बलात्कार मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ

बालिकामाथि बलात्कार गरेको घटनामा सर्वोच्च अदालतले डेढ वर्षअघि दोषी ठहर गरे पनि फरार रहेका एक जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय यामबहादुर सार्की रहेका छन्। 

बालिकामाथि बलात्कार गरेको घटनामा सर्वोच्च अदालतले दुई वर्ष छ महिना कैद सजायको फैसला गरे पनि फरार रहेका सार्कीलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो।

पथरीका डीएसपी दिलिप गिरीकाअनुसार सार्की विरुद्ध सर्वोच्च अदालतले २०७५ साल असार २६ गते कैद सजायको फैसला सुनाएको थियो। अदालतले दोषी ठहर गरे पनि उनी खुलेआम हिंडडुल गर्ने र ट्याक्टर लगायतका ढुवानीका साधानमा काम गर्ने गरेको पाइएको छ। 

डीएसपी गिरीले ट्याक्टरमा गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा कानेपोखरीकै चिसाङ खोलाबाट पक्राउ गरिएको जानकारी दिए। प्रहरीलाई देखेपछि भागेका सार्कीलाई लखेट्दै लगेर केही पर पु¥याएपछि पक्राउ गर्न सकिएको उनको भनाइ छ। 

पक्राउ गरिएका गिरीलाई बिहीबार जिल्ला अदालत मोरङमा पेश गरिएको र अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-01-10 00:15:36

प्रतिकृया दिनुहोस्