मन्त्री ज्ञवाली नेतृत्वको टोली न्यूयोर्कमा, नेपालको एजेन्डाका बारेमा के भन्छन् मन्त्री ज्ञवाली (भिडियोसहित)

बिएल

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोली आइतबार न्यूयोर्क आइपुगेको छ ।

नेपाली प्रतिनिधिण्डलको नेतृत्व गर्दै ज्ञवाली केहीबेरअघि न्यूयोर्क आइपुगेका हुन् । टोलीमा दिगोविकास समितिका सभापति तारादेवी भट्ट, सदस्य दीनानाथ शर्मासहितका सदस्य रहेका छन् ।

चौहत्तरौँ महासभामा ‘गरिबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुनेछ। मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नेछन् ।

महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र ‘राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद’ विषयक बैठकमा समेत सहभागी हुनेछन् ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रीस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्तिकार्य सम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३०औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ ।

मन्त्री ज्ञवालीले असंलग्न आन्दोलन (नाम), जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रीस्तरीय बैठकलाई बेग्लाबेग्लै सम्बोधन गर्नेछन् भने एशियाली सहयोग संवाद (एसिडी)को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्नेछन्।

महासभामा भाग लिने सिलसिलामा नै मन्त्री ज्ञवाली विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनेछन् भने संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्यूयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी शिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नेछन्

प्रकाशित मिति: : 2019-09-22 19:47:37

प्रतिकृया दिनुहोस्