छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, काभ्रे, पर्सा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।  

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा बा।५ ख ६८१७ नम्बरको बसले बा.६५ प १०३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार ईलाम कोल्पुङ-७ घर भएकी २४ वर्षीया दिवाना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ।  

दुर्घटनामा घाइते भएका स्कुटर चालक खोटाङ टेम्बा घर भएका ३४ वर्षीय धनीराम राईको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

यता काभ्रे, धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित सडकमा ना.१ ज ६१५३ नम्बरको टाटा सुमो बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी सुमोमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–८ बस्ने २६ वर्षीया मिना कुमारी बोगटीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

पर्सा, ठोरी गाउँपालिका–१ नयागाउँ चौतारास्थित सडकमा ठोरी बजारबाट चितवन टाँडीतर्फ जाँदै गरेको ना.५ ख १२१२ नम्बरको बसबाट खसेर सोही बसको टायरले किच्दा बसमा सवार ठोरी गाउँपालिका–१ बस्ने २१ वर्षीय अमन प्रजाको घटनास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

यस्तै कैलाली, घोडाघोडी नगरपालिका–२ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री कालिकोट कालिका गाउँपालिका–६ बस्ने २७ वर्षीया कल्पना परियारको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ। सोही ट्याक्टरको ठक्करबाट घाइते भएका मृतकका श्रीमान ४१ वर्षीय रमेश परियारको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

रुपन्देही, तिलोत्तमा नगरपालिका–७ भलबारीस्थित सडकमा लु.१ ख ६४१७ नम्बरको ट्याङ्करले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १६ वर्षीया लक्ष्मी न्यौपानेको बिहीबार दिउँसो मृत्यु भएको छ।  

साथै उक्त ट्याङ्करको ठक्करबाट घाइते भएकी साइकलयात्री तिलोत्तमा नगरपालिका–७ बस्ने ३१ वर्षीया भोज कुमारी केसीको सोही अस्पताल हुँदै थप उपचारको लागि  ग्राण्डी अस्पताल काठमाडौं रिफर गरिएको छ। फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ।  

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  

प्रकाशित मिति: : 2019-12-28 04:54:04

प्रतिकृया दिनुहोस्