सामान्यतया: १८ महिनाको बच्चा तोतेबोली बोल्दै फाट्फुट हिँड्ने भइसकेको हुन्छ। तर उनी न त घरका कोठा-कोठा भुन्टुङ्–भुन्टुङ् गर्दै हिँड्छन्, न त उनी तोलेबोली बोल्दै आमाको काखमा लुट्पुटिन्छन्।
शायद उनी निको भएका भए उनी पनि उस्तै चुलबुले हुन्थे होला, अरु सामान्य बच्चाहरु जस्तै। भोक लाग्दा आमालाई सताउँदै काखमा बसेर दूध खान्थे। निन्द्रा लाग्दा रोएर आमा-बुवालाई पिरोल्थे। अफसोच, उनीमा यस्ता खालका कुनै पनि बचपना देखिँदैन।
उनको घरको बैठक कोठामा राखिएको टिभीको टेबल माथि छन् रिहान न्यौपानेका साना जुत्ता, जुन उनले लगाउन पाएका छैनन्। शायद अब रिहानले ती जुत्ता कहिल्यै लगाउन पाउने छैनन्।
रिहानका रात दिन उस्तै छ। न उनलाई भोक लाग्छ, न निद्रा, न हाँस्छन्, न रुन्छन्। मात्रै उनी जीवित छन् भन्ने मात्र छ उनको परिवारलाई। उनी निर्जीव वस्तुझैँ मात्र सुतिरहन्छन्। रिहानकी आमा एकता घिमिरे र बुवा सञ्जीव न्यौपानेलाई राम्रोसँग थाहा छ, अब उनीहरुको छोरा मात्र केही दिनको पाहुना हो।