(अतिक्रमण गर्नेको नामसहित)
नेपालको गुठी संस्थान एउटा बलियो कानुनी संरचना भएको संगठन हो। अब गुठी संस्थान संगठन भन्दा पनि समाजमा रुपान्तरण भइसकेको छ।
यसैबीच ओली सरकारले विधेयकमार्फत गुठीको संरचनामा फेरबदल गर्न खोजेपछि जनस्तरबाट ठूलो विरोध भयो। सरकार ढल्ने सम्मको स्थिति बनेपछि विधेयक फिर्ता लिइयो।
तर जुम्लाको इतिहाससँग साइनो रहेको चन्दननाथ–भैरवनाथ गुठीको जग्गा भने अतिक्रमण भइरहेको छ। यसमा निजी क्षेत्र मात्र होइन, स्थानीयदेखि संघ संस्थाले समेत आफूखुसी भोगचलन गर्दै आएका छन्।
गुठीको नाममा रहेको खेतीयोग्य जमिन अतिक्रमणमा परेको छ। सरकारी तथा निजी क्षेत्रबाट जग्गा अतिक्रमणमा परे पनि सरकारी निकायको ध्यान गएको छैन।
तथ्यहरू फरक परेका भए पनि जुम्लामा मार्सी धानको विकास गराउनमा सिद्ध पुरुष चन्दननाथले ठूलो भूमिका खेलेका हुनाले उनको नाममा भेटी तथा दान प्रसस्त आउने क्रममा जिल्ला बाहिर समेत प्रसस्त मात्रामा गुठीको जग्गा देखिन्छ।
गुठीको जग्गा कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१, कार्तिकस्वामिमा ४० हजार २ सय २४, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८, देपालगाँउमा ४८ हजार ५८ सय ६९, गज्यङकोटमा ८६ हजार ७४, महतगाँउमा ८९ हजार ४ सय ७६, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गमिटर जग्गा छ।
त्यस्तै कालीकोटको रासकोट, मुगुको नागथार्प, बाजुराको कोल्टी र हुम्लामा समेत चन्दननाथ गुठीको जग्गा छ। जिल्ला बाहिरको सबै जग्गाको अवस्थाबारे भने आफूलाई थाहा नभएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए। ‘जिल्लाभित्रका अधिकांश गुठीको जग्गा अतिक्रमणमा परेको छ,’ उनले भने, ‘पटकपटक रोक्ने प्रयास गरिए पनि सफल हुन सकिएन।’
हजारौं हेक्टरमा रहेको जग्गा अतिक्रमणमा पर्दै गएपछि अहिले ७४ हजार २ सय ९४ वर्गमिटर (एक सय ४३ रोपनी) मात्रै गुठीको नाममा छ।
गुठीको नाममा लालपुर्जा भएको जग्गामा समेत व्यक्तिले घर बनाएका छन्। मार्सी धान खेती सुरू गरेको भनिने सेराज्यूलो र आसपासको जग्गा पनि अतिक्रमणमा परेको छ। जुन फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय र चन्दनाथ नगरपालिकालाई पटकपटक गुहारे पनि कसैले चासो नदिएको उनले गुनासो गरे।
जग्गा अतिक्रमणको अवस्था अध्ययन गर्न कालीबहादुर थापाको संयोजकत्वमा गठित टोलीले २०७१ जेठ २५ गते गुठी व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा साविकको गर्ज्याङकोट तथा अहिले गुठीचौर गाउँपालिकामा रहेको ३ हजार ५ सय ७३ वर्गमिटर जग्गामा स्थानीय पाँच जनाले घर बनाएको देखाइएको छ। जस अनुसार घर बनाउनेमा दलजित बुढा, गोर बुढा, कालीबहादुर बुढा, हंश बुस र दीपबहादुर कामी छन्।
चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा व्यक्तिले प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। ‘गुठीको जग्गामा डम्बर श्रेष्ठले बारी बनाएका छन् भने पारस महत र विनोद शेरचनले शौचालय तथा पदम खत्रीले घर, बारी र शौचालय बनाएको पाइयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘अतिक्रमित जग्गामा अम्बिका शाहीले टहरा बनाएको भेटियो।’
२०६८ मंसिर २० गते मालपोत कार्यालयले गुठीको जग्गा अतिक्रमण भएको विवरण पठाएको थियो। अतिक्रमण बढिरहे पनि यस विषयमा जिल्लाका सरोकारवा मौन रहेको स्थानीयको गुनासो छ। चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समिति २०३६ सालमा स्थापना भएको हो। तर यो अवधिमा भएको जमिन पनि गुम्दै गएको छ।
चन्दननाथ ३ का जैसिंह सार्कीले स्थानीय एक व्यक्तिलाई नेपाली सेनाको ब्यारेक नजिकैको गुठीको खेतीयोग्य दुई रोपनी जग्गा बेचेका छन्। वर्षौंदेखि जमिन उपभोग गरिरहेको उनले मालपोतका कर्मचारीसँगको मिलेमतोमा जग्गा बेचेको समितिले दाबी गरेको छ। सोही ठाउँमा डङ्से सार्कीले भोगचलन गर्दै आएको दुई रोपनी गुठी जग्गा नेपाली सेनाले अतिक्रमण गरेर मुआब्जा दिँदासमेत गुठी समितिले पत्तो पाएन। तर हाल गुठीले मुआब्जा पाउनुपर्ने भन्दै उजुरी दिएको छ।
स्थानीय महाशंकर देवकोटाले नयाँ बसपार्क नजिकै रहेको गुठीको चार रोपनी जग्गा व्यक्तिगत नामसारी गर्न खोजेपछि दशकौंदेखि सर्वोच्चमा मुद्दा छ। सेराज्युलाको छेउमा घर निर्मित गुठी जग्गाआफ्नो भन्दै नव गिरीले मुद्दा हालेपछि जिल्ला अदालतले उनलाई जितायो, तर उच्च अदालतले भने गुठीको पक्षमा फैसला गरेपछि विवाद उब्जिएको छ।
गुठीको जग्गामै काली दमाईको नाममा जनता आवास कार्यक्रमबाट घर बनेको छ। अतिक्रमण गरेर खेलकुद विकास समितिले समेत आफ्नो नाममा लिइसकेको छ। गुठीकै जग्गामा उद्योग वाणिज्य संघ, कर्णाली खस संग्रहालय र नगरपालिकाले पार्किङ बनाएका छन्। अतिक्रमित जग्गामा जिल्ला अदालतको भवनसमेत बनेको छ भने गुठीको अनुमानि र निर्णय बिना नै शिक्षा विकास तथा समन्वय एकाइ र नगरपालिकाले सडक निर्माण समेत गरेका छन्।
‘केही समयसम्म भाडामा लिने र पछि अतिक्रमण गर्न गरिएको हुँदा जग्गा मासिँदै गएको छ,’ गुठीका उपाध्यक्ष दया खत्रीले भने, ‘फिर्ता ल्याउन मुद्दा प्रक्रियामा समेत गएका छौं।’ यसरी ठूलो मात्रामा जग्गा व्यक्तिले नामकरण गर्ने तथा अतिक्रमण गर्ने क्रम बढीरहेको छ। त्यतिमात्र नभइ एउटाले भाडामा सम्झौता गरेर तेस्रो पक्षलाई पुन: भाडामा दिने समेत भैरहेको छ।
यसैबीच जिल्ला सहकारी संघले स्याउ ग्रेडिङ मेसिन सञ्चालन गर्ने भनी ०७२ फागुन २० गते मन्दिरको जग्गा भाडामा लिएर बनाएको भवनमा जिम खाना संचालन गर्न सहकारी संघले तेस्रो पक्षलाई भाडामा दिएको छ। उक्त भवन भाडामा लिने चन्द्र सुनारले जसमखानाका साथै नयाँ भवन बनाएर रेष्टुरेन्ट पनि सञ्चालन गरेका छन्। उनले भवन र जमिन सहकारी संघबाट लिएको भएपनि आफूले गुठीबाटै लिन चाहेको बताए। तर समिति बीच किचलोका कारण आफू प्रक्रियामा जान नसकेको उनले थपे।
उक्त जग्गा भाडामा लिने जिल्ला सहकारी संघका अध्यक्षले पदम महतले भने सुनारलाई जिमखाना संचालन गर्न दिएको बताए। तर सम्झौताको बुँदा नं १० मा भाडामा लिएको जग्गा सफा राख्ने, सामाजिक, धार्मिक रीति, थिति खलबल आउने कुनै पनि क्रियाकलाप नगर्ने उल्लेख छ। उपाध्यक्ष खत्रीले जिल्ला सहकारी संघलाई स्याउ ग्रेडिङ मेसिन सञ्चालनका लागि दिएको बताए।
यसरी पछिल्लो समय तिब्र गतिमा भैरहेको अतिक्रमणले गुठी संस्थान कमजोर हुने र एउटा बलियो संरचना कमजोर हुने स्थिति आएको समितिका सचिव रमानन्द आचार्यले बताए।