कांग्रेसको अस्तित्व संकटमा पर्ने जोखिम

भागबन्डामा होइन विधानको मर्यादा राखेर विवाद टुंगियो भनेमात्र कांग्रेसको लोकतान्त्रिक छवि कायम रहन्छ ।

सम्पादकीय

काठमाडौं

 संगठनको सिद्धान्त र नेताको आचरण मिलेन भने विसंगति र विकृति बढ्छ । नेपाली कांग्रेसमा केही वर्ष यता देखिएको भद्रगोलले यसको पुष्टि गरेको छ । अल्पमत पक्षले पार्टी महाधिवेशनको  मिति ढिलो तय गरिएको र क्रियाशील सदस्यतासम्बन्धी विधानका धारा निलम्बन गर्ने केन्द्रीय समितिको बहुमतको निर्णय विधानको मर्मविपरीत रहेको भन्दै असहमति प्रकट गरेको छ । कांग्रेस केन्द्रीय समितिले पार्टीको आगामी महाधिवेशन २०७७ साल फागुन ७ गते बोलाउने निर्णय गरेको छ । केन्द्रीय समितिको पदावधि यही फागुनमा समाप्त हुन्छ । महाधिवेशन त्यस अगावै गरिसक्नुपर्थ्यो । अहिले महाधिवेशनको मिति ढिलो तोकियो भन्नेहरूले पनि बेला छँदै  दबाब दिएनन् । उनीहरूको ध्यान भागबन्डामा सीमित भयो । मिति तोकिने बेलामा उनीहरूले केन्द्रीय समितिको बैठक बहिष्कार गरे । आफ्नो कब्जामा नहुने हो भने पार्टी नै नरहोस् भनेजसरी सभापति देउवाले अर्को पक्षमात्र होइन पार्टी नै अक्करमा पर्नेगरी मिति तोके ।  उनले बेला बित्‍ने जोखिम हुनेगरी  महाधिवेशनको मितिमात्र तोकेनन् संगठनको सबैभन्दा महत्त्वपूर्ण क्रियाशील सदस्यतामा पनि कब्जा जमाउन सजिलो हुनेगरी विधानका धारा निलम्बन गर्ने निर्णय गरे । 

प्रकाशित मिति: : 2020-01-09 20:51:36

प्रतिकृया दिनुहोस्