दुवै मृगौला फेल भए पनि गीतकार सुक गुरुङ जीवनसंग संघर्ष गर्दै थिए। जीवन जीउने हुटहुटी उनमा थियो। र फेरी उस्तै गीत रचना गर्ने सपना उनका थिए तर नियतिले मनका सबै कुरा कहाँ पुरा गर्न दिन्छ र! फेरी अब कसैलाई दोष दिन नपर्ने गरी सुक गुरुङ आइतबार अस्ताए। अरुण थापाले उनको एउटा गीत गाएका थिए 'दोष कसैलाई दिन चाहन्न, पिउने छु बरु आँखाको आँसु...।' सुक गुरुङको जीवन पनि यस्तै भयो। सांगीतिक जीवनका आरोह अबरोहमा विना दोष उनी आफ्ना रचना यो हावामा छोड्दै विदा भए।
नेपथ्यका सुरुवाती दिनमा उनले रचना गरेको गीत चर्चामा रह्यो। 'छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले....' नेपथ्य सुरुवाती दिनमा व्यान्डलाई स्थापित गर्न लागिरहेकै समयमा यो गीतले ठूलो भूमिका खेल्यो। यो गीत उनै सुकले लेखेका थिए भने रवीन श्रेष्ठले स्वर दिएका थिए। ५० को दशक पोखरेली गीत, संगीतको लागि मात्र होइन नेपालकै लोकपपको लागि स्वर्ण समय थियो। त्यही स्वर्ण समयका एउटा तारा थिए सुक।