हराउँदै छन् बालबालिका, आखिर दोषी को?  

गत वर्ष चेन्ज नेपाल नामक संस्थामा रिपोर्टिङका लागि पुग्दा उनी मिटिङ कोठामा घोप्टो परेर निदाई रहेकी थिइन्

फर्पिङकी १५ वर्षीय मनिताले सानैमा आमा गुमाउनु पर्यो। भाईबहिनीको पेट पाल्न सानैमा गाउँको एउटा चिया पसलमा काम गर्नु पर्यो। १० वर्षको उमेरमै काम गर्न थालेकी मनिताको यौन शोषण ड्राइभर र खलासीले मात्र होइन, उपल्लो र बुद्धिजीवि मानिने सबैले गरे। 

गत वर्ष चेन्ज नेपाल नामक संस्थामा रिपोर्टिङका लागि पुग्दा उनी मिटिङ कोठामा घोप्टो परेर निदाई रहेकी थिइन। उनी भन्दै थिइन, ‘दिनमा ८–१० जनालाई तातो दिँदा दिँदै म चिसो भइसकेको छु।’ उनी तल्लो पेट दुख्ने र यौनीबाट सेतो पानी बग्ने समस्याबाट पीडित थिइन। 

सानैमा यौन दुव्र्यवहारको शिकार बनेकी उनी यसबाट जोगिन शहर पसिन्। पुरुष मालिक भएको ठाउँमा दुव्र्यवहार हुने निचोडका बीच उनले कलंकीको एउटा गेस्ट हाउसमा महिला साहुनी भएको ठाउँमा काम थालिन्। उनी गेस्ट हाउसमा सफाईको काम गर्थिन्। 

काम गर्ने सिलसिलामै एकदिन साहुनीले ग्राहक कहाँ सुत्न पठाएपछि उनको मनै मरेर गयो। भागेर जाउँ, विरानो शहर, कहाँ जाने? कसरी पेट पाल्ने? 

यही समस्याका बीच उनी साहुनीको ग्राहकलाई खुसी बनाउने अभियानको मोहरा बनिन्। भन्थिन्, ‘मैले कमाएको सवै पैसा आन्टिले फाईनान्समा राखिदिनुभएको छ। कहिले दिने हो थाहा छैन? अलिकति लुकाएर राखेको पैसा मायाको नाटक गर्ने ग्राहकले लुटेर लान्छन्।’ 

मनितालाई धेरैपटक ड्राईभरले रक्सोलहुँदै भारत पुर्याउन न खोजेका होइनन्। तर, उनले घरमा आमा नभेटी भारत नजाने अडान लिँदै आफूलाई जोगाएकी थिइन। 

यिनै मनिता विगत १ वर्षदेखि सम्पर्कबिहिन अवस्थामा छिन्। उनको विषयमा न परिवारका कुनै सदस्यलाई थाहा छ, न साथीभाईलाई नै। 

मनिता जस्तै प्रमिलाको पनि आमा सानैमा बितिन्। बुवाले कान्छी ल्याएपछि उनी कहिले फुपुको घरमा त कहिले काकाको घरमा गुजारा गर्थिन्।

नौ वर्षको उमेरमा गाउँकै अंकल पर्ने एक जनाबाट बलात्कारको शिकार भइन्। अहिले उनलाई अंकल देख्नै नहुने। देख्यो कि तर्सिहाल्ने। 

अंकलले पटकपटक बलात्कार गरेपछि उनी भागेर काठमाडौं प्रवेश गरिन्।  केही समय कलंकीमा काम गरिन्। भनिन्, ‘जहाँ गएपनि उस्तै रहेछ। गाउँको अंकलले मात्र होइन, शहरका मान्छेले पनि मेरो अस्मिता लुटे।’ 

प्रमिलाको जिन्दगी अर्के भइसकेको छ। ग्राहकसँग होटल जानु अनि पाँच सय रुपैयाँमा आफूलाई बेच्नु उनको दैनिकी भइसकेको छ। ‘बल्खुमा बस्छु। आन्टिको सानो होटल छ। त्यही बस्छु। आन्टिले नै सेटिङमा ग्राहक मिलाइदिनु हुन्छ’, उनले भनिन्। 

प्रमिलालाई भेटेको केही दिनमै उनको मोबाइल अफ भयो। हाल उनी कसैको सम्पर्कमा छैनन्।  

रिपोर्टिङका क्रममा मैले यस्ता थुप्रै पात्र भेटेको छु। तर, यी दुई जनासँग बढी नै नजिकिएको थिए। मेरो सोच थियो, चेन्ज नेपाल नामक संस्थामा पठाएर यिनीहरूको उद्दार गर्ने। तर दुबै बालिका बीचमा हराए। 

मनोरञ्जन क्षेत्र, खाजाघर ,चिया पसलमा भेटिएका बालिकाहरू अर्को पटक कतै देखिदैनन्। कामदिने साहँुलाई गएर सोध्यो ठाडो जवाफ आउँछ, यिनीहरू एकठाउँमा कहाँ टिक्छन् र? कता गए? हामीलाई के थाहा? 

बालबालिका कसरी? काहाँबाट हराउँछन् भन्ने कुराको उदाहरण हुन्, मनिता र प्रमिला।  

प्रहरीको तथ्यांकअनुसार विगत १५ महिनामा ३ हजार ४ सय १८ बालबालिका हराइसकेका छन्। हराएका मध्ये आधा भेटिएका छैनन्। 

यस अवधिमा १ हजार ६७ बालक र २ हजार ३ सय ५१ बालिका हराएका छन्। हराएका मध्ये १ हजार ९ सय ७८ जनामात्र भेटिएका छन्। 

सडक पेटिमा यसरी खुलेआम बालिका बेचिदा हेरेर नदेखे जस्तो गर्ने प्रहरीले वर्षदिनमा एकपटक बालबालिका हराएको अनि भेटिएको तथ्याङ सार्वजनिक गर्छ। तर, उनीहरूको उद्धारमा भने कुनै पहल गरेको देखिदैन्। प्रहरीले नयाँ ठाउँमा सरुवा हुने वित्तिकै काम देखाउन नयाँ अभियानको सुरुवात गर्ने गर्छन।

तर, उनीहरू सँग दीर्घकालिन योजना छैन। जसले गर्दा सडक पेटि खाजाघर तथा मनोरञ्जनका अन्य क्षेत्रमा काम गर्ने बालिका अनि किशोरी बैदेशीक रोजगारीका नाममा या अन्य बहानामा कुनबेला कता बेचिन्छन्? पत्तो हुदैन। 

सरकारले ल्याएका आर्थिक सशक्तिकरणका कार्यक्रम, महिला हिंसाविरुद्धको अभियान ,राष्ट्रपति महिला उत्थान कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत अर्बो बजेट खर्चिएका कार्यक्रम मनिता र प्रमिलाको गाउँ टोल र घरसम्म पुग्न सकेको भए धेरै बालिका काम खोज्दै शहर पस्ने थिएनन्। अनि यौन हिंसा, दुव्र्यवहार र बेचविखनमा परि अन्त्यमा हराएको सूचिमा पर्ने थिएनन्। 

 
 

प्रकाशित मिति: : 2019-12-30 04:30:00

प्रतिकृया दिनुहोस्