अदालतले बाबाजीको बयान आजदेखि लिने

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा बिहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ। मंसिर १६ गते पक्राउ परेका कृष्णदासविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुनेछ।

गत कात्तिक ४ मा बाबाजीले आफूमाथि बलात्कार गरेको भन्दै उनकै अनुयायी एक महिलाले किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले पक्राउ गरेको हो। यद्यपि उनलाई मंसिर १५ गते माइनर हर्ट अट्याक भएको भन्दै चिकित्सकले आइसीयुमा राखेका थिए।

चिकित्सकको रिपोर्टका आधारमा हिरासतको समय उनले अस्पतालको बेडबाट नै कटाए। चिकित्सकले हर्ट अट्याक भएको रिपोर्ट दिएपछि अदालतले अस्पतालबाटै मुद्दाको पूर्पक्ष गर्न आदेश दिएकाे थियाे।

मंसिर १२ गतेदेखि अस्पतालमा बसिरहेका गिरीको नाममा छालाको इन्फेक्सनमा प्रयोग हुने औषधिसमेत प्रयोग भएको छ।  

विराट नर्सिङ होमका मुटुरोग विशेषज्ञ डा ज्ञानेन्द्र गिरीले कृष्णदासलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताएका छन्। उनको स्वास्थ्यमा सुधार आइरहेको बताउँदै गिरीले अझै एक साता राख्नुपर्ने अवस्था रहेको बताए।  

बलात्कारको आरोपपछि बिराटनगरको मुनालपथस्थित बिराट नर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थपिएको थियो। २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौं पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो।

प्रकाशित मिति: : 2019-12-28 00:40:16

प्रतिकृया दिनुहोस्