सभामुख पद घाँडो भो, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षलाई। यो पद वास्तवमा राजनीतिक पार्टीको परिचायक पद हो, परिचायक पद होइन। कस्तो अन्तर्विरोधी कुरा ! सरकारको आशय बुझेर कुन विधेयकलाई कस्तो प्राथमिकता दिने भन्ने कुरा सभामुखले निर्धारण गर्छ। तसर्थ यो परिचायक पद हो। साथै सभामुख पदबाट पृथक हुनासाथ ऊ आफ्नै पार्टीको नेतृत्व तहमै स्थापित हुन्छ। उपमाका लागि हिजोका संविधानसभा (दुवै)का अध्यक्ष, अस्तिको प्रतिनिधिसभाका सभामुख सुवास नेम्वाङ पदावधि सकिनासाथ आफ्नै पार्टीको नेतृत्व तहमै प्रतिस्थापित भएका छन्। उनी अहिले नेकपा संसदीय दलको उपनेता छन्। यसर्थ यो पार्टीको परिचायक पद हो। त्यही पद पार्टीको परिचायक पद होइन। किनभने सभामुख पदमा उम्मेदवारी दिन नै पार्टी सदस्यता त्याग्नुपर्छ। यस्तो संवैधानिक जटिलतातिर नलागौं। परिआएका बेला यस्तो विषय अदालतले नै टुंग्याउला। अब लागौं, मूल मुद्दातिर।
कृष्णबहादुर महरा सभामुख थिए भने शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्। तत्कालीन पस्थितिमा एकजना माओवादी केन्द्रका र अर्का एमालेका। एकजना पुरुष, एकजना महिला। संविधानको प्रावधानअनुसार एकदम ठीक। तर जब महरा यौनकाण्डमा परे, तब सभामुख पदबाट राजीनामा दिन बाध्य भए। जसका कारण अहिले यो स्थान रिक्त छ।