शीतलहरमा कठ्याङ्ग्रिने दिन गयो !

रासस

लहान

बढ्दो चिसो र शीतलहरमा आफ्ना नागरिकलाई कठ्याङ्ग्रिन नदिने गरी तयारी अवस्थामा रहेको सिरहाका जनप्रतिनीधिले बताएका छन्। 

पछिल्लो केही दिनदेखि शीतलहरका कारण चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा गोलबजारमा आयोजित सडक सुरक्षा र शीतलहरको समस्यासम्बन्धी अन्तक्रियामा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आफ्ना कुनै पनि जनतालाई जाडोमा  कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

चिसोबाट जोगाउन आश्यक ठाउँमा आगो ताप्ने व्यवस्थासँगै न्यानो लुगा वितरणलगायतका कार्यका लागि पनि आफूहरु तयार रहेकोसमेत जनप्रतिनिधिहरुले बताएका छन्। लहान नगपालिकाका प्रमुख मुनि साहले आफूहरुले गाउँ टोल तथा सार्वजनिक ठाउँमा दाउरा वितरण गरेको र जाडोको अवस्था हेरेर न्यानो कपडा पनि जोहो गरिराखेको जानकारी दिए। 

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जाडोबाट जोगाउन आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुहुँदै जाडोबाट जोगिन न्यानो कपडाहरुको व्यवस्था गरिरहेको बताए। सिरहा नगरपालिकाका प्रमुख डा नमिताकुमारी यादवले नगरले केही ठाउँहरुमा दाउरा वितरण, कमम्बल वितरण गरेको जनाकारी दिए। 

स्थानीय जनताको आवश्यकता हेरी उनीहरुलाई नगरपालिका र आफ्नो व्यक्तिगत तवरले पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शीतलहरलाई मध्यनजरगर्दै स्थानीय तहहरुलाई जनतालाई राहत पु¥याउन तयार रहन निर्देशन दिए।

शीतलहरकै कारण कुनै जनताले दुःख झेलेको, कुनै हानी नोक्सानी नहोस् भन्दै त्यसका लागि सतर्क रहन स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, मातहतका सरोकारबाला निकायलाई प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्देशन दिए। 

अघिल्लो वर्ष शीतलहरका कारण मृत्युसमेत भएकाले यसवर्ष समयमै पूर्वतयारी गर्नुपर्नेमा उनको जोड थियो। विगत एकसातादेखि चलेको शीतलहर र चिसोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। 

प्रकाशित मिति: : 2019-12-24 03:18:34

प्रतिकृया दिनुहोस्