बलात्कारको घटना बाहिरिएपछि आत्महत्याकाे प्रयास

मोरङको लेटाङमा बालिका बलात्कारको घटना बाहिरिएपछि बलात्कारमा संलग्नले विष सेवन गरेर आइतबार आत्महत्याको प्रयास गरेका छन्।  

१६ वर्षीय बालिका बलात्कार गरेको घटनामा संलग्न लेटाङ–१ का २२ वर्षीय प्रकाश राईले विष सेवन गरेका हुन्। उनले शनिबारराति बालिकालाई सोही ठाउँमा रहेको आफ्नो डेरामा बोलाएर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। घटना बाहिरिएपछि प्रकाशले आइतबार बिहान बालीमा लाग्ने किरा मार्न प्रयोग गरिने मेटासिट नामक विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको उनको भनाइ छ।

परिवारका सदस्यलाई बालिकाले सबै कुरा सुनाएपछि घटना बाहिरिएको र घटनामा संलग्नका विरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। प्रकाशले विष सेवन गरेको खवर पक्राउ गर्न बाटोमा जाँदै गरेको प्रहरी टोलीले पाएको थियो। त्यसपछि तत्काल उनलाई बचाउनका लागि उद्धार गरेर उपचार गराउन विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको डीएसपी राईको भनाइ छ।

अहिले प्रकाशको प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ। अवस्था सामान्य र खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका छन्। तत्काल अवस्था सामान्य रहे पनि विषादीले पछि असर गर्न सक्ने चिकित्सकले बताएको प्रहरीले जनाएको छ। उपचार ठीक भएपछि कारबाही अघि बढाउन प्रकाश विरुद्ध जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाकोे विस्तृत अनुसन्धान गरिने जानकारी डीएसपी राईले दिए।

बलात्कारबाट पीडित बनेकी बालिकाको विराटनगरकै कोसी अस्पतालमा सामान्य उपचार र स्वास्थ्य परीक्षण गराइएको छ। बालिकाको गालामा चोट छ। बलात्कारकै क्रममा उक्त चोट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बालिकाले बोलेको प्रष्टसँग बुझ्न सकिंदैन। ध्यानपूर्वक सुन्दा मात्रै उनले बोलेका कुरा बुझ्न सकिन्छ।  

प्रकाशित मिति: : 2019-12-31 03:00:53

प्रतिकृया दिनुहोस्