माघेसङ्क्रान्तिको दिन पोखरा १७ ढुङ्गेसाँघुमा ऐतिहासिक मेला लाग्ने गर्दछ । मेलामा विशेष गरी परम्परागत सामानको बिक्री वितरणले पनि निकै महत्व राखेको पाइन्छ ।
बुटवलका रनबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि फलामका परम्परागत औजार बेच्दै आएको बताएका छन्। आफैँले उत्पादन गरेका औजारलाई विगत वर्षमा जस्तै यस वर्ष पनि मेलामा बेच्न ल्याएको उनले बताए । उनले भने,‘मैले २५ वर्षअघिदेखि व्यापार गर्दै आएको छु। शुरुका वर्षमा तीस/चालीस रुपैयाँमा बेच्ने औजार अहिले २०० मा पुगेको छ, व्यापारमा कमी आएको छैन, समयअनुसार राम्रै छ।’ उनले फलामे औजारको सामग्रीको एकैतिर मात्र व्यापारका लागि ठाउँ छुट्याएको भए किन्ने ग्राहकलाई र बेच्नेलाई पनि सहज हुने बताए। फलामे औजार आँसी, दाउ, कुटो, कोदालो, बञ्चरो, बाउसोको फाली, दिउरी, कराइ बेच्ने गरेको बताए।
त्यसैगरी धादिङका पुतली विश्वकर्माले पनि विगत २० वर्षदेखि फलामे औजारको व्यापार गर्दै आएको बताए। पोखराको बागलुङ बसपार्कमा बस्दै आएकी उनले ११ वर्षअघि श्रीमानको मृत्युपछि कामदार राखेर यस पेशालाई निरन्तरता दिँदै आएको बताइन्। उनले अघिल्ला वर्षमा जस्तो यस वर्ष व्यापार राम्रो नभएको बताइन् । उनले यस वर्ष २० हजारको मात्रै हँसिया बेचेको र गत वर्ष भने एकै दिनमा एक लाख बढीको हँसियाको व्यापार गरेको अनुभव सुनाइन्।
विगत १२ वर्षदेखि मेलामा व्यापार गर्दै आएका पोखरा लामाचौरका मङ्गलबहादुर विश्वकर्माले पनि ढुङ्गेसाँघु मेलामा विभिन्न जिल्लाबाट करिब २० भन्दाबढी परम्परागत फलामका औजार बेच्न आएको बताए। पछिल्लो समयमा बजारीया सामानले यस पेशालाई ओझेल पार्दै गएको र पहिला पहिला जस्तो व्यापार नभएको उनको भनाइ थियो ।
तनहुँका राजेश विकले विगत चार वर्षदेखि फलामे औजारको व्यापार गर्दै आएको बताए। उनले विगत वर्षमा भन्दा यस वर्ष दाउ, हँसिया र ओख्लीको व्यापार राम्रो भएको बताए। दमौलीबाट विगत दुई वर्षदेखि व्यापारका लागि आउनुभएका धीरज परियारले रु २०० देखि दुई हजार ५०० सम्मको फलामे औजारको व्यापारका लागि राखिएको बताए। उनले बञ्चरोलाई रु दुई हजारदेखि दुई हजार ५०० सम्म बिक्री गरेको बताए।
पोखरा– १७ का हंसराज गुरुङले ऐतिहासिक महत्व राखेको यस मेलामा विशेष फलामको औजार खरिद गर्ने गरेको बताए। उनले यस वर्ष फलामको ओख्ली र दाउ खरिद गरेको बताए। त्यसैगरी पोखरा ११ काँहुकी शर्मिला बरालले फाली र फलामे कराइ किनेको बताए। ‘बजारमा पनि पाइन्छ तर पहिल्यैदेखि ढुङ्गेसाँघुको मेलामा सस्तो र राम्रो पाइन्छ भन्ने सुनेकाले यहीबाट खरिद गरेकी हुँ’, उनले बजारमा भन्दा सस्तो मूल्यमा पाएको बताए।
परम्परागत फलामे औजारका लागिसमेत प्रसिद्ध पाएको यस मेलामा धादिङ, म्याग्दी, कास्की जिल्ला र आसपासका स्थानबाट फलामे औजारको व्यापारका लागि आउने गरेको महतगौडास्थित ढुङ्गेसाँघुका सदा शिवजी सिद्धश्वर हरिहर मन्दिर समितिका पूर्वअध्यक्ष ऋषिराम भण्डारीले बताए।
उनले कहिलेबाट यस मेला शुरु भएको भन्ने ऐतिहासिक दस्तावेज नभेटिएको तर विसं १८६४ तिरका केही प्रमाण भेटिएको बताए। धार्मिकरूपमा राम सीताले सेतीगङ्गा स्नान गरेर हिँडेकाले महतगौडामा सीतापाइला नाम रहेको बताए। उक्त स्थानमा अहिले पनि रामसीता बसेको चौतारीको वरपीपलको रुख एकै वृक्ष भएर झाङ्गिँदै गएको उनको भनाइ थियो ।
पहिलापहिला तीन दिनसम्म चल्ने यस मेलामा हाल सुरक्षाको दृष्टि र ठाउँ अभावले एक दिनमात्रै सीमित गरिएको उनले बताए। पहिला बजारको विस्तार नहुँदा कास्कीका विभिन्न ठाउँबाट मेलामा वर्षभरिका लागि चाहिने घरायसी सामान खरिद गरेर लैजाने गरेको भण्डारीले बताए। पोखरा– १५ र १७ जोड्ने प्राकृतिक ढुङ्गाको पुलले उक्त स्थान ढुङ्गेसाँघुको नामबाट परिचित हुन गएको स्थानीय ९० वर्षीय चन्दाकान्त भण्डारीले बताए।