राष्ट्रियसभा निर्वाचन: प्रदेश २ मा तामझामका साथ उम्मेदवारी दर्ता

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा तामझामका साथ दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।  

प्रदेश २ मा सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरी संयुक्त उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय धनुषामा ‍र्यालीसहित पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।  

राष्ट्रियसभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन हुन लागेको हो। नेकपा र राजपाको गठबन्धनबाट अल्पसंख्यकबाट शेखरकुमार सिंहले उम्मेदबारी दिएका छन्। यो गठबन्धनबाट महिला सदस्यमा पदमा नेकपाकी तुलसा दाहालले उम्मेदवारी दिएकी छिन्।

दलित सदस्य पदमा राधेश्याम पासवानले यो गठबन्धनबाट उम्मेदबारी दिएका छन्। अन्य खुल्ला सदस्यमा गठबन्धनबाट मृगेन्द्रसिंह यादवले उम्मेदवारी दिएका छन्।

कांग्रेस–समाजवादी गठबन्धनबाट अल्पसंख्यक पदमा कांग्रेसका भोला पञ्जियारको उम्मेदवारी परेको छ। महिला सदस्य पदमा कांग्रेसकै नगीना यादवको उम्मेदवारी परेको छ।  दलित सदस्य पदमा समाजवादी पार्टीका रामप्रित पासवानको उम्मेदवारी परेको छ  खुल्ला अन्य पदमा समाजवादी पार्टीका अनिरुद्व यादवले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश २ मा जम्मा ३ सय ७९ जना मतदाता छन्।

कुल मतदातामध्ये नेकपा र राजपाको स्पष्ट बहुमत रहेको छ।

प्रकाशित मिति: : 2020-01-06 11:12:44

प्रतिकृया दिनुहोस्