जङ्गेले बोेलेपछि बोल्यो बोल्यो हुने नेपालमा ओलीले बोलेपछि बोल्यो बोल्यो !
नेपाललाई असफल राष्ट्र बनाउने प्रयास यो वा त्यो नाममा जारी छ। यो प्रयास शक्ति नहुनेहरूबाट हुने हैन, शक्ति हुनेबाट नै हुने हो। समृद्ध नेपाल, सुखी नेपालीको नारा दिए पनि व्यवहार देख्दा लाग्छ, मुखमा रामराम बगलीमा छुरा भैरहेको छ।
यसका लागि सबैभन्दा ठूलो प्रयत्न सत्तारूढ दलका नम्बर १ अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबाटै भैरहेको छ। उनले जसरी शक्ति आफूमा केन्द्रित गर्ने प्रयत्न गरिरहेका छन्, त्यसबाट उनमा जंगबहादुरको भूत सवार भैसकेको जस्तो देखिन्छ। जब मान्छे सबै शक्ति आफूमा केन्द्रित गर्ने लोभ राख्छ, उसले आफ्नो स्वार्थका लागि बाँकि केही राख्दैन।
ओलीको राजनीति जीवनको सुरूवाती दिनदेखिका घटनाक्रमलाई नियाल्ने हो भने ओली आफ्नो स्वार्थसिद्ध गर्न जे पनि गर्न तयार रहदै आएका एक चतुर राजनीतिक खेलाडी हुन्।यसको दृष्टान्त हेर्न टाढा जानै पर्दैन, ओलीले एमालेको अध्यक्ष र संसदीय दलको नेता हुन राजनीतिका अर्का हुस्सु खेलाडी बामदेवलाई दुईपटक भर्याङ बनाए। नेकपा बनिसकेपछि पनि आलोपालो प्रधानमन्त्रीको सौदाबाजी गरेर प्रचण्डलाई थाङ्नामै सुताए।
घटनाक्रमले के देखाइरहेको छ भने, खड्गप्रसाद शर्मा ओली सबै शक्ति आफूमा केन्द्रीत गरेर नयाँ जंगबहादुर बन्न चाहन्छन्। तर, दुर्भाग्य यसरी सारा तिकडम लगाएर जंगबहादुर बने पनि उनको स्वास्थ्यले भने उनलाई साथ दिइरहेको छैन।
पार्टी र सरकारको बागडोर आफ्नो हातमा लिएपछि अब उनी यति शक्तिशाली भैसके कि उनी केही पनि कसैलाई दिनै चाहदैनन् । आफ्नालाई पुगेर उब्रेको पनि कसैलाई दिदैनन् । उनलाई थाहा छ, त्यसो गर्दा त्यो उब्रेको पनि अर्को शक्ति बनेर उनलाई अप्ठ्यारोमा पार्न सक्छ। त्यसको पछिल्लो दृष्टान्त उनका दुई जोजोम्यान भानुभक्त ढकाल र गोकुल बास्कोटालाई समाजवादीले छोडेका दुई मन्त्रालय थपिदिनु हो। जबकि, बास्कोटालाई थपिदिएको सहरी विकास मन्त्रालयमा अहिले पनि नेकपाकै रामबीर मानन्धर राज्यमन्त्री छन्।
नेकपा मूलत: एमाले माओवादीको एकीकृत रूप भए पनि यी दुई माउ नै अनेकौ गुटका गठजोड हुन्। यो यथार्थ हो तर पछिल्लो समय राज्यसत्तामा ओलीको पकड राख्ने भोक देख्दा लाग्छ, अरू सबै थपना मात्र हुन्।
अहिलेको राज्य सन्यत्रका प्रमुख हेरौ न, राष्ट्रपति विद्यादेवी भण्डारी उनकै गुटकी हुन्, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उनकै गुटका हुन् , सभामुख महरा उनका गुटका थिएनन्, उनलाई पनि केही आफ्नै कुबुद्घि लाग्यो, केही ओलीको अदृश्य जोरजुलुम लाग्यो। कसरी लाग्यो, त्यसको अन्वेषण समयक्रममा होला नै।
अब उनी सभामुख पनि आफ्नै मान्छे हुनुपर्यो भनेर जोरजुलुममा लागेका छन्। उनले प्रचण्डलाई सिधै भनेका छन्, 'सभामुखबाट सरकारलाई सहयोग पुग्छ भन्ने के ग्यारेन्टी छ? सरकार चलाउने म, मलाई रोजेको मान्छे चाहिन्छ।'
अहिलेको सर्वोच्च अदालतमा पनि उनले सेटिङ गरिसकेका छन्। प्रधानन्यायाधीश राणा पनि अरूमा आफ्नो, ओलीकोमा ओलीकै चल्ने शर्तमा त्यहाँ छन्। संवैधानिक परिषदमा रहेका विपक्षी दलका नेता शेरबहादुर देउबाको कमजोर कडी उनकी सासु बनेकी छिन्। उनको राजदूत पद जोगाउन देउबा जे पनि गर्न तयार छन्।
ओली र उनको किचन क्याविनेटको काम नै सबैको कमजोरी पत्ता लगाउनु र त्यहीमाथि खेलेर शक्ति आर्जन गर्नु हो। उनीहरूलाई कोसँग कसरी खेल्नुपर्छ, खुराफाती राम्ररी आउँछ।
आज नेपालमा यो वा त्यो नाममा खड्गप्रसाद शर्मा ओलीको देवत्करण गर्ने काम जारी छ। उनले छोएपछि अयोग्य पनि योग्य हुने, भ्रष्टाचारी पनि सदाचारी हुने, राजावादी पनि गणतन्त्रवादी हुने अचम्मको डक्ट्रिन बनाउने काम भैरहेको छ।
प्रचण्डलाई बुहारीलाई निकालीदिउ भनेपछि पुगिहाल्छ, नारायणकाजी गिरिराज हटाइदिउँ भनेपछि थान्को लागिहाल्छन् । रामबहादुर आफ्नै गृहमन्त्री जोगाउन जे गर्न पनि तयार हुन्छन्। प्रचण्डको सिफारिसमा मन्त्री भएर बचेका त ओलीतिरै ढल्किसके। यसरी एकपछि अर्को गरेर शक्तिक्षय भएर बुहारीको मन्त्री पद बचाउन पनि प्रचण्ड सामर्थ्य नहुने स्थिति भैसक्यो। शक्ति छैन भन्ने थाहा भएपछि कसले पुछ्ने नेपालमा ?
ओली र उनको किचेन क्याविनेटलाई कसलाई कुन समयमा कति मुठा घाँस हाल्नुपर्छ भन्ने पनि राम्ररी थाहा छ। उनीहरूले ओलीका आलोचक रहेका घनश्याम भुसाल र योगेश भट्टराईलाइ पनि मन्त्रीको घाँस हालेर अहिले ओलीकै जयजयकार गाउँने बनाइ सके।
नेकपा साँच्चै भन्ने हो भने कम्युनिष्ट चरित्रको स्खलन गर्ने मेशिन जस्तै छ। यसमा कोही कसैको मान्छे नभइ आफ्नै क्षमताको भरमा माथि पुग्न असम्भव छ । नेकपामा खासगरी पूर्व् एमालेमा पत्रकारको भूमिकामा रहेकाहरू कुनै न कुनै नेताको फेर र श्रीमतीको सारीको सप्को समातेर शक्तिमा पुगेका छन्।
जब सिद्धान्त गौढ हुन्छ, पार्टी प्रधान हुदैन र व्यक्तिको पछि लागेर उसलाई नै बलियो बनाउने प्रयत्न हुन्छ, त्यसबाट जन्मिने भनेको त जंगबहादुर, हिटलर र मुसोलिनी नै हो । अहिले नेकपा बलियो बनाउन को लागेको छ र ? सबै व्यक्ति बलियो बनाउन नै लागेका छन्।
त्यस दौडमा सबैभन्दा माथि छन् खड्गप्रसाद शर्मा ओली । अब सभामुख पनि उनको जोजोम्यान भए भने उनी नेपालका आधुनिक जंगबहादुर बन्नेछन्। त्यतिबेलाका जंगबहादुर त त्यस्ता बने भने यतिबेलाका जंगबहादुर कस्ता बन्लान् ? यी जंगबहादुरलाई नेपाल र नेपालीले खप्न सक्लान् ?
अहिलेको ज्यूँदोजाग्दो प्रश्न नै यही हो ।