बाथरुम सिंगरबाट स्टार बनेका दीपक खरेल

नवीन अर्याल

काठमाडौं

२०३४ साल हिप्पीको जमाना। काठमाडौंको झोछें गाँजाका कारण जति बदनाम थियो, त्यति नै संगीतमय थियो यहाँको वातावरण, गितार र अन्य विदेशी धुनका कारण।

त्यसैले संगीतमा झुकाव राखने नेपाली युवा हिप्पी संस्कृतिबाट अछुतो रहन सकेनन्। तर, दीपक खरेल नेपालका चर्चित गीतकार। हिप्पीयुगमा पनि झोछेंको त्यो माहोलबाट नितान्त अलग थिए। कारण थियो, बुवा चन्द्रिकानन्द खरेल।

पेसाले सीडीओ। जसको नामले जिल्ला हल्लिन्थ्यो। उनी आफ्नो एक्लो छोरा दीपकलाई सधैं भन्ने गर्थे, ‘हेर छोरा । गीत गाएर केही हुँदैन। पढाइ भएन भने जिन्दगी बेकार छ।’

घरको यस्तो माहोलमा हुर्किएका दीपकको संगीतयात्रा वास्तवमै रोचक छ। २०३४ सालमा बीकमको अन्तिम परीक्षा दिँदासम्म उनको परिचय थियो,मात्र बाथरुम सिंगरको। आमा भारती खरेल केही हदसम्म छोराको कुरा बुझ्थिन्, साहित्यकार भएको नाताले।

तर, उनी पनि छोरा पढाइ छोडेर संगीततर्फ लागोस् भन्ने चाहन्नथिन्। कारण थियो, त्यति बेला नेपालका कुनै पनि संगीतकारको अवस्था सोचेजस्तो राम्रो थिएन।
यति हुँदाहुँदै पनि दीपकले खिचापोखरीस्थित हारमोनियम माइलाबाट तीन महिना गितार सिके। साथी रञ्जित लामाबाट राम्रो सहयोग पाए।

कलेजबाट पास आउट हुन लागेका थिए, रेडियो नेपालमा ‘भ्वाइस टेस्ट’ को परीक्षा खुल्यो। साथीहरूको करकापमा उनले परीक्षा दिने जोखिम उठाए। आफूलाई बाथरुम सिंगर मान्ने दीपकका लागि त्यति बेलाको समय निकै तनावपूर्ण थियो। त्यसैले उनले परीक्षा दिनुपहिले साथीका आफन्त दामोदर अधिकारीलाई समाते।

दामोदर त्यति बेला रेडियो नेपालका हर्ताकर्ता। उनको आवाज टेपमा सुनेपछि दामोदरले भनेछन्, ‘स्वरमा दम छ। परीक्षा दिँदा फरक पर्दैन।’

त्यसपछि उनी रेडियो नेपालतर्फ लागे। यहाँ नेपाली संगीतका तीन दिग्गज नातिकाजी, शिवशंकर र मीरा राणा अन्तर्वार्तामा बसेका थिए।

‘अ अलिकति नर्भस भएँ। आफूले सुनिरहेका संगीतकर्मीहरू। नारायणगोपालको गीत गाउन दिइयो,’ ४२ वर्षअगाडिको कुरा सम्झँदा अहिले पनि रोमाञ्चि हुने गर्छन् दीपक।

केही दिनमा परीक्षाको नतिजा प्रकाशित भयो। नभन्दै साथीभाइको कुरा सही साबित भयो। उनी पास भए। नतिजा हेर्न रेडियो नेपाल पुगेका दीपक त्यति बेला अवाक् बने, जति बेला द्धारिकालालले उनलाई बोलाउँदै भने, ‘तिम्रो लागि एउटा गीत कम्पोज गरेको छु, गाउने होइन?’

‘म छक्कँ परेँ। कहाँ रिजल्ट हेर्न गएको। गीतको पो प्रस्ताव आयो,’ उनी भन्छन्। गौरी नेवारको शब्दमा द्धारिकालालले संगीत दिएको ‘मैले रचेका गीतहरू, तिम्लाई भनेर नसोध,’ रेडियो नेपालमा रेकर्ड भएको दीपकको पहिलो गीत हो।

उनले यो गीत गाउनुपूर्व द्धारिकालालको जैसिदेवस्थित घरमा एक साता अभ्यास गरेका थिए। त्यति बेला रेडियो नेपालमा हालको जस्तै आधुनिक उपकरणको सुविधा थिएन। एकैपल्ट ‘ओके’ गर्नुपर्ने बाध्यता थियो।

रेकर्डिङ हलमा पनि आठ–दशपल्ट गीत र संगीतको तालमेल मिलाउनु पथ्र्यो।

‘मलाई त्यो दिन अझै याद छ। गीत रेकर्डपछि बिहीबार गीत सुन्नु भनिएको थियो। रेडियो नेपालले बिहीबार बेलुका ६ देखि ७ बजेसम्म नयाँ नेपाली गीत सार्वजनिक गथ्र्यो। म आफ्नो गीत रेडियोबाट पहिलोपल्ट सुन्न बिहानैदेखि आतुर थिएँ,’ उनी बाथरुम सिंगरबाट सुरु भएको आफ्नो संगीतयात्राको कुरा उप्काउँछन्।

उनको पहिलो गीत रेडियोमा बजेपछि घरको माहोल पनि विस्तारै परिवर्तन भयो। पहिले गीतसंगीतमा लागेर छोरा बिग्रिने भयो भन्ने बुवा रेडियोबाट छोराको गीत प्रसारण भएपछि साथीभाइलाई भन्न थाले, ‘छोरोले रेडियोबाटै गायो है।’

तर, यति हुँदाहुँदै पनि उनी आफ्नो छोराको पढाइलाई लिएर चिन्तित नै थिए। बेलाबेलामा भन्ने गर्थे, ‘ठीकै छ, गीत त गाइस् तर यसलाई सोखको रूपमा मात्र राख्।’

२०३५ सालमा दीपक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि भर्ना हुँदा गीतकार भइसकेका थिए। तर, उनको पहिलो गीतले त्यति चर्चा बटुल्न सकेको थिएन। त्यसैले कीर्तिपुरमा उनको खासै चर्चा हुँदैन्थ्यो।

तर, यहीँ अध्ययनरत रहँदा राष्ट्रिय नाचघरमा एक दिन उनको जम्काभेट भयो शम्भुजित बास्कोटासँग। शम्भुजित ‘यो कान्छी छोडेर जान्छे’ गीत रेकर्ड गरेर हिट भइसकेका थिए। उमेर उस्तै, विचार पनि मिल्ने।

त्यसमाथि रेडियो नेपालमा संघर्ष गरिरहेका यी जोडी। कुरा छिटै मिल्यो। केही घण्टाको भलाकुसारीपछि शम्भुजितले प्रस्ताव राखे, ‘मैले एउटा गीतमा संगीत दिएको छु। तिम्ले त्यो गीत गाउनुपर्छ।’

गीतको बोल के थियो दीपकलाई थाहा थिएन। तर, उनले त्यसै मुन्टो हल्लाइदिए। दुई दिनपछि डिल्लीबजारस्थित आफ्नै घरमा शुम्भुजितलाई भेटेपछि बल्ल उनलाई थाहा भयो, गीत रहेछ, ‘तिम्रो त्यो हँसिलो मुहारको।’

जुन गीतका कारण अहिले पनि दीपकको चर्चा हुने गर्छ।

२०३६ सालसम्म नेपालमा स्नातकोत्तर गर्न विद्यार्थीले ‘विकासे मास्टर’ का रुपमा एक वर्ष गाउँ पुगेर अध्यापन गराउनुपथ्र्यो।

‘तिम्रो त्यो हँसिलो मुहारको’ गीत गाएर स्टार बने पनि दीपक आफ्नो अध्ययन पूरा गर्न ‘नेशनल डेभलपमेन्ट सर्भिस’ अन्तर्गत एक वर्ष खोटाङको चिसापानीमा खटिएका थिए।

त्यति बेला टेलिभिजनको जमाना थिएन। दिनहुँ उनको गीत रेडियोबाट पाँचपल्ट बज्ने। चिसापानीवासीका लागि दीपक फिल्मका कुनै स्टारभन्दा कम भएनन्। उनी जता गयो, गाउँलेहरू पछ्याउँदै त्यतै।

गाउँमा छोरीलाई पढाउने चलन थिएन। स्वास्थ्यको समस्या उस्तै। तर, दीपकको आगमनले गाउँमै तरंग ल्यायो।

गाउँमा आफ्नो स्वरका सयौं पागल भेटेपछि दीपकलाई लागेछ, पढाइमा त्यस्तो के जादु छ? जुन संगीतमा छैन!

काठमाडौं फर्किदा गाउँलेको व्यवहारले बहकिएका दीपककोे दैनिकी नै बन्यो, गितार बोकेर हिँड्ने। घर र पढाइका लागि उनीसँग समय थिएन।

उनको ताल देखेर सीडीओ बुवाको पारा छुटेछ। एक दिन छोरालाई मज्जाले हप्काएछन्, ‘हेर बा, यसरी बरालिएर हिँडेर हुदैन। को खुसी छ, यस फिल्डमा?’

बाबुको संकेत बुझेपछि दीपक पुनः पुरानै अवस्थामा फर्किए। यसबीच उनले प्रकाश गुरुङको अर्को चर्चित गीत ‘सुनसान रात’ गाउन भ्याइसकेका थिए। यो गीत पनि यति चर्चित बन्यो, त्यति बेलाका युवा गितारको झ्याङझ्याङसँगै बाटोमा गुनगुनाउँदै हिँड्थे।

दीपकले २०३७ सालमा लोकसेवा आयोगको परीक्षा दिए। त्यसपछि उनी सरकारी सेवामा आबद्ध भए। २०४२ सालमा अर्ध मन्त्रालयबाट काठमाडौंबाहिर सरुवा नहुन्जेल उनले आफ्नो गीतियात्रालाई कायम राखे।

यसबीचमा उनले ५० भन्दा बढी गीत गाए, जसमा ‘पूर्णिमाको रात पनि,’ ‘प्रतिक्षा गर मेरी मायालु,’ ‘तिम्रो हरेक प्रश्नको,’ र ‘बादल बनाइदेऊ’ जस्ता कालजयी गीत पर्छन्।

‘म कर्मचारीको रूपमा जिल्लामा खटिँदा पनि मेरो गीत रेडियोबाट गुञ्जिरहन्थ्यो। त्यसैले कहिल्यै महसुस गरिनँ, म लामो समय यस क्षेत्रबाट बाहिर बसेँ भनेर’, हाल सरकारी जागिरबाट सेवानिवृत्त भएका दीपक भन्छन्।

उनले हालसम्म ३ सय ५० भन्दा बढी गीत गाइसकेका छन्।

दीपकलाई नारायणगोपालसँग गीत गाउन नपाएकोमा अझै चुकचुकी लाग्छ। ‘पूर्णिमाको रात’ र ‘तिम्रो त्यो हँसिलो मुहार’ सुनेपछि नारायणगोपालले एक दिन उनलाई घरमै निम्तो गरेका थिए।

‘भाउजू पनि मेरो फ्यान हुनुहुँदो रहेछ। भन्नुहुन्थ्यो– तिम्रो स्वर मन पर्छ,’ उनी विगत सम्झन्छन्।

विश्वम्भर प्याकुरेलको शब्दमा ‘पिरतीको ठूलो आधार नदेऊ’ गीत उनको लागि पहिले गोपाल योञ्जनले संगीत दिएका थिए। ५–६ दिन गोपाल योञ्जनको घरमा रियाज पनि भयो। तर, रेकर्डभन्दा केही दिनअघि दीपकको सरुवा भयो। ‘मलाई अहिले पनि गोपाल दाइले संगीत दिएको त्यो गीत गाउन नपाउँदा थुकथुक लाग्छ,’ उनी भन्छन्।

हिजोआज उनी संगीतको विभिन्न कार्यक्रममा देखापर्ने गरेका छन्।

प्रकाशित मिति: : 2020-01-03 02:25:05

प्रतिकृया दिनुहोस्