कथा
आज बिहानैदेखि त्यसै त्यसै दिक्क लागिरहेको छ। केही काम पनि गर्न मन लागिरहेको छैन। अफिसमा पनि शुक्रबार भएकोले खासै काम छैन। त्यत्तिकैमा मोबाईलमा बजेको घण्टीले मेरो दिकदार भएको दिमागलाई बिथोल्यो।
रियाले गरेकी रहिछे। उफ् ! फेरि के समस्या लिएर मेरो सामू उपस्थित हुन लागि? यसै पनि मेरा अधिकांश साथीले मलाई भगवान् जस्तै सोच्छन्, जब उनीहरुलाई केही समस्या पर्छ तब मात्रै सम्झिन्छन्। जति इग्नोर गरे पनि फोनको घण्टी बजेको बज्यै गरेपछि उठाउन बाध्य भएँ। ‘हेलो स्नेहा ! कहाँ छौ? भोलि मेरो घरमा आउ न जरूरि काम छ तिमीसँग,’ मैले केही बोल्न नपाई उ आफैंले फेरि भन्न थाली, ‘मेरो एक जना दाइ हुनुहुन्छ, ठूलो ममिको छोरा, उहाँले तिमीसँग भेट्न खोज्नुभएको छ।’
हरे ! अब यसले पनि मेरो लागि केटा खोज्न थाली। यसै पनि मेरो लागि थुप्रै विवाहका कुराहरु आईरहेका छन्। स्वभाविक नै हो २०-२५ वर्षको उमेरमा कुरा आउनु। तर, खै भाग्यभन्दा अगाडि र भाग्यमा भन्दा धेरै कसैले पाउँदैन। अनि जसको भाग्यमा जो लेखेको छ उसले उही नै पाउँछ। यदी एउटाको भाग्यमा लेखेको अर्कैले पायो भने जीवको रथ अगाडि गुड्न सक्दैन।
म यस्तै यस्तै सोचमा हराईरहेकी थिएँ। रियाले फेरि ‘भोलि जसरी पनि आउ है बाई!’ भनेर फोन राखी हाली। यसै पनि अरुको कुरा सुन्ने रियाको बानी छैन। ऊ साथी भन्दा पनि बढी मेरो जासुस जस्ती छे। म कहाँ जान्छु, कोसँग बोल्छु सबै कुराको जानकारी हुन्छ उसलाई। तर मलाई यस्ता कुराहरुले केही असर गर्दैन। यसै पनि हेलो, हाई र बाईमै यस्ता मित्रताका सम्बन्धहरु सिमित राख्ने गरेकी छु।
रियाले मात्रै बोलाएकी भए म पक्कै पनि उसको घर जाने थिईनँ। तर, यसपटक मसँग कहिले बोलचाल नभएको उसको ममीलेसमेत मलाई बोलाउनुभयो। उहाँको कुरा नकार्न सकिनँ। तर, मनमा कुरा खेलिरह्यो।
उमेरले रजत ज्यन्ती मनाईरहँदा जीवनले थुप्रै हण्डरहरु खाईसकेको थिएँ। ममि ड्याडीको एक्ली छोरी। उहाँहरुको हरेक इच्छा र आकांक्षा पूरा गर्नु मेरो दायित्व थियो। संसारमा सबैभन्दा ठूलो सफलता भनेकै आफ्नो बुवाआमाको आँखामा खुशी देख्नु र त्यो खुशीको कारण आफू हुनु हो।
म त्यही खुशी मेरो ममि र ड्याडीको आँखामा ल्याउन प्रयत्न गरिरहेकी थिएँ तर जीवन त यसै पनि अनेपेक्षित छ। मेरो जीवनमा पनि खुशी ल्याउँदा ल्याउँदै कालो बादल मडारियो।
घाम लागेको सुन्दर जीवनमा अचानक हावाहुरी चल्यो जब मैले ममी ड्याडीको ईच्छा विपरित गएर विराटसँग विवाह गर्ने निर्णय गरेँ।
ममी ड्याडीले सम्झाउँदा, हप्काउँदा केही गर्दा पनि मैले आफ्नो जिद्दी नछोडेको देखेर अन्त्यमा मेरो विवाह विराटसँगै गराईदिन सहमत हुनुभयो उहाँहरू। स्कूल लेभलदेखि कलेज लेभलसम्म सँगै पढेको विराट जीवनको एउटा बिन्दुमा पुगेर मेरो श्रीमान होला भनेर पनि मैले सोचेकी थिईनँ।
सानैदेखि सँगै पढेको हुनाले विराटको घरपरिवारको बारेमा मलाई राम्रोसँग थाहा थियो। मलाई मात्रै हैन बुवाआमालाई पनि उसको परिवार, खानदानको बारेमा राम्रोसंग थाहा थियो। आर्थिक अवस्था खासै बलियो नभएको कारणले पनि बुवाआमा मेरो ईच्छा विपरित हुनुहुन्थ्यो। तर अन्त्यमा जीत मेरै भयो। दुई परिवार बिच विराट र मेरो विवाह पक्का भयो। कुरा चलेको एक महिना पनि नबित्दै उसको र मेरो विवाह भयो।
विराटको घरमा मलाई गएकै दिनदेखि निकै सकस भयो। जति साँघुरो घर उति साँघुरो मन थियो विराटको परिवारको। विवाह भएको एक हप्तासम्म महभन्दा मिठो बोल्ने बिराटले विवाह भएको दोस्रो हप्तामा प्रवेश गर्न नपाउँदै तिते करेला जस्तै तितो बोल्न थालिसकेको थियो।
बिहान घाम नउदाउँदै काम छ भनेर जाने विराट घरका सबै परिवार सुतिसकेपछि चुक घोप्टेको जस्तै अन्धकार रातमा आउँथ्यो। बाहिरै पेट भरेर आउने विराटलाई उसको घरको श्रीमती भोकै छे कि थकित छे केही मतलव हुँदैन थियो। बस् आफ्नो स्वार्थ पूरा गथ्र्यो अनि सुत्थ्यो।
कुनै दिन उसले भनेको जस्तो भएन भने उ ममाथि हात समेत उठाउँथ्यो। यो बिचमा मैले आमाबुवा कहाँ जान समेत छोडिदिएकी थिएँ। कसरी जान्थें म मुखभरी निलडाम लिएर उहाँहरुको सामू। गल्ती गरेपछि सजाय त मैले पाउनु नै थियो।
जसोतसो विराटसँग एक वर्ष बित्यो। एकवर्ष भईसक्दा पनि उसले बच्चा जन्माउने कुरा गर्दा पछि पछि भन्दै टारिरहेको थियो। उसले जे भन्यो त्यही गर्यो भने उ खुशी हुन्थ्यो नत्र उसको हात मेरो गालामा बजारिन्थ्यो। सहँदा सहँदा मेरो सहनशिलताले पराकाष्ट नागिसकेपछि एक विहान जब विराट घरबाट निस्किएर काममा गयो मैले चिठ्ठी लेखेर त्यो घर छोडिदिएँ।
परिवारको सदस्यमा त्यो घरमा विराट, विराटको बुवा, आमा, दिदी दाइ भाउजु सबै त्यसै घरमा भए पनि मेरा लागि कोही थिएनन्।
प्यारो विराट
जीवनको यो एक वर्षको यात्रासम्म आईपुग्दा म कहिल्यै तिमीसँग खुशी भईनँ। न त तिमी नै मसँग खुशी भयौं। जीवन एकपटक मिल्छ त्यसैले तिमी जोसँग खुशी हुन्छौ उसैसँग बस। मलाई जसरी मानसिक र शारीरिक यातना कसैलाई नदेउ। तिम्रो परिवारको हरेक खुशीको ख्याल राख्दाराख्दै मेरो खुशी कता गयो मैले पत्तै पाईनँ। अबको जीवन म आफ्नो लागि बाँच्न चहन्छु। त्यसैले यो नर्कजस्तो जीवनबाट मलाई मुक्ति देउ।
स्नेहा
यति लेखेर उसको बेड साईड टेबलमा राखेर म हिँडे। बुवाआमालाई केही दिन अगाडिमात्रै मैले विराटको कर्तुतको बारेमा सबै भनेकी थिएँ। म खालि त्यो घरबाट निस्किने मौका मात्रै खोजिरहेकी थिएँ। त्यसपछि विराट र मेरो सम्बन्ध विच्छेद भयो।
***
फोनको घण्टीले म झसंग भएँ। विगत सम्झिँदा सम्झिँदै आँखा भिजिसकेछ। रियाले नै गरेकी रहिछे। उसलाई भोलि आउने आश्वासन दिएर म अफिसबाट घरतिर लागेँ। रियाले गरेका कुराहरु सबै घरमा सुनाएँ। ममिले सम्झाउँदै भन्नुभयो, ‘आफ्नो जीवन कसैको कारणले रोकिनु हुँदैंन, एकपटक गएर भेट रियाको दाइलाई।’
भोलिपल्ट शनिबारको दिन रियाको घर गएँ। रियाको ममी बुवा सबै निकै मज्जाको लाग्यो। एकछिन गफ गरेपछि कोही अपरिचित मान्छे रियाको घरमा आयो। मलाई अनुमान लगाउन गाह्रो भएन ऊ नै रियाको दाइ हो भनेर।
कालो कालो अनुहार अनि दुब्लो शरीर लगभग २२ वर्षको केटा। उमेरले मभन्दा सानो, विराटनगर घर भएको सुभम यादवलाई देख्ने बित्तिकै मेरो मन खिस्रिक्क भयो। रियाले कस्तो केटा खोजी मेरो लागि भनेर रीस पनि उठेको थियो। तर, जब उनीहरुले शुभमलाई र मलाई कुरा गर्न एकान्तमा छोडिदिए तब मलाई शुभमको बोलीहरु मिठो लाग्न थाल्यो।
त्यहीबाट सुरु भयो शुभम र मेरो प्रेम सम्बन्ध। जुन रियासँग मलाई धेरै रिस उठ्थ्यो म उसैप्रति आभारी हुन थालेँ। मैले शुभमलाई सुरुकै दिन आफ्नो विगतको बारेमा सबै भनिदिएँ। किनभने मलाई विगत लुकाएर वर्तमान सजाउनु थिएन। शुभमले कुनै प्रतिकार नगरेपछि म ढुक्क भएर घर फर्केँ। धेरैपछि मन हलुका भयो। घर पुगेर सबै बेलिबेस्तार लगाएँ।
विराटले उजाडिदिएको ममी ड्याडीको अनुहारमा शुभमको कुराले फेरि चमक ल्याईदियो। शुभम र मेरो सम्बन्ध झाँगिदै जान थालेपछि रियासँग मेरो सम्बन्ध धमिलिदैं जान थाल्यो। रिया मसँग शुभमको बारेमा भए नभएको कुरा गर्थी। मलाई यस्तो लाग्न थाल्यो कि जुन मानिसहरुले पूलको काम गरेर मलाई र शुभमलाई भेटाएका थिए उही मानिसहरु पर्खाल बनेर उभिएका थिए।
मैले शुभमसँग विवाहको कुरा गरेँ। उसले दाइ भाउजुसँग कुरा गरेर खबर गर्छु भन्यो। मलाई शुभमको धेरै माया लाग्न थाल्यो। तर, जब जब म रिया र उसको ममीसँग कुरा अगाडि बढाउन भन्थेँ उनीहरु केही न केही बाहना बनाईरहन्थे। अनेक बाहना बनाएर मसँग पैसा माग्थे। म आफैं त अरुको साहरामा बाँच्ने मान्छे कसरी उनीहरुलाई पैसा दिन सक्थेँ र।
मैले अरुलाई आफ्नो माध्यम नबनाई आफैंले शुभमसँग कुरा अघि बढाउन खोजेँ। तर, ऊ दाइ भाउजुको विरुद्धमा जान चाहदैंन थियो। बल्ल बल्ल केही महिनाको संर्घषपछि शुभमले दाइ भाउजुलाई मनाएरै छोड्यो। शुभमले जसरी भए पनि मसँग विवाह गर्ने बाचा गर्यो।
विवाह गर्ने बाचा गरेको शिवम त्यसको तीनदिनपछि अचानक सम्पर्कविहिन भयो। फोन उठाउन छाडिदियो अनि म्यासेज पनि गर्न छोडिदियो। उसले रिप्लाई नगरे पनि म लगातार उसलाई म्यासेज पठाई नै रहन्थेँ।
एक महिनापछि शुभमले एउटा म्यासेज गरेर मलाई भेट्न बोलायो। म सपनाहरु बुन्दै उसलाई भेट्न गएँ। उसले भेटेर कफि पिउँदै भन्यो। ‘म घरको कान्छो छोरा हुँ। मेरो दाइ भाउजुलाई मैले हाम्रो सम्बन्धको बारेमा बिस्तारै मनाउँदै छु। तर यो बिचमा तिम्रो जीवनमा कोही आयो भने उसैसँग विवाह गर। तिम्रो डिभोर्स भएको कुरा मैले घरमा बिस्तारै भनौंला भनेर सोचेको थिएँ। तर, मैले भन्नुभन्दा अगाडि अरु कसैले त्यो कुरा मेरो दाइ र भाउजुको कानमा पूर्याइदियो। यो सुनेर मेरो दाइ भाउजुले हाम्रो सम्बन्ध स्वीकार्नु भएको छैन। हेरौं अब के हुन्छ।’
उसको कुरा सुनेर यस्तो लाग्यो कि मानौं मैले पिइरहेको कफि मेरै टाउकोमा घोप्टियो। मेरो आँखाबाट आँशु झर्नझर्न खोज्यो। कति उदेकलाग्दो छ हाम्रो समाज।
डिभोर्स भएको पुरुषले कुमारी केटी विवाह गर्दा पनि हाइ हाइ अनि डिभोर्स भएकी महिलाले कुनै पुरुषलाई मन पराउनु पनि अभिसाप। शुभमले घरसम्म छोडिदिएर बाईक गुडाउँदै गयो तर मेरो मन उसको पछि लागेर गयो।
करिब तीन महिना संर्घष गर्दै शुभमले आफ्नो दाइ भाउजुलाई बडो मुस्किलले मनायो। थाहा छैन शुभम खुशी भयो कि भएन। तर, आफ्नो जीवनमा उसलाई पाएर म साच्चै खुशी भएँ। हामीलाई छुटाउन लाखौं कोशिश गर्नेहरु हाम्रो विवाहदेखि अप्रशन्न भए पनि म शुभमलाई पाएर प्रशन्न भएँ। फेरि हारे हामीलाई लडाउन खोज्नेहरु, अनि प्रेमको लागि लगातार लड्ने शुभम र मेरो जीत भयो।