आस्था प्रकरणः माफी माग्दै रोइन् राउत, डिआइजी पोखरेल भन्छन्— गायिकाकाे अभद्र व्यवहार देखियो

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सिसी टिभी फुटेजमा गायिका आस्था राउतलाई महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दुर्व्यवहार गरेको नदेखिएकाे बताएका छन्। राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। 

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएको उनले बताए। विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्‍यो, म गायिका हो, चिन्नु भएन?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको उनले बताए। 

‘दुर्व्यवहार भए उजुरी गर्ने ठाउँ छ तर कलाकार भन्दैमा संगठनलाई नै बदनाम गराउन पाइँदैन’, पोखरेलले भने। राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै महानिरीक्षक पोखरेलले महिला प्रहरीबाट कुनै दुर्व्यवहार नभएको जिकिर गरे। 

स्रोतका अनुसार महिला प्रहरी जवान रस्मी श्रेष्ठले विमानस्थल प्रहरी कार्यलयमा सामाजिक सञ्जालमा राउतले बोलेको जस्तै कुनै कुरा सत्य नभएको उल्लेख गरेकी छिन्। निवेदनमा उनले राउतले समाजिक सञ्जालमा आफ्नो प्रतिष्ठामाथि आँच आउने कुरा बोलेको भन्दै कारबाहीको माग गरेकी छिन्। 

के भएको थियो?

गायिका राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) पाेस्ट गरेकी थिइन। भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

१० मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गर्नुका साथै गालीगलौज गरेको सुन्न सकिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसीटिभी फुटेज सार्वजनिक भएकाे थियो। ‘फुटेज’मा प्रहरीभन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ।

बिएल नेपाली सेवालाई प्राप्त सिसिटिभी फुटेजमा हातमा कफीको कप बोकेर आएकी राउतलाई ड्यूटीमा खटिएकी महिला जवान रस्मी श्रेष्ठले सामान्य चेकजाँचको लागि ज्याकेट फुकाल्न लगाउँदा राउतले नै महिला प्रहरीमाथि तथानाम शव्द प्रयोग गरेको देखिन्छ। राउतलाई प्रहरी जवान श्रेष्ठले आवश्यक चेकजाँचको लागि ज्याकेट खोल्न लगाएकी थिइन। राउतले हातमा बोकेको कफीको कप प्रहरी जवान श्रेष्ठले हातमा लिँदै उनलाई बाहिर जान निर्देशन दिएकी थिइन। लगतै राउत रिसाउँदै ज्याकेट खोल्न चेकजाँच रुमबाट बाहिर निस्किइन्।  

हतारमा राउत फेरि चेकजाँच रुममा आउँछिन्। उनलाई प्रहरी जवान श्रेष्ठले चेकजाँच गरेर जान निर्देशन दिन्छिन्। राउत आफ्नो ज्याकेट लिँदै बाहिरिदै गर्दा उनलाई प्रहरी जवान श्रेष्ठले कफीको कप हातमा थमाउँछिन्,तर राउतले उक्त कप लिन अस्विकार गर्छिन्। पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो देखिन्छ। उनीहरुबीच केही बेर भनाभन हुन्छ र राउत फथफताउँदै नजिकै बसेको अर्काे प्रहरीलाई ठाडो औँला देखाउँदै पुनः ज्याकेट लगाएर निस्किन्छिन्। अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन्।

गायिका राउतले के भनिन्?

भिडियोमा आक्रोशित हुँदै उनले भनेकी छन्, ‘मलाई आजसम्म घरका बाबुआमाले त तँ भन्न सकेका छैनन्। त्यो डन्ठेले तँ भन्ने? त्यो डन्ठेलाई भेटाएँ भने त त्यसको डन्डा मुखबाट छिराएर काँ निकाल्दिन्छु मा sss कस्सम....’

उनी आक्रोशित हुँदै प्रहरीभित्र दुर्गन्ध भएको आरोप लगाएकी छन्। उनले भनिन्, तिमीहरूको विमानस्थलबाट ज्यानमारा छिर्छ। ड्रग्स छिर्छ। सुन छिर्छ। तर उउटा महिलामाथि गर्ने व्यवहार यही हो? कलाकारको सम्मान छैन। गोजीमा छाम्नुस् न त तपाईं, मलाई ढिलो भइसक्यो भन्दा खोल ज्याकेट रे। त्यही हो बोल्ने पारा? यो प्रहरी साथी भन्ने शब्द हटा त।’

उनले आफ्नो पनि घरमा प्रहरी भएकाले प्रहरीलाई सम्मान गर्ने गरेको भन्दै प्रहरीले पनि अरुलाई सम्मान गर्न सुझाव दिएकी छिन्। ‘हामीलाई हजुर चाहिएन। तर डन्ठेहरूले, बन्दुकेहरूले तँ भनेको सह्य हुँदैन। सम्मान गर र सम्मान लिन सिक( गिभ रेस्पेक्ट टेक रेस्पेक्ट)। गल्तीविना तँ तँ भनेर गालीगलौजमा उत्रिनु राम्रो होइन। माथिका हाकिमले तलका कर्मचारीलाई राम्रोसँग पढाऊ न यार.....। अरुलाई चाहिँ तँ ए भन्ने, अनि हामीले चाहिँ तिमीहरूलाई सम्मान गर्नुपर्‍यो?’ उनले भनेकी छन्।

माफी माग्दै फेसबुक लाइभमा रोइन् आस्था

विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन्।  

सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा बोलेका शब्दको चर्को आलोचना भएपछि उनी शुक्रबार दिउँसो फेरि फेसबुक लाइभमा आएकी हुन्। फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको पुनः दाबी गरेकी छन्।

आफ्नो चित्त दुःखेको भन्दै उनी लाइभमा रोएकी हुन्। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’लगायत अपशब्द प्रयोग गरेकी थिइन्। 

प्रकाशित मिति: : 2020-01-18 08:17:12

प्रतिकृया दिनुहोस्