हालै काठमाडौंमा भएको तेह्रौं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल सुदूरपश्चिमका महिला खेलाडीहरु सम्मानित भएका छन्।
शनिबार काठमाडौंको बाइसधारा पार्क बालाजुमा सुदूरपश्चिम महिला जागरण समूहले एक कार्यक्रममा सम्मान गरेको हो।
कार्यक्रममा सागमा पदक विजेता सुदूरपश्चिमका चेलीहरू गौरीका सिंह, आयशा शाक्य, अञ्जली चन्द र संगीता धामीलाई सम्मान गरेको हो।
हाल लण्डनमा बस्दै आएकी पौडीबाज गौरीका सिंहको पुख्र्यौली घर बझाङ हो। आयशा शाक्य तेक्वान्दो खेलाडी दीपक विष्टकी पत्नी हुन्। त्यस्तै अञ्जली चन्द बैतडीकी हुन् भने पुर्खौली घर दार्चुला भएकी सङ्गीता धामीको बसोवास कञ्चनपुरमा छ।
गौरीका सिंह र सङ्गीता धामी कार्यक्रममा उपस्थित हुन नसक्दा सम्मान पत्र उनीहरुका आफन्तलाई जिम्मा लगाइएको थियो। सम्मान पछि कार्यक्रममा बोल्दै आयशा र अञ्जलीले आफूहरू सम्मानित हुन पाउँदा सुखी र हौसला बढेको व्यक्त गरेका थिए ।
कार्यक्रममा समूहकी अध्यक्ष गोदावरी सिंह शाहीले महिला खेलाडीलाई थप हौसला दिनका लागि कार्यक्रमको आयोजना गरेको बताइन्। उनले भनिन् – हामीले आउँदा दिनहरुमा सुदूरपश्चिमका महिला खेलाडीहरु सुदूरपश्चिमका साथै राष्ट्रकै सम्पूर्ण महिला खेलाडीका लागि प्रेरणाका श्रोत बन्न सकुन् भन्ने कामनाका साथ उहाँहरुमा आँट, हौसलासँगै थप ऊर्जा बढोस्, भनी यो सानो कार्यक्रमको आयोजना गरेका हौं।'
सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी थिइन्, यस्तै आयशाले २ स्वर्ण पदक र सङ्गीता धामीले १ स्वर्ण पदक जितेकी थिइन्। यस्तै भने अञ्जली चन्दले अन्तर्राष्ट्रिय महिला क्रिकेट नयाँ कीर्तिमान बनाएकी थिइन्। उनले २.१ ओभरमा कुनै पनि रन नदिएर ६ विकेट लिने कीर्तिमान बनाएकी थिइन्।
कार्यक्रममा पूर्वमन्त्री तथा राप्रपाकी नेतृ कुन्ती शाही, सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दा बमलगायत सुदूरपश्चिमबाट आई काठमाडौंमा विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता थियो।