श्रद्धासुमन किसुनजी !

नेपाली राजनीतिमा किसुनजीले रिक्त बनाएको ठाउँ भरिन कहिले  सम्भव होला ?

हरि अधिकारी

वासिङ्टन डीसी

आज, नेपाली राजनीतिक फलकका उज्वल नक्षत्र, नेपाली जनताले गरेका प्रजातान्त्रिक आन्दोलनहरूका अप्रतिम नायक, राजनीतिक सुसंस्कार, निष्ठा र आदर्शका जीवन्त प्रतिरूप एवम् सरलता, विद्वता, राजनयिक क्षमता र समतामा आधारित जीवनदृष्टिका सङ्गम कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ति । म यस पावन अवसरमा अत्यन्त आदरका साथ उहाँलाई सम्झँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

आफ्नै अयोग्यताका कारण हीनमनोबल र शक्तिहीन बनेका राजा राजेन्द्रविक्रम शाहका पालामा भएको भयङ्कर नरसंहारकारी कोतपर्वको चपेटामा शाही दरबारसँग सम्बन्धित भाइ-भारदारहरू मात्र होइन अनेक कारणले दरबारसँग जोडिएका अरू केही पात्र र तिनका परिवारहरू पनि परेका थिए । राजदबारमा पुरोहित्याइँ गर्ने काठमाण्डौ पकनाजोलको भट्टराई परिवार ती मध्ये एउटा थियो । त्यतिबेला त्यस परिवारका मुखिया थिए, बनारसमा शिक्षा - दीक्षा पाएर कोतपर्व भएकै साल, वि. सं. १९०३ मा स्वदेश फर्किएका युवा पण्डित विश्वनाथ भट्टराई । ती विश्वनाथ भट्टराई नै कृष्णप्रसाद भट्टराईका पितामह थिए ।

वि. सं. १९०३ साल असोज ५ गतेको त्यो त्रासदीपूर्ण कालो रात, हनुमानढोका दरबारभित्रको, सामान्यत: विभिन्न चाडपर्वमा पशुपन्छीको वलि दिनका लागि तोकिएको विशेष चोक - कोतमा प्रधानमन्त्री चौतरिया फत्येजङ्ग शाहसहित त्यतिबेलाको नेपालका सबै प्रमुख भारदारहरू, ४०/ ४१ जनाको निर्मम हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा भीषण र रक्तरञ्जित त्यस हत्याकाण्डका नाइके थिए जङ्गबहादुर पनि भनिने वीरनरसिंह कुँवर राणा । त्यस कत्लेआमको सूत्रधार भने राजा राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मी देवी शाह बन्न पुगेकी थिइन् । अतिमहत्वाकांक्षी र राजगद्दीमा हक नपुग्ने आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने उद्यममा लागेकी ती महारानीका प्रियपात्र, मध्यमकोटीका भारदार गगनसिंह भण्डारीको अचानक कसैले हत्या गरिदिएपछि हत्यारा पत्ता लगाउने नाममा भारदारहरूलाई कोतमा जम्मा गराएर सबैको एकै चिहान बनाइएको थियो ।

कृष्णप्रसादको राजनीतिक जीवनको आरम्भ नै सन् ४२ को भारत छोडो आन्दोलनमा लागेका दाइ गोपालका साथमा पक्राउ परेपछि भएको हो । त्यसपटक उनको संलग्नता प्रमाणित नभएकाले कृष्णप्रसाद २० दिन बनारस कोतवालीको हिरासतमा रही छुटेका थिए । तर, त्यही गिरफ्तारी र हिरासतका तिनै २० दिनले उनको जीवनको बाटो नै बदलिदिएका थिए ।


कोतपर्वको लगत्तै भएको अर्को एउटा काण्ड, भण्डारखाल पर्वपछि कान्छी महारानी राज्यलक्ष्मी स्वयम् पनि राज्यबाट गरिने कार्बाहीको दायरामा आएकी थिइन् । उनलाई जीवन निर्बाहका लागि आवश्यक धनसम्पत्ति र सहयोगी जनहरू लिएर देश छोडी जाने दण्ड दिएका थिए प्रधानमन्त्री तथा कमाण्डर-इन्-चिफ जङ्गबहादुर राणाले । त्यो विधिको विडम्बना नै थियो शायद, राज्यलक्ष्मी देवीले उही जङ्गबहादुरबाट देशनिकालाको दण्ड पाएकी थिइन् जसलाई आफ्नो प्रेमी गगनसिंहको हत्या भएपछि विक्षिप्त जस्तै भएकी उनले नै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जति सबैको हत्या गर्ने अवसर जुटाइदिएकी थिइन् कोतपर्वका रूपमा ।

कोतपर्वको लगत्तै देशको शासन-सत्ताको एकछत्र अधिपति,  सर्वशक्तिमान प्रधानमन्त्री बनेका जङ्गबहादुर राणाबाट दण्डित भई देश छोड्न बाध्य भएकी राजेन्द्रविक्रमकी कान्छी महारानीले आफ्ना दुई छोराहरू सहित भारतको बनारसतर्फ लाग्ने बेलामा पुरोहित खलकका युवा मुखिया विश्वनाथ भट्टराईलाई आफूसँग बनारस आउन आग्रह गरेकी थिइन् । पुर्खौँदेखिका अन्नदाता राजखलकप्रतिको निष्ठाले गर्दा हो वा अरू नै कुनै कारणले हो भन्न सकिन्न तर विश्वनाथ भट्टराई कान्छी महारानी राज्यलक्ष्मी देवीसँग बनारस जान तयार भएका थिए । त्यसरी त्यही कालविन्दुबाट शुरू भएको थियो गोरखाबाट सम्भवत: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पालामा उपत्यकामा आई काठमाडौ, पकनाजोलको बासिन्दा बनेको भट्टराई परिवारको  प्रवासी जीवन ।

बनारस प्रवासका समय 'अत्यन्त रिसाहा बूढी महारानी' का नामले विख्यात हुन पुगेकी राज्यलक्ष्मी देवी शाह (वि. सं. १८७१-१९५७) ले आफ्ना लागि बनारस नगरको काँठक्षेत्र महामुरगञ्जमा ५२ बिगाहाको एउटै कित्ता जग्गा किनेर त्यसमा एउटा विशाल दरबार बनाउँन लगाएकी थिइन् । उनले आफ्नो त्यही दरबार परिसरकै एक छेउमा आफ्ना पुरोहित पण्डित विश्वनाथका लागि पनि उनको मर्यादालाई सुहाउने किसिमको घर बनाएर दानमा दिएकी थिइन् । बूढी महारानी राज्यलक्षी देवीका कृपापात्र र विश्वासी पण्डित विश्वनाथका पालामा भट्टराई परिवार वैभवशाली नै नभए पनि उच्च हैसियतकै थियो भन्न सकिन्छ ।

विश्वनाथका छोरा संकटाप्रसादको जीवनको पूर्वार्द्धसम्म पनि भट्टराई परिवारको हैसियत निक्कै राम्रो थियो । त्यतिबेलासम्म भट्टराई परिवार बनारस छोडेर भारतको उत्तर प्रदेशको तराईमा पर्ने रामनगर भन्ने सानो रियासतका नेपाली मूलका शासक रामराजाको आश्रयमा पुगेको थियो राजपुरोहितका रूपमा । तर, भट्टराई परिवारले थप दुख पाउनु थियो क्या र, केही समयपछि नै रामनगर रियासतमा राजपरिवारका सदस्यहरूका बीच जग्गा-जायदातलाई मुद्दा चल्न शुरू भयो । रियासतका शासक रामराजालाई आशंका भयो राजपुरोहित संकटाप्रसाद विपक्षी खेमामा छन् । त्यस स्थितिमा भट्टराई परिवारका लागि रामनगरमै रहिरहन सम्भव भएन । संकटाप्रसाद आफ्ना ४ छोरा: बटुक, नारायण, गोपाल र कृष्ण तथा ३ छोरीहरूलाई लिएर सपत्नी बनारस फर्किए ।

कृष्णप्रसाद भट्टराईको पूरा जीवन नै एउटा सन्देश थियो - सत्यनिष्ठा, निर्लोभ, त्याग, साहस र प्रज्ञाको । व्यक्तिमा कुशाग्र मेधा, वितरागी चेतना र त्याग गर्नसक्ने साहस छ भने वरिपरिको वातावरण जतिसुकै प्रतिकूल र कलुषित भए पनि त्यसको  उसमाथि कुनै असर पर्दैन,ऊ स्वच्छ, पवित्र र अनुकरणीय नै रहिरहन्छ भन्ने कुराको दृष्टान्त कायम गरेर जानु भएको छ उहाँ ।

संकटाप्रसादले जजमानी पेसा लिएका थिए । त्यसबाट नियमित आमदानी हुँदैन थियो । ठूलो परिवारका सबैलाई भरपेट खाना खुवाउन पनि धौधौ पर्दथ्यो । तर, संकटाप्रसाद थिए हिम्मतिला मानिस । उनी आफूले धेरै पढ्न पाएका थिएनन् त्यसैले छोराहरूलाई उच्च शिक्षा दिलाउने उनको धोको थियो । उनको त्यो आकांक्षा साहिला र कान्छा छोरा गोपालप्रसाद र कृष्णप्रसादले पूरा गरिदिएका थिए । गोपालप्रसाद बनारस हिन्दु विश्वविद्यालयबाट पत्रकारितामा उच्च डिग्री प्राप्त गर्ने पहिलो नेपाली थिए भने कृष्णप्रसादले पनि सोही विश्वविद्यालयको कला संकायबाट स्नातक गरी एम् ए पहिलो वर्षको कोर्स पूरा गरेका थिए । संकटाका माहिला छोरा नारायण भने संस्कृतका धुरन्धर विद्वान मानिन्थे ।

संकटाप्रसाद भट्टराईका साहिला र कान्छा छोरा गोपालप्रसाद र कृष्णप्रसादले आधुनिक लोकतान्त्रिक नेपालको जग खडा गर्न जुन व्यैयक्तिक योगदान गरेका छन् त्यो अतुलनीय छ । भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएबापत दुईपटक गरी झण्डै ४ वर्ष अंग्रेजहरूले दिएको कारावासको सजाय भोग्ने गोपालप्रसाद एक मात्र नेपाली हुन् । वीपी कोइराला, बालचन्द्र शर्मा, डिल्लिरमण रेग्मी र मनमोहन अधिकारीले पनि आफ्नो राजनीतिक यात्राका सुरुवाती दिनमा बृटिश भारतीय जेलको कष्टदायी सजाय अवश्य पनि भोगेका हुन् तर गोपालप्रसादले जस्तो ४ वर्ष लामो होइन।

कृष्णप्रसादको राजनीतिक जीवनको आरम्भ नै सन् ४२ को भारत छोडो आन्दोलनमा लागेका दाइ गोपालका साथमा पक्राउ परेपछि भएको हो । त्यसपटक उनको संलग्नता प्रमाणित नभएकाले कृष्णप्रसाद २० दिन बनारस कोतवालीको हिरासतमा रही छुटेका थिए । तर, त्यही गिरफ्तारी र हिरासतका तिनै २० दिनले उनको जीवनको बाटो नै बदलिदिएका थिए । उनी एकाएक व्यापक चर्चामा आएका थिए । त्यसै साल विश्वविद्यालय छात्र संघको प्रमुखको खोजी हुँदा उनी निर्विवाद उमेदवार मानिएका थिए । त्यसपछी त भारतमै बसेर नेपाली क्रान्तिको सपना बुनिरहेका वीपी कोइराला हुन् अथवा राणाहरूको जेल तोडेर भारत पुगेका दुर्दान्त क्रान्तिकारी गणेशमान सिंह, सवैले खोज्ने व्यक्ति उनै बनेका थिए । वीपीले नेपालको मुक्तिका लागि एउटा राजनीतिक संगठन खोल्न आवश्यक छ भनी भारतमा रहेका नेपालीहरूसँग गरेको अपिल अमृतबजार पत्रिकामा छपाउन लगाउने पनि उनी नै थिए भने राणाहरूका भगोडा क्रान्तिकारी गणेशमान सिंहलाई बनारस विश्वविद्यालयका विद्यार्थीहरूका माझ आफ्नो जीवनको पहिलो राजनीतिक व्याख्यान दिने घटनाको चाँजोपाँजो मिलाउने पनि उनै थिए ।

त्यसपछिका सबै कुरा त अभिलेखित नै छन् । सन् १९४७ मा पहिलोपटक अस्तित्वमा आएको, दायाँबायाँ जे शब्द लगाए पनि मूल रूपमा कांग्रेस भनिने प्रतिष्ठित राजनीतिक संगठनको त उनी मियो नै थिए । त्यसले गरेका हरेक संघर्षमा उनी रगत र पसिनाको सगुन दिंदै सहभागी भएका थिए । कांग्रेसका संस्थापकमध्ये एक उनले त्यसको झण्डा उचालेर २००७ सालको सशस्त्र लडाइँको समयमा युद्धको मोर्चा सम्हालेका थिए भने त्यसको आइडलगका रूपमा गर्नुपर्ने बौद्धिक रन्थन- मन्थन पनि उत्तिकै सहजताका साथ गरेका थिए । कांग्रेससँग नाभी जोडिएकै कारणले उनलाई सभामुख जस्तो दलपृथक पदमा ओगटेको बेलामा समेत पक्राउ गरी झण्डै १० वर्ष कारावास दिइएको थियो । उनले धेरै वर्षसम्म त्यस पार्टीको नेतृत्व पनि सम्हालेका थिए । एउटा पार्टीको कार्यकर्ताले पाउने सबैभन्दा ठूलो  प्रतिफल त्यस पार्टीको संसदीय दलको नेताका रूपमा देशको सरकार प्रमुख बन्नु हो भने कृष्णप्रसाद भट्टराईले त्यो उपलब्धि पनि हासिल गरेका थिए । उनी कांग्रेस नेताको रूपमा २ पटक देशको प्रधानमन्त्री बनेका थिए ।

कृष्णप्रसाद भट्टराईको पूरा जीवन नै एउटा सन्देश थियो - सत्यनिष्ठा, निर्लोभ, त्याग, साहस र प्रज्ञाको । व्यक्तिमा कुशाग्र मेधा, वितरागी चेतना र त्याग गर्नसक्ने साहस छ भने वरिपरिको वातावरण जतिसुकै प्रतिकूल र कलुषित भए पनि त्यसको  उसमाथि कुनै असर पर्दैन,ऊ स्वच्छ, पवित्र र अनुकरणीय नै रहिरहन्छ भन्ने कुराको दृष्टान्त कायम गरेर जानु भएको छ उहाँ । नेपाली राजनीतिमा किसुनजीले रिक्त बनाएको ठाउँ भरिन कहिले  सम्भव होला ?

प्रकाशित मिति: : 2019-12-25 20:37:58

प्रतिकृया दिनुहोस्