एसियामै सबैभन्दा बढी युवा भएको देश नेपालले युवाको जोस, जाँगर र सीपलाई देश विकासमा उपयोग गर्न सकिरहेको छैन । युवा स्वदेशमा छैनन् । भएकालाई पनि बेरोजगारीले सताइएको छ । शिक्षा र रोजगारीको खोजीमा युवा सहरी क्षेत्रमा भौतारिइरहेका छन् । हाम्रा गाउँबस्ती युवाविहीन छन् । देशमा एकातिर तराई र सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्दो छ भने अर्कोतिर बेरोजगारीले सताएका युवा युरोप, अमेरिका, अस्टे«लिया एवं खाडी मुलुकमा बत्तीको पुतलीझंै बहिर्गमित भइरहेका छन् । किन बिदेसिन बाध्य भए युवा ? जन्मभूमिमा भाग्य र भविष्य किन देख्न सकेनन् ? जवाफ प्रस्ट छ, राज्यको अदूरदर्शिता, राजनीतिक बेथिति, आर्थिक अभाव र जीवन निर्वाहसँग जोडिएका समस्या समाधानकोविकल्प नहुनु ।
नेपालले रोजगारीका लागि विश्वका १ सय १० देशसँग सम्झौता गरेको छ । सम्झौता गरेका बाहेक अन्य देशमा समेत नेपाली पुगेका छन् । नेपाल युवा निर्यात गर्ने देशमा चिनिएको छ । नेपाल सरकारको रेकर्डअनुसार औसतमा दैनिक रूपमा १५ सय युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बाहिरिने गर्छन् । खुला सीमाका कारण छिमेकी देश भारतमा रोजगारीका लागि जाने युवाको तथ्यांक नै छैन । यसरी हेर्दा देश विकासको रथ हाँक्न सहयोगीको भूमिका निर्वाह गर्ने युवा विदेशमा पठाएर बूढाबूढी र केटाकेटीको बस्ती बनाउने परिस्थिति किन बनाइँदै छ ?