इरानलाई यसरी घेरेको छ अमेरिकाले, खाडीमा मात्र सय बढी सैन्य बेस 

अमेरिकाको सैन्य बेस बहराइन, इराक, जोर्डन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स र अफगानिस्तानमा छ।

बिएल संवाददाता

वासिङटन डिसी

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यति बेला खाडी देशमा १ लाख २० हजार अमेरिकी सेना पठाउने योजना बनाइरहेको छ। इरानसँगको तनावका बीच अमेरिकाले हालै ३ हजार ५ सय सेनालाई खाडीतर्फ पठाएको थियो। 

यति बेला अमेरिकाको सैन्य बेस संसारभरी फैलिएको छ। हाल विश्वमा अमेरिकाको ८ सय सैन्य बेस रहेको पेन्टागनले उल्लेख गरेको छ। सबै बेसबाट अमेरिकाले रक्षा रणनीति तय गर्छ भने चाहेको बेला यहीबाट हमला गर्छ। नभए ती देशलाई निगरानीमा राख्नुका साथै जासुसी गर्ने गरेको छ। 

खाडी देशकै कुरा गर्दा अमेरिकामा सयभन्दा बढी सैन्य बेस छ। जसमार्फत उसले खाडी देशमा रणनीतिक नियन्त्रण गर्छ। सैन्य बेसमा करिब ७० हजार जवान सक्रिय छन्। 

अमेरिकाको सैन्य बेस बहराइन, इराक, जोर्डन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स र अफगानिस्तानमा छ।

बहराइनमा मात्र अमेरिकाको ७ हजार जवान सक्रिय छन्। जहाँ नौसेनाका जवान सर्वाधिक उपस्थित छन्। यो फारसको खाडीमा शेख इसा एयर बेस र खालिफा इब्न सलमान पोर्टमा तैनाथ छ। 

यस्तै, इराकमा ५ हजार २ सय जवान सक्रिय छन्। यिनलाई आइएसआइएससँग लड्न तयारी अवस्थामा राखिएको हो। 

जोर्डनमा सक्रिय २ हजार ७ सय ९५ सेनालाई आइएसआइएसविरूद्ध लड्न तयारी अवस्थामा राखिएको छ। उनीहरूको उद्देश्य क्षेत्रीय स्थिरतालाई कायम राख्नु पनि हो। कुवेतमा १ हजार ३ सय अमेरिकी सेना अग्रिम सैन्य हेडक्वार्टरमा छन्। ओमानमा १ हजार  ९ सय ८० देखि दुई हजारको हाराहारीमा सेना रहेको बताइएको छ। आइएसआइएससँग लड्न उनीहरू साल्लाह र ड्युक पोर्टमा सक्रिय छन्।

कतार अमेरिकाको सहयोगी देश हो। यहाँ अमेरिकाका करिब १३ हजार सेना सक्रिय छन्। यी सबै सेना अल उदिद एयर बेस र सायलिह क्याम्पमा बसोबास गर्छन। साउदी अरबमा पछिल्लो वर्ष १९ नोभेम्बरमा अमेरिकाले ३ हजार सेना पठाएको थियो। 

अमेरिकाको मध्य कमाण्डले सिरियामा रहेका सैनिकको यथार्त विवरण सार्वजनिक गरेको छैन। तर, मिडिया रिपोर्टमा त्यहाँ पनि २ हजार सेना सक्रिय छ। 

टर्कीमा पनि अमेरिकी सेना इजमिर र इनरलिक एयरबेसमा सक्रिय छन् तर उनीहरूको पनि संंख्या स्पष्ट छैन। 

अमेरिकाले युएईमा स्ट्रेट अफ हार्मुज नजिकै ५ हजार सेना जम्मा गरेको छ। अमेरिकाले अफगानिस्तानमा १४ हजार जवान राखेको छ। जहाँ ८ हजार नाटोका सेना पनि समावेश छन्। 
 

प्रकाशित मिति: : 2020-01-09 07:10:17

प्रतिकृया दिनुहोस्