भारतको प्रतिष्ठित दैनिक द इन्डियन एक्सप्रेसले तीन वर्षअघि आफ्नो वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेको थियो । कार्यक्रममा ‘रामनाथ गोयन्का जर्नालिजम अवार्ड’ वितरण गरेपछि मोदीले इन्डियन एक्सप्रेसको पत्रकारिताको मुक्तकण्ठले प्रशंसा गरे । तर, जब सम्पादक राजकमल झा धन्यवाद ज्ञापन गर्न पोडियममा उभिए, उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंं कार्यक्रममा आइदिनुभो, त्यसका लागि धेरै–धेरै धन्यवाद ! तर, तपाईंंले जे बोल्नुभयो, त्यसले हामीलाई नर्भस बनाएको छ, किनकि तपाईंंले हाम्रो प्रशंसा गरिदिनुभयो । कुनै वेला एकजना मुख्यमन्त्रीले हाम्रो पत्रिकाका संस्थापक रामनाथ गोयन्कालाई भनेका थिए– तपाईंंको रिपोर्टरले बहुतै राम्रो काम गरिरहेको छ । मुख्यमन्त्रीले जुन रिपोर्टरको नाम लिएका थिए, उनी अर्को दिन नै निस्कासनमा परेका थिए । आज तपाईंंले हाम्रो तारिफ गरिदिनुभयो, भोलि हाम्रो के हविगत हुने हो भनेर मन विचलित भएको छ । बरु तपाईंले खरो आलोचना गर्नुभएको भए हाम्रो उपकार हुने थियो किनकि हाम्रो व्याकरणमा जब–जब सत्ताले प्रशंसा गर्छ– पत्रकारिता अभिशाप बन्छ, जब सत्ताले हाम्रो आलोचना गर्छ– तब हामीलाई सम्मानको तक्मा भिरेजस्तो लाग्छ ।’
भारतीय प्रधानमन्त्री मोदीले प्रेसको प्रशंसा गरे, त्यसैले त आज भारतीय प्रेसको औचित्य संकटमा छ । धन्य हुन्, हाम्रा प्रधानमन्त्री, जसले प्रेसको निरन्तर आलोचना गरिरहेका छन् र प्रेसको ज्यानमा जीवन भरिरहेका छन् । सोमबार मात्र चेम्बरका उद्यमी–व्यवसायीसँग हाम्रा प्रधानमन्त्रीले भने, ‘हामीले काम गरिरहेका छौँ, त्यस्ता कामको प्रशंसा गर्ने टेलिभिजन छैनन्, लेख्ने पत्रपत्रिका छैनन्, प्रशंसा गर्ने मन भएका, मुटु भएका सम्पादक छैनन् ।’ प्रधानमन्त्रीले सम्पादकहरूको छातीको जुन अल्ट्रासाउन्ड रिपोर्ट प्रस्तुत गरेका छन्, अब रित्तो छातीमा मुटु प्रत्यारोपण गर्ने जिम्मेवारी पनि उनले स्विकार्नुपर्छ । किनकि यहाँ केही सम्पादक, केही पत्रकार, केही स्तम्भकार र केही नागरिक अगुवाको मात्र होइन, सिंगो देशको मुटु गायब भएको छ । देशको छातीमा मुटु प्रतिस्थापन गर्न र त्यसको धड्कन सुन्न प्रधानमन्त्री साँच्चै इच्छुक छन् भने उनले मुटु किन हरायो भन्ने विषयमा पक्कै आत्ममन्थन गर्नुपर्छ । त्यसका लागि प्रधानमन्त्रीलाई सहयोग गर्नु यो आलेखको अभिप्राय रहनेछ ।