नेपाली पत्रकारलाई चिनियाँ भाषाबारे प्रशिक्षण

चिनियाँ भाषा र संस्कृतिबारे तीनमहिने प्रशिक्षण

सांकेतिक तस्बिर

ललितपुरमा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे तीनमहिने प्रशिक्षण शुरु भएको छ। नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा उक्त प्रशिक्षण शुरु भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार प्रशिक्षणको उद्घाटन गर्दै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताए।

चीनसँग सरकार, जनता र संस्कृतिका क्षेत्रमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको उनले बताए।

'चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरेका छौं,' उनले भने,'पत्रकारले भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गर्दछु।'

एकापसमा सिक्न र आफ्नो संस्कृति बुझ्नुपर्ने भन्दै उनले भने, 'आधुनिककालमा आपसी सम्बन्धलाई नयाँ आयामका साथ विस्तार गर्न र नेपालको मौलिक संस्कृति चीनसमक्ष पुर्याउन आवश्यक छ।'

नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा मुलुकका लागि लाभदायक हुने मिडिया फोरम तथा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठको भनाई छ।

कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा डा वाङ शेन्ग्लीले पत्रकारले चीनमा के हुँदैछ र नेपालप्रति चीनको दृष्टिकोण के हो भन्नेबारेमा जानकार हुने र चिनियाँ भाषामा समेत समाचार लेख्न सक्ने वातावरण सिर्जना हुने बताए।

'राम्रा शिक्षक र पाठ्यसामग्री उपलब्ध गराएर चिनियाँ भाषा र संस्कृति सिकाइने तथा उत्कृष्ट प्रशिक्षार्थीलाई चीनमा अध्ययनका लागि छात्रवृत्तिसमेत उपलब्ध गराइनेछ' उनले भने।

सन् २०१२ मा स्थापित कन्फुसियस इन्ष्टिच्युटले हालसम्म १२ हजार जनालाई  चिनियाँ भाषा प्रशिक्षण दिएको काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा सुबोध शर्माले जानकारी दिदै प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी रहेको बताए।

प्रकाशित मिति: : 2020-01-14 00:48:19

प्रतिकृया दिनुहोस्