राजनीतिक पूर्वाग्रहीका आधारमा शिक्षा ऐन र नियमावलीको प्रक्रिया नपुर्याई बर्दिबास नगरपालिका प्रमुख बिदुर कार्कीले शिक्षकमाथि विभेद गर्दै आएका छन्।
बर्दिबासको मित्रता आधारभूत विद्यालयका शिक्षकहरूले आफूहरूले मेयरले गैर कानुनी रूपमा जथाभावी विभिन्न ठाउँमा सरुवा गरेको भन्दै केही शिक्षकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई विपक्षी बनाई हालेको उक्त रिटमा सर्वोच्च अदालतले शिक्षा सम्बन्धी संघीय कानुन नबनिसकेको कारण देखाउँदै साविक कै ठाउँमा बहाल रहिरहकै अवस्थामा निवेदनको टुंगो नलाग्दासम्मका लागि सरुवा कार्यान्वयन नगर्नू नगराउनू भनि सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ बमोजिम मिति २०७५ साल साउन ५ गते सो अन्तरिम आदेश जारि गरेको छ।
यसरी सर्वोच्चको आदेशमा निवेदकहरूले साविककै ठाउँमा अध्यापन गराइरहे पनि सर्वोच्चको आदेशलाईसमेत वेवास्ता गरी मिति २०७५ माघबाट शिक्षकहरूले खाईपाई आएको तलव समेत रोक्का गरी नगरपालिकाले शिक्षकहरुमाथि विभेद गरेको छ।
शिक्षकहरूका अनुसार करिब एक वर्षभन्दा बढी समयदेखि शिक्षकहरूले विना तलव पठनपाठन गराइरहेका छन्।
बेला बेलामा नगरप्रमुखले शिक्षकलाई कार्यकक्षमै बोलाएर धम्क्याउँने गरेको र मुद्दा फिर्ता लिन दबाब दिने गरेको शिक्षकहरूले बताएका छन्।