यो पुस्ताले बुझ्न ढिलाइ गर्न हुन्न– जबर्जस्ती, बलमिच्याइँ र कपटपूर्वक महिलाको तन छुने प्रयास नै बलात्कारको पहिलो पाठशाला हो
एक दिन मिल्ने साथीले आफ्नो मनको कुरा खोलिन्– ‘साथी’को बाइक चढेर उनी खाजा खान काठमाडौं–ठमेलतिर कुनै रेस्टुरेन्ट जाँदै थिइन् । सवारी चाप बाक्लो थियो । सवारीको भिड, हल्लाखल्ला र यदाकदा लाग्ने अनावश्यक र अनुचित सवारी हर्नले काठमाडौंको ट्राफिक उदेक लाग्ने हुन्छ । एक सुरले ट्राफिक संकेत बत्ती निभ्ने समय कुर्दै गरेको उनी त्यतिखेर झसंग भइन्, जतिखेर केटोले उनले मात्र सुन्ने गरी ‘आफूलाई बाइक चलाउन असहज भएकाले आफूतिर टाँसिएर बस्न’ अनुरोध गर्यो ।
ऊ आफैँ स्कुटर चालक भएकीले उनलाई दुईपांग्रेमा कसरी बस्ने भन्ने कुरो राम्ररी थाहा थियो । फेरि ट्राफिक बत्तीमा रोकिएका वेला चालकलाई उनको बसाइका कारण अप्ठ्यारो पर्यो भन्न सक्ने अवस्थै थिएन । कुरा स्पष्ट थियो, मेरो साथीलाई खाजाको निम्तो दिने मोटरसाइकलचालक उनीसँग खाना खान मात्र होइन, त्यसकै निहुँमा ‘देह स्पर्श’ चाहन्थ्यो ।
अनुनय–विनय गरी खाजाको निम्तो दिएर उनको शरीरमा स्पर्श गर्न प्रयत्न गर्ने ती ‘कुन्ठित युवक’लाई उनले के गर्नुपथ्र्यो ? उनले गर्न सक्ने एउटै कुरो थियो– बीच बाटैमा रोकेर बिदा हुने । ठमेलको सञ्चयकोष भवन कट्दा–नकट्दै उनले मोटरसाइकल रोक्न लगाइन् । मोटरसाइकल रोक्ने इसारासँगै एकातिर ‘इरादा’ र अर्काेतिर अहंको भाव केटामा प्रस्टिएको थियो । यसर्थ, मेरी साथीले केही भन्नूपूर्व नै उसले सञ्चयकोषअघि सडकमा मेरो साथीलाई छाडेर रफ्तारले अगाडिको सडकतर्फ आफ्नो मोटरसाइकल दौडायो ।