आहा! मनै लोभ्याउने फोक्सुन्डो हेर्नुहोस् तस्बिर र भिडियोमा

नेपाल भ्रमण वर्ष २०२०

तस्बिरः बिएल नेपाली सेवा

डोल्पा । आकाशमा बादल मडारिएसँगै छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्ने फोक्सुन्डो ताल बिहानदेखि बेलुकिसम्म फरक–फरक रंगमा सजिन्छ।

आकाश नीलो हुँदा तालको पानी पनि नीलो देखिन्छ। बादल मडारिँदा ताल पनि कालै बन्छ । सूर्यास्तका बेला रंगीन रुप हुन्छ । आकाशको रंग अनुसार तालले आफ्नो रुप बदलिरहन्छ । 

काञ्जिरोवा हिमालको काखमा अंग्रेजी शब्द ‘वाई’ आकारमा स्थिर बसेको नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो डोल्पामा पर्छ। उत्तर–दक्षिण फैलिएको फोक्सुन्डो ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छ । दक्षिणतिर जंगल छ । तालको आकारप्रकार हेर्न एकै छेउबाट सकिँदैन। एक छेउबाट अर्को छेउ देखिँदैन।

शे-गुम्बा जाने बाटो माथि डाँडामा गएर हेर्दा पनि तालको पूरै भाग देखिदैन। ताललाई स्थानीयहरू फुक्सुम्छो भन्छन्। डोल्पो भाषामा फुक्सुम्छोको अर्थ नेपालीमा त्रिवेणी हुन्छ। (फु- भित्रको, सुम्- त्रिवेणी, छो- ताल) यो भनाइअनुसार ताल झन्डै तीनकुने आकारको छ।

दक्षिणतिरको भाग भने लामो र तल्लो टुप्पो केही फैलिएको छ। समुद्री सतहदेखि ३ हजार ६ सय ११ मिटर उचाइमा रहेको फोक्सुन्डो ताल नेपालकै गहिरो मानिन्छ।

शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने तालको क्षेत्रफल ४.९५ वर्ग किमि छ। यसको अधिकतम लम्बाई ५.९३ किमि र अधिकतम चौंडाई १.८० किमि छ भने गहिराई ६५० मिटर। ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचिकृत भएको छ।

तालमा नुहाउन, पौडी खेल्न र लुगा धुन पाइँदैन । त्यहाँ डुंगा चढ्ने सुविधा छैन । आँखा नझिम्क्याई जति हेरे पनि आँखा थाक्दैनन् । ताललाई छोडेर फर्कन मन लाग्दैन ।

वर्षैभरि फोक्सुन्डो यात्रा गर्न सकिन्छ । फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन।

कसरी पुग्ने

काठमाडौं- नेपालगन्ज-जुफाल- जहाजमा

काठमाडौं-राडीज्यूला- बस यात्रा, त्यहाँबाट सुलीगाडसम्म जीप यात्रा

काठमाडौं- खलंगा (रूकुम पश्चिम) बस, खलङ्गा- राडी ज्यूला- सुलीगाड- जीप यात्रा।

सदरमुकाम दुनैदेखि ३६ किमि उत्तरमा पर्ने ताल जान डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रा गरेपछि मात्र तालमा पाइला टेक्न सकिन्छ।

पहिलो दिन ६ घन्टा हिँडेर साङता/ छेप्कामा बास, दोस्रो दिन ७ घन्टा हिँडेर चुनुवारमा र तेस्रो दिन ४ घन्टा हिँडेर रिग्मो गाउँमा बास बस्ने गरि पदयात्रा योजना बनाउनु बेस हुन्छ।

ताल किनारामा रिग्मो गाउँ, गुम्बा, चैत्य आदि छन्। यसरी कठिन बाटो काटेर फोक्सुन्डो पुग्दा त्यहाँको सुन्दर दृश्यले बाटाका सबै दुःख भुलिने पर्यटकहरूको अनुभव छ।   

उत्तरतिरबाट छाल्फु र ढेवुथान २ ठूला खोलाबाट तालमा पानी प्रवेश गर्छ । दक्षिणतिर रिग्मो गाउँ नजिकको खोला बनेको खोल्साबाट तालको सफा पानी बाहिरिन्छ ।

यसरी तालबाट बाहिरिएको पानी करिब ५ सय मिटर तल पुगेर १ सय ६७ मिटरको फोक्सुन्डो झरना बनेर झर्छ । यो झरनाले फोक्सुन्डो परिसरलाई रमणीय बनाएको छ। पदमार्गबाटै झरनासँग आँखा जुधाउन मिल्छ । फोक्सुन्डो खोला सुलिगाड पुगेपछि ठूली भेरिमा मिसिन्छ ।

हेर्नुहोस् फोक्सुन्डो यात्राका तस्बिरहरू

प्रकाशित मिति: : 2020-01-02 02:46:25

प्रतिकृया दिनुहोस्