सहकारी क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक : अर्थमन्त्री खतिवडा

समावेशी विकासका लागि सबै वर्ग र समुदायको संलग्नतामा अर्थपूर्ण साझा प्रयास आवश्यक

फाइल तस्बिर

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको सहकारीलगायत वित्तीय क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक रहेको बताएका छन्। नयाँ प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउनेतर्फ महिला उद्यमीले ध्यान पुर्याउनुपर्ने उनले बताए।

समृद्धि फाउण्डेशनद्वारा सोमबार आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा बोल्दै उनले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक रहेको बताउदै भने', 'घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुपर्छ।'

अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको उनको भनाई छ। 'उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पुर्याउनुपर्छ' उनले भने।

समावेशी विकासका लागि सबै वर्ग र समुदायको संलग्नतामा अर्थपूर्ण साझा प्रयास आवश्यक रहेको बताउदै उनले भने,'मुलुकको अर्थतन्त्रका मुख्य तीन खम्बा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले समावेशी विकासका लागि एकाकार भएर काम गर्न आवश्यक छ।'

सरोकारवालाबीच पर्याप्त छलफल नभई अघि बढाइएका विकासका आयोजनाप्रति नागरिकबाट प्रश्न उठ्ने सम्भावना रहने उनको भनाई छ।

'समावेशी विकासका माध्यमबाट मात्रै आर्थिक समृद्धि हासिल गर्नुपर्छ भनेर सरकारले त्यसैअनुरूपको नीति तर्जुमा गरेको छ', उनले भने, 'त्यसका लागि उपलब्ध स्रोतसाधन साझा प्रयासमा परिचालन हुनुपर्छ।'

प्रकाशित मिति: : 2020-01-14 02:03:08

प्रतिकृया दिनुहोस्