नवलपरासीमा प्रेस सङ्गठनको एकताले पायो पूर्णता

जिल्लामा नेकपाकै कारण विकासको लहर

बिएल

पश्चिम नवलपरासीमा प्रेस सङ्गठन नेपालको एकता प्रक्रियाले पूर्णता पाएको छ। साविक प्रेस सेन्टरका बेनीमाधव बस्याल संयोजक र प्रेस चौतारी नेपालका मोहन पौडेल सहसंयोजक रहेको १९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ। 

दुवै सङ्गठनको सहमतिमा जिल्लाबाट सिफारिस भएको कमिटीलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि जिल्ला संयोजक र सहसंयोजकले काठमाडौँमा आयोजित राष्ट्रिय भेलामा शपथग्रहण गरेका थिए भने अन्य सदस्यलाई शनिबार परासीमा जिल्ला भेलाको आयोजना गरी  शपथग्रहण गराइएको थियो। 

एकतापछि बनेको प्रेस सङ्गठन नेपाल नवलपरासीको जिल्ला सदस्यमा प्रेस चौतारीबाट प्रमोद अर्याल, रमेश भुसाल, मालती न्यौपाने, रामु भुसाल, आरती राना, विकास अधिकारी, गौरीशङ्कर जयसवाल, इन्दिरा विक, अभिषेक राव हरिजन, कृष्ण ढकाल, विकास चापागाई तथा प्रेस सेन्टरबाट धुव्रनारायण बानियाँ, लक्ष्मी पौडेल, रिङ्की पङ्गेनी, रामकरण हरिजन, विकास पौडेल, सम्झना विकलगायत रहेका छन्। 

समारोहमा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश न–५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले नेकपा नेतृत्वको वर्तमान सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रीत रहेको बताए। 

सरकारले गरेको कामबारे पत्रकारिताको माध्यमबाट आम समुदायमा पुर्याउन उनले आग्रह गरे। जिल्लामा नेकपाकै कारण विकासको लहर आएको बताउँदै उनले नेकपाले गरेको कामको फल नेपाली काँग्रेसले लिन खोजेको आरोपसमेत लगाए। 

'उहाँहरु सत्तामा रहँदा जिल्लाको विकासमा ध्यान दिन सक्नुभएन,हामी आएपछि अहिले जिल्लामा धमाधम सडक, पुल, खानेपानीलगायतका पूर्वाधार बनिरहेको छ,' उनले भने, 'तर उहाँहरुले मैले गरेको हो भन्दै जनतामा भ्रम फिँजाउनुभएको छ, सञ्चारमाध्यमले सो कुराको यथार्थ सार्वजनिक गर्नुपर्छ।'

प्रकाशित मिति: : 2020-01-13 02:19:42

प्रतिकृया दिनुहोस्