बाटोभरि हिउँ, आँखाभरि हिमाल

नेपाल भ्रमण वर्ष २०२०

हिमालको राजा सगरमाथा अनि हिउँको राजधानी सोलुखुम्बु। लाग्छ, हिमाल पढ्न र हिउँको सौन्दर्य बुझ्न चाहनेहरूका लागि यहाँका टाकुराहरूभन्दा उत्तम प्रकृतिका पुस्तक अन्त कहाँ पो लेखिएका होलान् र? आफ्नै अब्बल चिनारी छन् यहाँका अनेक हिमाच्छादित चुचुराहरूका।

सोलुखुम्बुका केही थुम्काथुम्कीहरू भए पनि टेकेर हिमाली संसारलाई आफ्नो नजरले नजिकैबाट नियाल्ने धोको धेरै अघिदेखि थियो मेरो। उक्त अवसरको अनुकूलताबारे सोचिरहेकै बेला अकस्मात् संयोग जुर्‍यो सोलुखुम्बु घुमफिरको। सोलुखुम्बुको टाप्टिङ क्षेत्रमा जन्मिहुर्केर हाल विभिन्न पेशाव्यवसायमा सम्लग्न व्यक्तिहरूले आफ्नो गाउँठाउँको उत्थानमा जेजति सकिन्छ हातेमालो गरौँ भनेर एउटा संस्था स्थापना गरेका रहेछन्, पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा। यसै संस्थाको पहलमा आयोजित ‘पिके पिक ट्रेकिङ प्रवर्द्धन अभियान- २०१९’ कार्यक्रममा सहभागी हुन पुस ४ गते बिहान झिसमिसेमै हुइँकिएँ म सोलुखुम्बु।

काठमाडौँबाट सोलुखुम्बुको ढापसम्म गाडीमा, त्यसपछि ५ दिन पैदल यात्रा गरी पिके पिक पुगेर सल्लेरी पुग्ने र सल्लेरीबाट गाडीमा काठमाडौँ फर्किने कार्यक्रम थियो। ४ हजार ६५ मिटर अग्लो पिके पिक सगरमाथा लगायत अन्य हिमालहरू सामुन्ने र प्रष्ट रूपमा हेर्न गइने प्रसिद्ध पर्यटकीय गन्तव्य। हाम्रो यात्राको आकर्षण र उत्कर्ष पनि यही पिक।

खुर्कोटसम्म बीपी लोकमार्ग। त्यसपछि सुनकोशी नदीको किनारतिरबाट उँभो लागेर ओखलढुङ्गाका केही कान्लाकान्ली, भिर र पाखापखेरा कटेपछि पुगिने  रहेछ सोलुखुम्बुको ढाप, काठमाडौँबाट एकै दिनमा। गोधूलि सुरु हुनुअघिको उज्यालोमा गाडीबाट ओर्लिँदा ढाप त पुरै हिउँको तन्नाले छोपिएको देखियो। हिउँसँग आफूलाई एकाकार गर्दै तस्बिरमा कैद गर्न हाम्रो समूहका सबै साथी व्यस्त बने केही बेर। आँखैअघिल्तिर झल्झलाकार हिमाल सूर्यास्त हुनै लाग्दाका किरणमा कान्ति छर्दै थिए।

हिमालमा सिधै ठोकिएर आएको चिसो न चिसो सिरेटोको सामना गर्न उस्तै हम्मेहम्मे थियो। दिनभरि पहाडी बाटोको उकालोओरालो र नागबेलीले लखतरान परेको शरीर। त्यो रात ढापकै एउटा होटलमा गाँसबासको प्रबन्ध मिलाइयो हाम्रो समूहका लागि।

पुस ५ गते बिहान झुल्के घामको लय पछ्याउँदै पदयात्रा सुरु भयो। २९ सय ३२ मिटर उचाइको ढापबाट हिँड्दैहिँड्दै बीचबीचमा बास बसेर ४ हजार ६५ मिटर अग्लो पिके पिक टेकेपछि सल्लेरी नपुगुन्जेल पदयात्रा निरन्तर रहने कार्यक्रम थियो। 

बिहानी घामको किरणले चुम्दा लोभलाग्दो भएर झल्केका थिए हिमचुचुराहरू अघिल्तिर। पदयात्रा सुरु हुनै लाग्दा हाम्रा यात्राका सूत्रधारमध्येकै एक ङवाङ फुरी शेर्पाप्रति सङ्केत गर्दै जिज्ञासा पोखेँ, ‘यी हिमालहरूका नाम केके होलान् है?’

‘नुम्बुर, दूधकुण्ड, खताङ, पुमोरी, खुम्बिला, थाम्सेर्फु, सगरमाथा, खाङटेखा, आमाडप्लङ, मेरा पिक, मकालु..,’

उनले खर्र सुनाए, आँखा अगाडि लहरै देखिएका हिमालहरूका नाम। सोलखुम्बुकै बासिन्दा अनि लामो समयदेखि ट्रेकिङ गाइड पेशा अपनाएको अनुभव। उनलाई केही गाह्रो थिएन हिमालहरू चिन्न र चिनाउन। उनले थपेका थिए, ‘पिके पिक टेकेपछि अझै प्रस्ट र नजिकै देखिनेछन् हिमालहरू।’

‘ओहो, यति धेरै हिमालहरू एकै ठाउँबाट देख्दा चकित परिसकेँ म, झन् पिके पुगेपछि कति रोमाञ्चित बन्छु होला..!,’ कल्पनामा डुबुल्की मार्दै पाइला अघि बढाउदा बाटोको हिउँ कराप्प कराप्प कुल्चिँदै थिए मेरा खुट्टाले।

‘पिके पिक पुग्ने पदयात्रा सुरु हुने ठाउँ ढापमा ५ वर्षदेखि व्यवस्थित रूपमा होटलहरू सञ्चालन हुन थालेका हुन्। केही थप सुविधासम्पन्न होटल बन्ने क्रममा छन्,’हाम्रो यात्राका गाइड रिन्जी शेर्पा भन्दै थिए, ‘पहिलेपहिले टेन्टमै बास बस्ने गर्थे पर्यटकहरू, अहिले ठाउँठाउँमा होटलहरूको सुविधा भएको हुँदा यो पदयात्रामा बास बस्ने समस्या छैन।’

यो वर्ष मात्र ४ सय बढी विदेशी पर्यटकहरू पिके पिक आएको र एकै ठाउँबाट नेपालका अधिकांश हिमशृङ्खला देख्दा निकै लोभिएका कुरा उत्साहका साथ रिन्जीले सुनाउँदै थिए बाटोमा। 

डाँडैडाँडाजस्तोमा पर्छ बाटोको धेरै भाग। बाटोबाटै देखिन्छन् टाढाटाढाका गाउँ। पातला घरहरू देखिन्छन् धेरैजसो गाउँमा। आलु, गहुँ, जौ, उवाको खेती हुँदोरहेछ यता। स्याउ, ओखर, किबीजस्ता फलफूलहरू पनि कतैकतै फलाइँदो रहेछ। 

गुराँसे पाखाहरूको पनि कुनै कमी छैन। २० किसिमका गुराँस यता देख्न सकिने कुरा पनि गफ गर्दै जाँदा थाहा पाएँ मैले। 

कतै हरियाली, कतै नाङ्गा पाखा। कतै कलात्मक थुम्काथुम्की, पखेरा र भिरहरू पार गर्दा अनेक रोमाञ्चक अनुभूतिहरूले मन आनन्दित तुल्याइरहन्छन्। तर हामी हिँडेको बेला हिउँको सेतो तन्नाले बाटो छोपिएको हुनाले शरीरको र खुट्टाको सन्तुलन मिलाइमिलाइ हिँड्ने चुनौती पनि थियो। अचम्म त के भने सोलुखुम्बुमै जन्मिएका पत्रकार लाक्पा शेर्पालाई पनि नचिनेजस्तो पो गर्दै थियो बाटोले त। उनी नै सबैभन्दा पहिले चिप्लिएर उत्तानोटाङ परे। कसोकसो क्यामरा चाहिँ जोगाए है, एउटा हात माथितिर पारेर। यहाँको माटो, बाटो र हिउँलाई बिर्सिएर टाढिने गरेकाले रिसाएर होला कि आफ्नै सम्झेर बढी सामीप्य जनाएर होला? उनी पछारिनुको कारण एकिन गर्न सकिनँ मैलै त। बरू डराइडराइ, जोगिइजोगिइ हिँड्ने प्रयास जारी राख्नु नै श्रेयस्कर सम्झिएँ।

एकतमासको उकालीओराली र नागबेली बाटो। जताततै हिउँ। सरासर २ घन्टा जस्तो हिँडेपछि सिँगाने गाउँको एउटा चिया पसलमा सुचियाको चुस्की लिन पुग्यौँ। नुन, घिउ, उवाको पिठो, दूध र चियापत्ती मिसाएर बनाइएको सुचियाको कस्तो तागत हो कुन्नि, एकै छिनमा शरीरमा स्फूर्ति बढाएजस्तो लाग्ने। 

माथिमाथितिर लाग्दा बाटोबाट देखिएका घरका छाना, आँगन र बारीमा समेत हिउँ टल्किँदै थिए, टिलिक्क टिलिक्क। ‘यो वर्ष अलि छिटो नै हिउँ पर्‍यो, अब परेन भने एक महिना र फेरि पर्‍यो भने फागुनसम्म नै हिउँ रहन सक्छ’, तक्सोको उकालोमा भेटिकाएका स्थानीयले सुनाए। 

फोक्टेडाँडाको पारिपट्टिको केरुङ गाउँको ग्रामीण सौन्दर्यलाई टाढैबाट नियाल्दै हामी उकालोतिर बाटो नापिरह्यौँ। मध्याह्नतिर मिलेका थुम्काहरू भएका बसूँबसूँ लाग्ने चउर भेटियो, बाटोभन्दा थोरै अग्लो। सिङ्नासाको चउर रे त्यो। एक छिन अडिँदा रिङ्जीले सुनाएँ, ‘ गाउँका मान्छेहरूले जङ्गलबाट दाउरा ल्याउँदा बिसाउने ठाउँ हो यो।’ 

वरपरका प्राकृतिक परिवेश नियाल्दा लाग्थ्यो जस्तोसुकै थकाइ पनि मेटिन्छ यस्ता सुन्दर थुम्किला चउरहरूमा केही बेर आराम गर्दा। हो, प्रकृतिसँगै छ जीवनलाई पुनर्ताजगी दिने अद्भुत शक्ति र सौन्दर्य पनि।

सिङ्नासाको चउरमा बसेपछि चङ्गा भएको ज्यानलाई केही बेर हिँडाए पछि झाप्रे पुगिन्छ। झाप्रेमा बास बस्न होटलहरू पनि रहेछन्। झाप्रेमै बिसायौँ झोला र दिउँसोको खाना खायौँ। पिके पिक प्रवर्द्धन अभियानमा हिँडेको हाम्रो समूहको स्वागतार्थ गाउँलेद्वारा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको रहेछ। स्थानीय जनजातिको भेषभूषा र संस्कृति झल्किने गरी गीत र नृत्यहरू प्रस्तुत भए। शेर्पा जातिमा प्रसिद्ध स्याफ्रु नाच, तामाङ जातिको तामाङसेलो र मगर मुदायमा प्रचलित नृत्य हेर्दाहेर्दै साँझ परिसकेको पत्तो नै भएन। 

शेर्पा जातिमा प्रचलिक एउटा विशेष खाद्य परिकार रहेछ , रिल्दुक। आलुलाई उसिनेर कुटेपछि अन्य सामग्रीका साथ फेरि पकाएर बनाइने यो खाना टन्न खाएपछि अरू हेर्नै मन लागेन। अन्यत्रजस्तै यहाँका घरका छानाहरूमा पनि हिउँको च्यादरले छोपिएकै थिए। त्यसमाथि रातभर चलेको निकै ठूलो हुरीको झोक्काले घरका ढोकाहरू ढकढक्याइरह्यो। हिमाली हावाको वेग र निद्रादेवीको शक्ति परीक्षा रातैभर चल्यो। चेपुवामा परे यात्री। लाग्यो, केही नयाँ अनुभव र शिक्षा मिल्छ र पो यात्रा यात्राजस्तो बन्छ।

पुस ६ गतेको हिँडाइ झाप्रेबाट पिके बेस क्याम्पसम्मको। झाप्रेबाट हिड्दा सूर्योदयको किरणले हिमश्रृङ्खला रङ्गिन सुरू भइसकेका थिए। अलि पर पुगेपछि राखोप डाँडामा थुप्रिएको हिमराशि लोभलाग्दो देखियो। तस्बिर खिच्न र एक,दुई जना साथीहरू त हिउँमाथि जम्पिङ कला देखाउन पनि जोसिए।

अनुपम र अतुलनीय हिमाली परिदृश्य। मनमोहक प्राकृतिक परिवेश। लामुचे डाँडामा पुगेपछि अघिल्तिरका हिमश्रृङ्खलामा नजर डुलाउँदै पर्यटन व्यवसायी श्याम बस्नेत भन्दै थिए, ‘जति माथि पुग्यो, जति हेर्यो, उति राम्रो, हेरिरहूँ लाग्छ। जुन डाँडाबाट हेरे पनि नेपालका अधिकांश हिमालका लहरहरू देखिँदा कसको मन नरमाउला?’

फरकफरक व्यावसायिक पृष्ठभूमि र अनुभव सँगालेका सदस्यहरूको समूहमा यात्रा गर्दा बहुआयामिक विषयमा नै धेरथोर जानकारी मिल्छ। हाम्रो समूहमा ३ पटक सगरमाथा टेकेका दावा शेर्पा, पर्टन व्यवसायीहरू अम्बर तामाङ, ङवाङ फुरी शेर्पा, रिन्जी शेर्पा, सूर्यप्रकाश तिवारी, श्याम बस्नेत, राजसिंह थापा, लाक्पा तेन्जिङ शेर्पा, डोल्मा पाख्रिन, पत्रकार शुष्मा बराली, लाक्पा शेर्पा, रवीन्द्र डङ्गोल, जाङ्मु शेर्पालगायत २९ जना थियौँ। सबै रसिला, हसिला र फरासिला। सबैले आआफ्ना कला, गला, गफ र ठट्यौलीमार्फत् यात्रालाई रङ्गमय र रसमय बनाउन भरमग्दुर प्रयास जारी राखे। 

बिहान १० बजेतिर छोटो माने पुग्दा हावाको वेगले उडाउला जस्तो गर्‍यो। चिसो उस्तै मुटु नै छुने। दायाँबायाँ गुराँसे जङ्गलको छायाँ पछ्याउँदै भुलभुलेतिर लाग्दा नुम्बुर, कार्यलुङ, नुप्से, सगरमाथा, ल्होत्से, मकालु आदि हिमचुचुराहरूले एकानासले मुस्कान छरिरहेकै थिए। घरीघरी बादलहरू लुकामारी गर्न आउँछन् हिमालहरूमा। तर धेरैबेर अडिन कहाँ  सक्नु? 

लामुचे डाँडा पुग्दा आधा दिन बितिसकेको थियो। त्यहीको एउटा होटलमा खाना खाने योजना मिलाएको रहेछ आयोजकले। आँगनभरि हिउँका थुप्रा टेकेर घरभित्र छिर्नुपर्ने त्यहाँ पनि। जङ्गली च्याउको स्वाद चाख्दै  ग्रामीण उत्पादनको स्वस्थकर भोजन गर्दा पेट मात्र कहाँ हो र? मन पनि टन्नै अघायो।

लामो माने भन्ने ठाउँमा माने नै मानेको लहर लामै रहेछ। आस्था र श्रद्धाको प्रतीक। बाटोभरि कर्‍याप कर्‍याप हिउँ टेक्दै चिसो न चिसो खुट्टा लिएर पिके पिकको बेस क्याम्प पुग्दा दिन ढल्किसकेको थियो। त्यहीँको एउटा होटलमा पस्यौँ चिसो छल्न र बास बस्न। एक दशक लामो होटल व्यवसायको अनुभव सँगालिसकेका त्यहाँका व्यवसायी पासाङ शेर्पासँग केही बेर गफिन पनि भ्याएँ। उनले भने, ‘चार वर्ष यता पर्यटकको चाप बढ्दै गएको छ। फागुनदेखि जेठसम्म र असोजदेखि मङ्सिरसम्म पर्यटकहरूको आवतजावत बढी नै हुन्छ। पर्यटकहरू बढ्न थालेकोले यहाँ दुईचार वटा नयाँ होटलहरू पनि थपिने क्रममा छन्।’

सुचियाको चुस्की र अगेनाको छेउ। ६६ वर्षीय स्थानीय जाङ्बो शेर्पाको टुङ्नाको टुङटुङे लय। जुरुकजुरुक ननाच्ने कोही भएनन्। त्यो रात रमाइलो र न्यानोसँग बिताइयो ३६ सय ४० मिटर उचाइमा रहेको पिके पिक बेस क्याम्पमा। 

पुस ७ गते बिहान अँधेरोमै पिकेपिकतिर उकालो लाग्दा निकै मुस्किल भयो। तलतल ठिङ्ग्रेसल्ला, गोब्रेसल्ला र गुराँसका रूखहरू भेटिए पनि बेसक्याम्पबाट उकालो लागेपछि  सुक्खा डाँडा र हिउँसिबाय केही थिएनन्। मान्छे नै उडाउलाजस्तो हावाको वेग। मुटु छेड्ने चिसो उस्तै। हिउँका थुप्रामा खुट्टा गाड्दै हिँड्दा चिप्लिने डर छँदैछ। अनेक कठिनाइ झेल्दै १ घण्टा १० मिनेटको ठाडो उकालो चढेपछि बल्ल पुगियो ४ हजार ६५ मिटर उचाइमा रहेको पिके पिक। हाम्रो यात्राको अभीष्ट यही पिकमा पुग्नु थियो। केही बेरमै हिमाली चुचुराबाट निस्किएको घामका किरणले चुचुराका तलतल रहेका बादलका झुण्ड चिर्दा स्वर्गीय सौन्दर्यको आभास दिलायो। आहा, कति प्रष्ट र सुन्दर हिमालहरू! आँखामै टाँसिराखूँजस्ता। यति नजिकैबाट हिमाली टाकुरामा नजर ठोकिँदा मन छमछम नाचिरह्यो। 

पिके पिक ट्रेकिङ प्रवर्द्धन अभियान-२०१९ का संयोजक अम्बर तामाङ पिके पिकबाट देखिएका हिमालहरू चिनाउँदै थिए। उनले औँल्याए तिरै आँखा डुलाउँदै थिएँ म पनि। उनी भन्दै थिए, ‘यी यतापट्टिको अन्नपूर्ण रेन्च, त्यसपछि मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल, गौरीशङ्कर, दूधकुण्ड, सगरमाथा, त्यपछि उताको कञ्चनजङ्घा..’

प्रकृतिसिर्जित सौन्दर्य र आनन्दका अघि सबै कुरा फिक्का लाग्छन्। यात्राको उत्कर्षमा पुग्दा यात्राका थकाइ र पीडाहरू पनि कता हराए कता। ३५ मिनेट चुचुराका बसेर स्वर्णिम अनुभूतिहरूलाई मनका पानाभरि रङ्ग्याउँदै हामी जुनबेसीतिर ओरालो लाग्यौँ। बाटोमा हिउँ झन् बढीबढी जमेका थिए। चिप्लिएर उत्तानोटाङ नलाग्ने त कोही पनि भएनन्। तै पनि बास बस्न जूनबेसी झर्नु नै थियो। त्यहाँबाट पनि अझै दुई दिन हिँडेर सल्लेरी नपुगुन्जेल कहाँ रोकिनेवाला थिए र हाम्रा पाइलाहरू?

हेर्नुहोस् केही तस्बिरहरू

 

 

प्रकाशित मिति: : 2020-01-01 02:48:28

प्रतिकृया दिनुहोस्