वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्छ : कृषिमन्त्री भुसाल

'सरकारले योजनाबद्ध कदम चाल्न थाल्नुपर्छ' उनले भने

फाइल तस्बिर

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन्। कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका हुन्।

रुपन्देहीको अमुवामा बुधबार माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले कृषिका हरेक क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको बताए। 'सरकारले योजनाबद्ध कदम चाल्न थाल्नुपर्छ' उनले भने।

अबको पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बन्नेगरी योजना र कार्यक्रम ल्याइने उनले बताए। 'सरकारका अबको कार्यक्रम त्यसतर्फ केन्द्रित हुनेछ' उनले भने।

 प्रतिवर्ष एक लाख मेट्रिक टन माछाको उत्पादन बढाउनु जरुरी रहेको तर्फ व्यवसायीको ध्यानाकर्षण उनले गराए। 'दूध, अण्डा, माछा, मासुजस्ता पोषणयुक्त खानेकुरा रुपन्देहीका जनताले जसरी पाइरहेका छन्,' उनले भने, 'त्यसैगरी कर्णालीको जनताले समेत सहजरूपमा पाउने गरी उत्पादन गर्न सरकारले योजना ल्याउन थालेको छ।'

कृषिप्रधान देश कृषि उपजमा परनिर्भर हुनु विडम्बनापूर्ण भएको  प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले बताए। 'कृषि उद्यमको विकासमा तीनै तहका सरकारको प्राथमिकता जरुरी छ' उनले भने।

नेपाल मत्स्य व्यवसायी महासङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारी अलमलको कारण तीन वर्षदेखि मत्स्य नीति मन्त्रालयको दराजमा थन्किएर बसेको आरोप लगाइन्।

'अहिले पनि भारतबाट वर्षेनी फर्मालिन प्रयोग भएका अखाद्य माछा रु पाँच अर्बभन्दा बढीको आयात भइरहेको छ', उनले भनिन्, 'सरकारले त्यसलाई तत्काल रोक्नुपर्छ।'

पशु नीतिअनुसार मत्स्य उद्यमीले काम गर्दा समस्या आएकाले राष्ट्रिय मत्स्य बोर्ड गठन गरी मत्स्य नीतिलाई अगाडि बढाउन अध्यक्ष अधिकारीले मन्त्रीलाई आग्रह गरिन्।

मत्सय व्यवसायी महासङ्घ रुपन्देहीका अध्यक्ष दिवाकार भुसालले माछाका लागि सरकारले गरेको लगानीलाई अझै प्रवद्र्धन गर्दै भारतीय माछालाई पूर्णरूपमा विस्थापन गर्न मत्सय महोत्सव आयोजना गरिएको बताए।

महोत्सवको उद्घाटनसत्रमा सिद्धार्थ नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू, शुद्धोधन गाउँपालिका अध्यक्ष किशुसन चौधरी, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, अविराम विकलगायतले रुपन्देहीलाई मत्स्य केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2020-01-16 17:36:13

प्रतिकृया दिनुहोस्