गायक प्रकाश सपूत सद्भावना दूत

बिएल संवाददाता

काठमाडाै‌ं

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो।

गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए।

गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको धारणा राखे। म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु', उनले भने, “मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु। ' भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए। 

'विशेषगरी आन्तरिक पर्यटकलाई गण्डकी प्रदेश भ्रमणका लागि आकर्षित गर्नु मेरो दायित्व हुनेछ', उनले भने, 'विदेशका कार्यक्रममा पनि भ्रमण वर्षको प्रचार गर्छौँ। '

गायक सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन्। केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ।
 

प्रकाशित मिति: : 2020-01-04 01:07:42

प्रतिकृया दिनुहोस्