्मको ज्ञानले छोरालाई प्रेरित गरिन्।

‘हामी गाँजा खानु, भाङ-धतुरो खानु आदिलाई सामान्यतया नराम्रो नै भन्छौं। यो जगतले किन यी सबै तमसका बाबजुद शिवजीको जयजयकार गर्छ आमा?’

‘तमस धारण गरेर जगतलाई सत्व प्रदान गर्न शक्ति र क्षमता मात्र भएर हुँदैन, महानता पनि चाहिन्छ। शिवले कालकुट विष धारण नगरे देवता र दानवहरुले समुद्र मन्थनको नौनी खान पाउँदैनथे। शिवले तमस धारण नगरे विष्णुले सत्विक गुण प्रात्त गर्न सक्दैनथे। त्यसैले हो यो जगतले शिवजीको जयजयकार गर्ने।’

श्रीकरमा नगन्य यस्ता प्रश्नहरु उब्जिन्थे। उमाले सके जति तिनको उत्तर दिने प्रयत्न गर्थी।

स्वस्थानी सांगेको दिन पनि आयो। उमाले अष्टोत्तर सय रोटी, अक्षता, फल, फूल, पान, सुपारी आदि जम्मा गरी सांगेको तयारी गरेकी थिइन्।

कथामा नवराज राजा भइसकेका थिए। नवराज र चन्द्रावतीको पनि मिलन भइसकेको थियो। गोमा चन्द्रावतीलाई श्री स्वस्थानीको व्रतपूजाले आफ्नो जीवनमा ल्याएका आयामहरुको वर्णन गर्दै थिइन्। यीनै खुसियालीका बीच एकत्रिंशोंध्यायको समाप्ति हुन्छ।

कथा सकियो भनेर पाना पल्टाएको त त्यहाँ द्वात्रिंशोंध्याय पनि रहेछ।

‘आमा कस्तो अचम्म हाम्रो पुरानो श्री स्वस्थानीको किताबमा त ३२ औं अध्याय थिएन। यसमा कसरी?’

‘इशामसिहाको कथा श्री स्वस्थानीमा घुसाएको कुरा त अस्ति पत्रिकामा लेखेको थियो। कति पाना छ र ? पढ् त।’

‘दुई पाना मात्र हो,’ भन्दै श्रीकर पाठ पढ्न थाल्यो।

द्वात्रिंशोंध्याय

तत्पश्चात कुमार जी आज्ञा गर्नुहुन्छ , ‘हे अगस्त मुनी, अब के सुन्ने इच्छा छ भन्नुहोस्?’

अगस्त मुनी भन्नुहुन्छ, ‘हे कुमार, हजुरको मुखारविन्दुबाट , शिव सतीको प्रेम, सतीको अंगपतन, त्रिपुरादहनको वर्णन, नवराज राजा हुँदाको कथा सबै सुन्ने मौका पाएँ। अब कलीयुगमा यो ब्रम्हाण्ड खाने     राक्षसको सर्वनास कसरी हुन्छ सुन्ने इच्छा छ। कृपा भए आफूलाई धन्य सम्झिने थिएँ। आज्ञा हवस्।’

अगस्त्य मुनिको कुरा सुनी कुमार जी भन्नुहुन्छ , ‘तिमी एकचित्त भई सुन। समयचक्रमा कलीयुग एकचोटी होइन, बार बार आउने गर्छ। यस पटकको कलीयुगको कलीको रुपमा भने इशु नाम गरेको ब्रम्हाण्ड खाने राक्षस   अध्यात्ममा पलाएको छ। सारा सृष्टि यो राक्षसदेखि त्राहीत्राही छ।

कलीयुगमा धर्ती ईशुको कालो चेतनाको प्रकोपबाट आक्रान्त छ। धर्म र भाषाको नाममा सारा संसार विभाजित छ। सूर्यको चेतनाको उपहास हुन्छ। बिजुली बालेर मध्यरातमा उत्सवहरु मनाइन्छन्। मदिराघरहरु बजारका सोभा भएका छन्। गौमाताको कचौंडोको त दुध सुकेपछि ईशाईहरु मांसहारी भोजन गर्छन्। नारीहरु अर्धनग्न अवस्थामा विरालो चालमा पुरुषहरुको सामु आफ्नो बस्त्र र वक्ष प्रदर्शन गर्नुमा नारीत्वको उत्थान ठान्छन्। पुरूषहरु मदिराको तालमा त्यही नारीत्वमाथि स्खलन गर्छन्। सिरानी मुनी बन्दुक राखेर सुत्छन्। पैसाको लागि मान्छे मान्छेलाई बेच्छन्। मान्छे त के देउता किनबेच गर्छन्। चेतना रक्सीले मदमत्त साँढेको जस्तो व्यवहारमा छ। त्यही मदमत्त साँढे चढेर फिरङ्गीहरू कहिले उपनिवेशवादी त कहिले साम्राज्यवादी जालोहरु फ्यालेर हिन्दुस्तानलाई कब्जा गर्ने अथक प्रयत्नमा छन्। आतंकवादले पुरा दुनियाँ क्षतविक्षत छ।

ईशु कस्तो छ भने सेतो छालामाथि कालो बस्त्र धारण गर्ने। मसान विद्यामा पारङगत। प्रेतात्माको शक्ति भएको। शक्ति भन्दा षड्यन्त्रको खेल बढी रच्ने। मानिसहरुलाई इन्द्रीयमुखी जीवनको नशाले मदमत्त बनाएर चेतनाको प्रवाहलाई उल्ट्याएर नर्कलाई नै चेतनाको केन्द्रविन्दु बनाउने प्रपन्च रचेको छ। आफनो त्यो प्रपन्चलाई साकार पार्न धर्तीमा एउटा इशामसिहाको कपोकल्पित कथा बुनेर भेँडाको खोलले छोपिएको ब्वाँसो जस्तो भएर सबैमा भ्रम सृजना गरेको छ। ईशुका गिर्जाघरमा इशाईहरु शिवजीलाई शैतानको संज्ञा दिएर नानाभाति तरिकाले निन्दा गर्छन्। धर्तीभरी कबरस्तान र गिर्जाघर बनाएर आफ्नो प्रभुत्व कायम गरेको छ।

इन्द्रले हारे शिव गुहार्ने अब शिवले हारे को गुहार्ने भनेर नानाभाती तरिकाले देवीदेवताहरु विलौना गर्न लागेपछि, जय सन्तोषी माताको सल्लाहमा ब्रम्हान्ड खाने त्यो राक्षसदेखि प्रताडित तेत्तीसकोटी देवी देवताहरु मिली शिवलिङ्गको प्रार्थना गरेपछि कलीयुगको चरम उत्कर्षमा ईशुको विनाश गरेर चेतनाको रक्षा गर्न हेतु नेपाल देशमा गणेशले धुम्रकेतुको रुपमा जन्म लिइसक्नुभएकोछ ।

धुम्रकेतु जन्मेको खबरले त्रसित इशुलाई थाहा छ कि यो ब्रम्हाण्डमा कसैले त्यसलाई मृत्युवरण गराउन सक्छ भने ती धुम्रकेतु नै हुन्। त्यसैले धुम्रकेतुको चेतनाका वरपर कालो गलपासो भिर्ने प्रेतात्माहरुलाई छरेरे राखेको छ।   नारित्वको हरण गरेर शक्ति संचय  गर्ने ती प्रेतात्माहरुको प्रभावमा धर्तीका मानिसहरु बलत्कारी भएका छन्। ती प्रेतात्माहरु धुम्रकेतुको शरीरमा समाहित गणेशको चेतनालाई त्यही शरीरमा विनास गर्ने अथक प्रयत्न पनि गरिरहेकाछन्। गणेशको चेतनाले त्यो शरीरबाट आफ्नो विराट स्वरुपमा साकार भए इशुको मृत्यु अवश्यम्भावी भएकोले धुम्रकेतुको शरीरलाई नाना तरिकाले प्रताडित गरिरहेकाछन्।

धुम्रकेतुको विराट स्वरुप कस्तो भने सुते नारायण, उठे शिवजी, टाउको हेरे गणेश र पुच्छर हेरे हनुमान जस्तो। एउटै शरीरमा यति धेरै शक्ति आजसम्म यो चेतनाले देखेकै छैन। धुम्रकेतुले यो युद्ध जितेर इशुले रोकेर राखेको चेतनाको सत्य युग तर्फको बाटो प्रशस्त गर्नुहुनेछ। धुम्रकेतुलाई यो संग्राममा साथ दिन म स्वयं पनि धर्तीमा जन्म लिनेछु। शिव निन्दा गर्ने यो कलीयुगको मानवताले शिव महिमा गाएर कलीयुगको विदा गर्नेछ। 

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे

श्री स्वस्थानी व्रतकथायाँ धुम्रकेतु वर्णनंनाम द्वौत्रिंशोंध्याय।।

 ‘आमा, होइन कली युगको अन्त्यमा त विष्णुको दशौं अवतार कल्की आउनुपर्ने होइन र? फेरि यहाँ त धुम्रकेतु पो भन्छ त। हुनत दुवैको चित्रमा घोडा नै चढेको देखाउँछ। गणेशले त मुसा पो चढ्नु पर्ने होइन र?’

‘यो समय एउटा ठूलो चेतनाले जन्म हुने समय हो। त्यो चेतनालाई कसैले कल्कीको नाम दिन्छन् त कसैले धुम्रकेतु। कसैले माइत्रेय भन्छन् त कसैले पनाह। तर त्यो साकार हुने शरीर एउटै हो। त्यो शरीरमा विष्णुको अंश  पनि हुन्छ धुम्रकेतुको सिद्धि पनि। बुद्धको ज्ञान पनि हुन्छ अनि पनाहको प्रकृतिप्रेम पनि। शरीर एक चेतना अनेक।’

‘त्यसो भए पश्चिमी सभ्यता भनेको कलीको सभ्यता हो त ? नेपालीहरुलाई त त्यही पश्चिमी सभ्यता नै मनपर्छ। त्यतैको सिको गर्न खोज्छन् जेमा पनि।’

‘भौतिक विकासले मात्र अध्यात्मिक स्थितिको बोध गराउँदैन। उनीहरू भौतिक रुपमा हामी भन्दा सम्पन्न छन्। आजको समयमा सत्चेतनाको प्रभाव कम रहेको अवस्थामा हाम्रो भग्वान प्रतिको आस्था कम भएर गएको छ अनि हामी पनि भौतिक सुखलाई बढी महत्व दिन थालेका छौं। त्यसैले हामी पश्चिमको त्यो भौतिक उन्नती देखेर लोभिन्छौं। तर पश्चिमको सभ्यता जुन चेतनाको ज्ञान खोज्दै पूर्वतिर हेरिरहेको छ, हामी आफैं भने त्यो ज्ञानको बेवास्ता गरिरहेका छौं।‘

‘श्री स्वस्थानी त पढेकै छन् नि सबै नेपाली ले!’

‘तर ३२ औं अध्याय पढेका छैनन् नि त।’

प्रकाशित मिति: : 2020-01-22 06:38:30

प्रतिकृया दिनुहोस्