सिरियाबाट फर्कने अमेरिकी सेना 'स्लामिक स्टेट'को पुनरुत्थानविरुद्ध खटाइने

तस्बिरः एजेन्सी

सिरियाको उत्तर क्षेत्रबाट फिर्ता गरिएका अमेरिकी सेना इराक खटाइने भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले अमेरिकी सेना इराक खटाइन लागेको पुष्टि गरेका हुन्। उनले योजना परिवर्तन हुन सक्ने जनाए पनि तत्कालका लागि यो नै उत्तम योजना रहेको बताए ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सिरियाबाट फिर्ता गरिएकामध्ये एक हजार सेना स्लामिक स्टेट (आईएस) को पुनरुत्थानविरुद्ध खटाइने बताए । टर्की र अमेरिकाबीचको सहमतिअनुसार सिरियामा गरिएको युद्धविरामपछि लडाकुहरू फिर्ता गरिएको हो ।

सिरियाबाट सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले टर्कीलाई कुर्द लक्षित आक्रमण गर्न बाटो खोलिदिएको थियो ।

सिरियन डेमोक्र्याटिक फोर्स (एसडीएफ) को प्रमुख एकाई कुर्दिस फौजलाई टर्कीले आतंककारी समूह बताउने गर्छ । पछिल्लो युद्धविराम सम्झौतामा एसडीएफ निश्चित क्षेत्रमा रहन सहमत भएको थियो । यद्यपि, टर्कीले एसडीएफ अझै सानो इलाकामा रहनुपर्ने बताएको थियो ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अग्रसरतामा भएको युद्धविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् । आइतबार टर्कीले सिरियाको ताल अब्याद क्षेत्रमा आफ्ना एक सैनिकको ज्यान गएको र एक घाइते भएका बताएको थियो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै सिरियामा युद्धविरामपछि छिटफुट घटनाबाहेक स्थिति सामान्य रहेको दाबी गरेका छन् ।

दुई सातअघि टर्कीले सीमावर्ती सिरियाली भूभागमा भीषण सैन्य कारबाही थालेको थियो । टर्कीले आफ्नो देशमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थी सिरियामा पुनःस्थापित गराउने कारबाही चलाएको बताएको थियो ।

प्रकाशित मिति: : 2019-10-22 12:40:20

प्रतिकृया दिनुहोस्