युवकको खुर्पा प्रहारबाट प्रहरीसहित चार घाइते

खुर्पा प्रहार गर्दा प्रहरीको सिआरभी भ्यानको सिसा फुट्नाका साथै सञ्चार सेटमा समेत क्षति

सांकेतिक तस्बिर

भक्तपुर नगरपालिका–१० स्थित दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन्।

घाइते हुनेमा सोहि नगरपालिका कमलविनायकमा बस्ने ६० वर्षीया भुनामाया थापा, ४५ वर्षीया राजमती ज्याकिबन्जारलगायत महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हबल्दार जितेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठ रहेका छन्।

जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ।

खुर्पा प्रहार गरी भाग्दै गरेका विकलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा२झ १८५ नंको प्रहरीको सिआरभी भ्यानको सिसा फुट्नाका साथै सञ्चार सेटमा समेत क्षति पुगेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।

पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको र घाइते थापा र ज्याकिबन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरी गोलेले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-13 01:33:25

प्रतिकृया दिनुहोस्