नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँज्यो : मुख्यमन्त्री पोखरेल 

स्वदेशमा गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने

फाइल तस्बिर

मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेको बताएका छन्। 

शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले स्वदेशमा गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेको बताए।

 समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न आग्रह गर्दै उनले भने, 'हामीले हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौँ, तर स्वदेशमै त्यो भन्दा महत्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, हामीले उपेक्षा गर्छाैँ, राष्ट्रलाई सबल बनाउन स्वदेशमा उद्यमशील बन्नुपर्छ।' 

समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको अहम भूमिका ब्रहेको उनको भनाई छ। 

विपद्का बेला यूवा परिचालनमार्फत व्यवस्थापन गर्न तथा समृद्धिको प्रमुख आधार युवा जगत नै भएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उल्लेख गरे। 

युवा तथा खेलकूद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले यस वर्षलाई युवा परिचालनको वर्ष घोषणा गरेकाले स्काउट अभियानलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने  आवश्यकता रहेको बताए। 

पाँच दिनसम्म सञ्चालन हुने आधारभूत तालीममा प्रदेश नं ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-01-19 05:03:41

प्रतिकृया दिनुहोस्