सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा मंगलबार बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदा रहेका छन् भने घाइते हुनेमा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनको एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात रहेका छन्।
सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियोले सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा पर्ने घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।