केन्यामा पनि अमेरिकी बेस क्याम्पमा हमला

अमेरिकी सैन्य अधिकारीले पुष्टी गरेको खबरअनुसार केन्यामा हमला भएको घरमा अमेरिकी सैन्य अधिकारी बसोबास गर्थे। 

अमेरिकाको केन्यास्थित सैनिक क्याम्पमा आतंकवादी हमला भएको छ। अमेरिकाले इरानका आर्मी प्रमुख कासिम सुलेमानीको ट्रोन हमलाद्धारा हत्या गरेपछि उत्पन्न परिस्थितिका बीच अमेरिकी सैनिक क्षेत्रमा भएको यो दोस्रो ठूलो हमला हो। 

शनिबार राती इराकको राजधानी बगदादस्थित अमेरिकी सैन्य क्षेत्रमा अज्ञात समूहले मोर्टार र रकेट लञ्चरले प्रहार गरेका थिए। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै आफ्नो सैन्य क्षेत्रमा क्षति पुर्‍याए कडा जवाफी कार्यवाही गर्ने बताइरहेको बेला अर्को हमला भएको हो। 

अमेरिकी सैन्य अधिकारीले पुष्टी गरेको खबरअनुसार केन्यामा हमला भएको घरमा अमेरिकी सैन्य अधिकारी बसोबास गर्थे। 

केन्याको हमलामा सोमाली आतंकवादी समूह अल–सबाबले जिम्मेवारी लिएको छ। उसले अमेरिकी सेनाबाट मानिएका आफ्ना ४ मिलिसियाको बदला स्वरुप कार्यवाही गरेको बताएको छ। 

केन्याको मन्डा बे एयरफिल्डमा भएको हमलाको विषयमा अमेरिकी–अफ्रिकी कमान्डका प्रवक्ताले अमेरिकी न्युज च्यानल एबिसीलाई दिएको प्रतिक्रियामा भनेका छन्, ‘हामी तथ्य संकलन गरिरहेका छौं। सबै कुरा स्पष्ट भइसकेको छैन।’

अमेरिकी अधिकारीले भौतिक क्षतिको विषयमा कुनै जानकारी गराएका छैनन्। आक्रमण भएको ठाउँमा कति अमेरिकी बसोबास गर्थे, त्यो पनि गोप्य राखिएको छ। यसअघि अल–सबाबले विज्ञप्ती सार्वजनिक गर्दै आफ्ना केही लडाकु केन्याको लामु काउन्टीस्थित ‘क्याम्प सिम्बा’ तर्फ अगाडि बढिरहेको जानकारी दिएको थियो। 

गत साता अल–सबाबले मोगादेसुको मुख्य शहरमा कार बम आक्रमण गरेको थियो। जसमा ८० नागरिकले ज्यान गुमाएका थिए। ५ सयको हाराहारीमा रहेको अमेरिकी सेनाले सोमालियामा बसेर आतंकवादी समूहसँग लड्न स्थानीय आर्मीलाई प्रशिक्षण दिँदै आइरहेका छन्। 

प्रकाशित मिति: : 2020-01-06 04:15:51

प्रतिकृया दिनुहोस्