काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ।
मंसिर २९ गते महानगर दिवसका अवसरमा अभियान शुभारम्भ गरेपछि ३०८ जना पुरुष, ५२ जना महिला र ७ जना बालवालिकाको उद्धार गिरएको हो।
उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन्। अभियानका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेको ३ नम्बर संयोजक सुमन बर्तौलाले जानकारी दिए।
अभियान शुरु भएको दिन मंसिर २९ गते ७ जना महिला, ३४ जना पुरुष र १ जना बालक गरी ४२ जनाको उद्धार भएको थियो भने मंसिर ३० गते १० जना महिला, ४५ जना पुरुष १ बालक र १ बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो। पुष १ गते ११ जना महिला, ३७ जना पुरुष र १ जना बालक गरी ४९ जना र पुष २ गते ३ जना महिला, ६४ जना पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौंका बिभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।
३ महिनालाई घोषणा गरिएको यस अभियान अन्तर्गत ३ महिनाभित्र सडकमा भेटिने सबैलाई उद्धार गर्ने र त्यस पछि काठमाडौंलाई बेवारिसे मानवबाट मुक्त गर्ने महानगरको तयारी छ।
यसअघि चितवनको भरतपुर महानगरपालिकाले पनि यस्तै घोषणा गरेको थियो।