नेत्रविक्रम चन्द विप्लव समूहको प्रतिबन्धित नेकपाका ६ जना नेता पेस्तोलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रिय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रिय सदस्य तथा उदयपुरका सदस्य दुर्खाबहादुर तामाङ रहेका छन्।
प्रहरीले उनीहरुलाई आइतवार काठमाडौंको हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीको विशेष ब्यूरोले आइतबार पेस्तोल, त्यसमा लाग्ने म्यागजिन, डेटोनेटर र बम बनाउन प्रयोग हुने तारसहित नेकपा निकट युवा संगठनका ६ जना नेतालाई पक्राउ गरेको हो।
पक्राउ परेका सञ्जीव लामा गत वर्ष वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने व्यक्ति रहेको पनि खुलेको छ।
२०७५ चैत २४ गते गुरुङको बसुन्धरारसामाखुसीस्थित घरमा सिलिण्डर बम विस्फोट हुँदा घर र गाडीमा क्षति पुगेको थियो।