भारतमा पुल सुचारु भएपछि विराटनगर नाका खुल्यो 

भारतले पुलबाट ४० मेट्रिकटन भन्दा कम भारका गाडी मात्र प्रवेश गर्न दिने गरेको छ ।

भारतको बथनाहस्थित मिरगञ्ज पुल सुचारु भएपछि विराटनगर प्रवेशको मुख्य जोगवनी नाका पनि सञ्चालनमा आएको छ।

मिरगञ्ज पुल अवरुद्ध भएपछि मालबहाक सवारी साधन आवतजावत बन्द हुँदा नौ दिनदेखि नाका ठप्प जस्तै थियो ।

मर्मतका लागि भन्दै भारतीय पक्षले जोगवनी प्रवेश गर्ने पुलमा आवतजावत रोक्दा नेपालका लागि सामान लिएर भारत तथा तेस्रो मुलुकबाट आएका मालबहाक सवारी साधन बीचैमा रोकिएका थिए । पुल मर्मतका लागि भन्दै भारतले डिसेम्बर १९ देखि मालवाहक सवारी साधन आवत–जावतमा रोक लगाएको थियो । 

पुलको मर्मत सकेर भारतले सवारी आवागमन सुचारु गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले बताए । दुवैतर्फ ठूलो संख्यामा मालवाहक सवारी साधन रहेकोले सडकमा भने जाम रहेको उनको भनाइ छ ।

नेपालतर्फ करिब २ सय खाली गाडी छन् । भारततर्फ करिब २ हजार मालवाहक गाडी रोकिएका छन् । 

पुल खुलेपछि आवात–जावत सुचारु भएपनि सवारी जाम हुँदा कठिनाइ भइरहेको पौडेलले बताए । २०७४ साल साउनको बाढीले पुल क्षतिग्रस्त बनाएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना लागेको थियो । विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड राजस्व संकलन गर्दै आएको छ । मालबहाक सवारी साधन रोकिएपछि राजस्व संकलन प्रभावित बनेको थियो । 

भारत तथा तेस्रो मुलुकबाट सामान लोड भएर आएका तीन सय बढी मालबहाक सवारी साधन जोगवनी नाका हुँदै दैनिक प्रवेश गर्ने गरेका छन् । पुल मर्मतका लागि सवारी आवत–जावतमा रोक लगाएपछि भन्सारको राजस्व संकलन हुन सकेको थिएन ।

भारतले पुलबाट ४० मेट्रिकटन भन्दा कम भारका गाडी मात्र प्रवेश गर्न दिने गरेको छ ।

पुलको कारण पटक–पटक समस्या खेप्नुपर्ने अवस्था आएकोले प्रदेश १ का उद्योगी व्यवसायीले यो समस्याको दीर्घकालीन समाधान खोज्नु पर्ने माग गर्दै आएका छन् । 

 

प्रकाशित मिति: : 2019-12-30 06:28:21

प्रतिकृया दिनुहोस्